टीकाबहादुर बस्नेत
दाङ, माघ ३ गते । देशभर नेपाल पर्यटन वर्ष सन् २०२० मनाइरहँदा दाङलाई पर्यटनको केन्द्र बनाउन यहाँका स्थानीय तहहरु जुटेका छन् । घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाका साथै जिल्लाका दशवटै स्थानीय तहहरुले पर्यटकीय सम्पदाहरुको प्रचारप्रसार गर्दै भ्रमण वर्ष मनाइरहेका छन् । गत पुस १६ गते घोराहीको बारकुने मन्दिर परिसरबाट जिल्ला पर्यटन प्रवद्र्धन समितिको आयोजनामा औपचारिक शुभारम्भ गरिएको पर्यटन वर्षलाई भव्य रुपमा सफल बनाउन लागिपरेको भन्दै स्थानीय तहहरुले जिल्लालाई पर्यटनको केन्द्र बनाउने योजना अगाडि बढाएका छन् । आपसी सहकार्यका साथ अगाडि बढेका स्थानीय तहहरुले पर्यटनकै माध्यमबाट जिल्लालाई समृद्ध बनाउने लक्ष्य लिएको जिल्ला समन्वय समिति दाङका संयोजक जितेन्द्रमान नेपालीले जानकारी दिनुभयो ।
जिल्लाका पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि एक वर्षे कार्ययोजना बनाएर अगाडि बढेको भन्दै संयोजक भन्नुभयो, ‘गत पुस १६ गतेबाट हामीले नेपाल भ्रमण वर्षको शुभारम्भ गरेका हौं । प्रदेश ५ का सभामुख माननीय पूर्णबहादुर घर्तीले औपचारिक उद्घाटन गर्नुभएको भ्रमण वर्षलाई सफल बनाउन हामी लागिपरेका छौं ।’
घोराही उपमहानगरपालिकाद्वारा पर्यटन नक्सा
जिल्लाको पर्यटन प्रवद्र्धनका लागि घोराही उपमहानगरपालिकाले पर्यटन नक्सा निर्माण गरेको जनाएको छ । घोराही उपमहानगरपालिकालाई पर्यटनको केन्द्र बनाउने गरी आफूहरु लागिपरेको भन्दै उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले घोराही प्रवेश गर्ने पर्यटकहरुलाई सजिलो होस् भनेर पर्यटन नक्सा बनाएको जानकारी दिनुभयो । घोराहीको तुलसीपुर चोकलाई केन्द्रविन्दू मानेर पर्यटकीय स्थलसम्म पुग्ने पर्यटन नक्सा बनाएको उपमहानगरपालिका प्रमुख चौधरीले जानकारी दिनुभयो ।
विश्वको सबैभन्दा अग्लो त्रिशुल रहेको क्षेत्र धारपानी, नाथ सम्प्रदायहरुको ऐतिहासिक स्थल रत्ननाथ मन्दिर चौघेरा, बाह्रकुने दह, ज्यामिरे दहलगायतका ३९ वटा पर्यटकीय स्थल पुग्ने पर्यटन मार्ग निर्माण गरेको चौधरीले जानकारी दिनुभयो । देउखुरी प्रवेश गर्ने पर्यटकहरुलाई घोराही हुँदै स्वर्गद्वारी पु¥याउनका लागि लमही नगरपालिका र रुन्टीगढी गाउँपालिकासँग अन्तक्र्रिया गर्ने तयारीमा रहेको उपमहानगरपालिका प्रमुख चौधरीले जानकारी दिनुभयो ।
घुम्न जाऔं तुलसीपुर अभियान
घोराही उपमहानगरपालिका जस्तै तुलसीपुर उपमहानगरपालिकाले पनि पर्यटन वर्षलाई धुमधामसँग मनाइरहेको छ । पर्यटन वर्षलाई मध्यनजर गरी उपमहानगरपालिकाले घुम्न जाऔं तुलसीपुर अभियान सुरु गरेको भन्दै उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले तुलसीपुर क्षेत्रमा रहेका सरयू (बबई) नदी, गणेशपुर पार्क, चल्लवंशीय राजाहरुको दरबार रहेको स्थल छिल्लीकोट, हात्तीढुंगालगायतका क्षेत्रहरुको प्रचारप्रसारका लागि घुम्न जाऔं तुलसीपुर अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
उता पश्चिम दाङका दङ्गीशरण गाउँपालिकाले थारु संग्रहालय, बबई गाउँपालिकाले पुरन्धारा झरना, धागे छहरालगायतका क्षेत्रको प्रचारप्रशारका लागि योजना बनाएको गाउँपालिका अध्यक्षहरुले जानकारी दिएका छन् । पश्चिम दाङमा रहेका पुरनधारा झरना र दङ्गीरण राजाको नामबाट स्थापना गरिएको दङ्गीशरण थारु संग्रहालय सबैको आकर्षकको केन्द्र बन्दै गएकाले तुलसीपुर आउने पर्यटकहरुलाई ती स्थानसम्म पु¥याउन सहयोगी भूमिका खेलिरहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
दाङ उपत्यकामा पर्यटन वर्षलाई धुमधामसँग मनाइरहँदा जिल्लाको देउखुरी उपत्यकामा रहेका स्थानीय तहहरु पनि पर्यटकीय स्थलहरुको प्रचार प्रसारमा जुटेका छन् । पर्यटनका १ सय १ केन्द्रका रुपमा सरकारद्वारा समेटिएको रिहार धार्मिक क्षेत्र, जखेरा तालको प्रचार प्रसार गर्दै पर्यटन वर्ष मनाइरहेको भन्दै लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले देउखुरी उपत्यकालाई पर्यटनको केन्द्र बनाउन अन्य स्थानीय तहहरसँग सहकार्य गरिरहेको जानकारी दिनुभयो । लमही नगरपालिका जस्तै देउखुरी उपत्यकामा रहेका राप्ती, गढवा, राजपुर गाउँपालिकाले पनि आफ्नो गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरिरहेको जानकारी दिएका छन् । जंगलकुटी, राणाकालिन पौराणीक दरबार, नेपालकै दोस्रो लामो राप्ती नदीको पुललाई यहाँको पर्यटनको केन्द्रका रुपमा विकास गर्ने तयारीमा रहेको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभयो ।