ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ १८ गते । म्याग्दीको पर्यटकीयस्थल खोप्राबाट नारच्याङमा झर्ने क्रममा तीनदिनदेखि बीचबाटोमा अलपत्र परेको चारजना नेपाली पर्यटकलाई शनिबार सकुशल उद्धार गरिएको छ ।
आज विहान सिम्रीक एयरको हेलिकप्टरबाट उहाँहरुलाई सकुशल उद्धार गरी अन्नपूर्ण गाउँपािलका–४ नारच्याङमा ल्याइएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
नारच्याङको माथिल्लो भेग स्थित ¥यालेखर्कस्थित जंगलको खोचमा उहाँहरु भेटिएको र हेलिकप्टरमार्फत् नारच्याङ गाउँमा ल्याइएको उहाँले बताउनुभयो ।
पर्यटकको स्वास्थ्य अवस्था सामान्य भएको प्रजिअ ढकालले जानकारी दिनुभयो ।
विहीबार खोप्राबाट नारच्याङ आउने क्रममा सर्लाइका अंकित शाह, अभिशेक महतो, दोलखाका सन्जित लामा र धनगडीका सुमन भट्ट बीचबाटोमा अलपत्र पर्नुभएको थियो ।
अलपत्र परेको खबर आएपछि शनिबार विहान बेनीबाट प्रमुख जिल्ला अधिकारी ढकालसहित प्रहरी नायब उपरिक्षक किरणजंग कुँबर, सशस्त्र प्रहरी र स्थानीयबासी नारच्याङको माथिल्लो भेगमा खोजी र उद्धारका लागि जुट्नुभएको थियो ।