logo
२०८१ मंसिर ९ आईतवार



राजकुमारी एस्ट्रिडद्वारा निकुञ्ज भ्रमण

पर्यटन |


राजकुमारी एस्ट्रिडद्वारा निकुञ्ज भ्रमण


नारायणगढ समाचारदाता

मेघौली (चितवन), माघ ११ गते । बेल्जियमकी राजकुमारी एस्ट्रिडले तीन दिनसम्म चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेर शुक्रबार काठमाडौँ फर्कनुभएको छ । देशले पर्यटन वर्ष २०२० मनाइरहेका बेला अन्तर्राष्ट्रिय तहबाट भएको यो उच्चस्तरीय भ्रमणले चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको विश्वास गरिएको छ ।
बिनातामझाम सामान्य पर्यटक बनेर आउनुभयो निकुञ्ज घुमेर फर्कनुभयो, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखातीले जानकारी दिनुभयो ।
“एउटा सामान्य विदेशी पर्यटकले जसरी नै निकुञ्जको प्रवेशाज्ञा पत्र लिएर उहाँ घुम्नुभएको थियो”, उहाँले उल्लेख गर्नुभयो ।
राजकुमारी एस्ट्रिड निकुञ्जको मेघौली प्रवेशद्वारबाट दुई हजार रुपियाँ राजस्व तिरेर निकुञ्ज प्रवेशाज्ञापत्र लिनुभएको थियो । उहाँले दुई रात तीन दिनको बसाइमा निकुञ्जभित्र अन्य विदेशी पर्यटक जसरी नै हात्ती सफारी, डुङ्गा सफारी, जङ्गल सफारी, जङ्गल वाक आदि गतिविधिमा सरिक हुनुभएको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले जानकारी दिनुभयो ।
उहाँ मेघौली ताज सेराई होटलमा बस्नुभएको थियो । उहाँलाई त्यहाँ स्थानीय थारू समुदायका विभिन्न झाँकी तथा नाच पनि देखाइएको थियो जुन यहाँ अन्य पर्यटकलाई पनि देखाइन्छ । उहाँ सपरिवार आउनुभएको थियो ।
मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिश्चन्द्र महतोले यस्ता उच्च तहका विदेशी पाहुनाको आगमनले चितवनको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
ठूला मान्छे आउँदा यसो स्थानीय समुदायले पनि थाहा पाएको भए भव्य स्वागत गर्न पाइन्थ्यो तर उहाँ त सामान्य पर्यटक बनेर सुटुक्क आउनुभयो सुटुक्कै फर्कनुभयो, उहाँले भन्नुभयो ।
निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवसँग यसअघि पनि निकुञ्जमा ठूलाठूला विदेशी पर्यटक घुम्न आएको अनुभव छ ।
अमेरिकी पूर्वराष्ट्रपति जिम्मीकार्टरदेखि अमेरिकी पूर्वविदेशमन्त्री नेता हिलारी क्लिन्टनसम्मले निकुञ्ज भ्रमण गरेका छन्, उहाँले अगाडि थप्नुभयो, “अहिलेका जापानका सम्राट युवराज हुँदा उहाँ पनि नेपाल भ्रमणमा आएका बेला निकुञ्जमै बस्नुभएको थियो । ”
छिमेकी देश भारतका पूर्वप्रधानमन्त्री राजीव गान्धीदेखि नेता सोनिया गान्धीसम्मले निकुञ्ज भ्रमण गरिसकेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?