प्रकाशचन्द्र भट्टराई
दमौली, माघ २१ गते। तँनह्कोभानु नगरपालिका– २ फुस्रेटारमा निर्माण हुन लागेको शहिद स्मृती पार्कको निर्माणमा संघीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले प्रतिबद्धता जनाउनु भएको छ ।
शहिद पार्क निर्माण समितिको तर्फबाट सोमबार दमौलीमा बुझाईएको विस्तृत अध्ययन प्रतिबेदन (डिपिआर) ग्रहण गर्दै मन्त्री भट्टराईले डिपिआरको अध्ययन गरि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । शहिदहरु राष्ट्रका अमुल्य नीधि भएको भन्दै मन्त्री भट्टराईले पार्क निर्माणमा मन्त्रालयको तर्फबाट के गर्न सकिन्छ यसबारेमा बुझेर आवश्यक सहयोग गर्ने बताउनु भयो ।
निर्माण समितिले मन्त्री भट्टराईलाई डिपिआर हस्तान्तरण गरि पार्क निर्माणकोलागि आवश्यक बजेट विनियोजन गर्न अनुरोध समेत गरेको थियो । पार्क निर्माण समितिका अध्यक्ष बाबुराम विक, सचिव रामकुमार श्रेष्ठ र सल्लाहाकार ओमकुमारी पौडेलले संयुक्त रुपमा मन्त्री भट्टराईलाई सो डिपिआर हस्तान्तरण गर्नु भएको थियो ।
भानु नपा– २ फुस्रेटार स्थित ओख्ले सामुदायीक वनको एक सय ५३ रोपनी जग्गामा राणा विरुद्धको आन्दोलन, पन्चायत विरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहिदहरुको स्मृतीमा पार्क निर्माण गरिने भएको छ ।
१२ करोडको लागतमा निर्माण हुने सो पार्कमा शहिदका स्मारक बाहेक, भ्यु टावर, चिल्ड्रेन पार्क, फन पार्क, लभ पार्क, चार सय जान अट्ने सभा हल, फुट ट्रयाक, साहित्यिक श्रष्टाहरुको स्मारक, रोज गार्डेन, रेष्टुरेन्ट, कफी हाउस, सवारी पार्किङ स्थल लगायतका संरचना निर्माण गरिने पार्क निर्माण समितिकी सल्लाहाकार ओमकुमारी पौडेलले जानकारी दिनु भयो ।
सो अवसरमा तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानलाई पनि सो डिपिआर हस्तान्तरण गर्दै निर्माण कार्यमा आवश्यक बजेट विनियोजन गर्न अनुरोध गरिएको थियो । सांसद श्रेष्ठले आफ्नो तर्फबाट पनि यस कार्यमा सहयोग रहने र थप बजेटकोलागि शहरी विकास मन्त्रालयमा पहल गर्ने प्रतिबद्धता जनाएका थिए । भानु नगरपालिकाको १० लाख रुपैयाँको सहयोगमा सो डिपिआर तयार गरिएको थियो । साथै नगरपालिकाले सो पार्क निर्माणकोलागि चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ विनियोजन गरेको पार्क निर्माण समितिका अध्यक्ष विकले बताउनु भयो ।