logo
२०८१ मंसिर ९ आईतवार



कोशी पर्यटन महोत्सवको आकर्षण हात्ती

पर्यटन |


कोशी पर्यटन महोत्सवको आकर्षण हात्ती


जयकृष्ण यादव
इनरुवा, माघ २२ गते । प्रदेश नम्बर १ को प्रमुख पर्यटकिय क्षेत्र कोशीटप्पु बन्य जन्तु आरक्षमा आईतबारबाट सुरु भएको कोशी पर्यटन महोत्सवको आकर्षकको रुपमा हात्ती सवारी तथा सफारी रहेको छ ।

आरक्षको मूल गेटमै कोशी गाउँपालिका सुनसरीले सुरु गरेको पहिलो कोशी पर्यटन महोत्सवको मूख्य आकर्षकको रुपमा हात्ती सफारी देखिएको छ । प्रायः आन्तरिक तथा बाह्य पर्यटकले चरा अवलोकन, पानीमा बोटिंग भन्दा बढी कोशी पर्यटन महोत्सवमा हात्ती अवलोनक, सवार तथा सफारी गर्नेहरु बढी रहेको आरक्षले जनाएको छ । आरक्षमा रहेको सरस्वतीकली, लक्ष्मीकली र शोभाकली नामकी हात्तीले एक वर्षभित्रै जन्माएको छावा हेर्न आन्तरीक पर्यटकको भिड लाग्ने गरेकोमा पर्यटन होत्सव आयोजना गरेकाले हात्तीमा सफारी गर्नेहरु थप बढेका छन् । शोभाकलीले गत वर्ष र लक्ष्मीकली २०७६ मंसीरमा, सरस्वतीकली २०७६ कात्तिकमा छावा पाएकाले पर्यटकहरुको लागि अवलोकनको समेत आकर्षण केन्द्र हात्तीसार बनेको छ ।

आरक्षमा रहेको पाँच हात्ती मध्ये तीन हात्तीले छावा जन्माएकाले हेर्न आउने आन्तरीक पर्यटकको भिड बढेको हो । उमेरले ६० वर्षीया ढोई हात्ती शोभाकलीसगैं लक्ष्मीकली र सरस्वतीकलीले समेत छावा जन्माएपछि आरक्ष प्रशासनले स्याहार बढाउँदै सुरक्षामा पनि विशेष ध्यान दिएको छ भने हात्तीको बच्चा हेर्नका लागि नेपाली र भारतीय विधार्थी, शिक्षक र बालबालिकाहरु सहित आन्तरिक तथा बाह्य पर्यटकहरु आउने क्रम बढेको आरक्षले जनाएको छ । विगतका भन्दा महोत्सव भएकाले बढी पर्यटक हात्ती सफारी र हात्तीको छावा हेर्नका लागी आउने गरेको आरक्षका रेन्जर लक्ष्मण महातोले बताउनुभयो । वहाँका अनुसार आरक्षमा पर्यटन महोत्समा समेत विदेशी भन्दा स्वदेशी नै बढी आउने गरेकोमा हात्ती सफारी, छावा अवलोन, जंगली भैसी अर्ना र चरा अवलोकनका लागि बढी मात्रामा आन्तरीक पर्यटकको भिड बढेको हो ।
कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहामा रहेका चार गर्भिणी ढोईमध्ये दमदमकलीले केही दिनमा बच्चा आउने बताइएको छ । यहाँ लामो समयपछि आरक्षमा एक वर्षयता हात्तीहरुले तीन छावा जन्माएकाले हात्तीसार र आरक्ष प्रशासनले खुशियाली मनाएको र त्यसका बीचमा करिब पन्द्र महिनायता कोशीटप्पु हात्तीसारका छावा हेर्न आउने पर्यटक समेत बढेको छ ।

हात्तीको बच्चा(छावा) पोथीको नाम राख्दा ‘कली’ र भालेको नाममा ‘गज’ जोड्ने गरिन्छ सोही अनुसार गत वर्ष जन्मेको छावाको नाम कोशीकली राखिएको हो । यहाँ आरक्षमा एउटा हात्तीको रेखदेख गर्न तीन जनाको दरबन्दी हुन्छ । छावा दुई वर्षको भएपछि तालिम दिनुपर्ने भएकाले अब कोशीटप्पुमा माउतेसहित ९ जना हेरालु थपिने भएको छ । आरक्षमा रहेका पाँच ढोईमध्ये अमेरिकाकली भने गर्भवती छैन ।

आरक्षका सबै हात्ती जंगली हात्तीको संसर्गमा गर्भवती भएको आरक्षको भनाई छ । आरक्षमा २०४७ साल यता भारतबाट आएका जंगली भाले हात्ती बस्छन् । जंगली हात्ती आउनु अघिसम्म आरक्षका ढोई गर्भवती हुँदैनथे । “भाले लागेको १८ देखि २२ महीनामा हात्ती ब्याउँछ”, हात्तीसारले जनाएको छ । कोशीटप्पु आरक्षमा दरबन्दी भएका १० मध्ये पाँच हात्ती चितवनमा काजमा गएको दुई दशक भईसकेका छन् ।
आरक्ष प्रसाशनले सुत्केरी तीन सहित एक गर्भवती हात्तीको समेत स्याहार बढाइएको जनाएको छ । आरक्षका संरक्षण अधिकृत रामदेव चौधरीले सरकारी स्केलमा एउटा हात्तीले दैनिक १५ किलो धान, डेढ किलो सक्खर र हरियो घाँस पाउँने भएकाले त्यसको आरक्षले व्यवस्था मिलाएको जानकारी दिनुभयो ।वहाँलेहात्तीलाई स्केल बाहेक दैनिक एक किलो चना र डेढ किलो सक्खरमा पाँच किलो चामलको खीर शोभाकलीलाई दिंईरहेको र छावाले पनि माउकै जति स्केल पाउने भएकाले उसको भाग पनि आमालाई खुवाईरहेको बताउनुभयो ।

गर्भवती ढोईहरूलाई दिइने धान र हरियो घाँसको परिमाण पनि बढाइएकाले हात्तीको छावा स्वास्थ्य रहेको र माउहरु समेत स्वस्थ्य रहेको वहाँको भनाई छ । आरक्षमा हात्तीले छावा जन्माएको सूचना आसपासका गाउँमा फैलिएकाले हेर्न आउनेको घुइँचो लाग्दै आएकोमा झन महोत्सव भएकाले दैनिक हजारौले अवलोनक गरिहरेको जानकारी दिनुभयो । छावाको छेउमा मानिस नजाऊन् भनेर फलामे बार लगाइएको छ । यस्तै, जंगली हात्ती नछिरोस् भनेर सोलार जडित तारले बेरिएको छ । गर्भवती हात्तीको सुरक्षामा पनि विशेष ध्यान दिइएको जनाएको छ । उनीहरूलाई जंगली भालेले दुःख नदेओस् भनेर चरनका लागि धेरै टाढा चरिचरणका लागि लगिंदैन । सुत्केरी र गर्भवती ढोईलाई जंगली हात्तीबाट जोगाउन हात्तीसारमा राती आगो बालेर पहरा दिइनुका साथै नेपाली सेनाको गस्ती पनि बढाइएको छ । आरक्ष सुरक्षार्थ खटिएको सेनाको नियमित गस्तीले जंगली हात्ती हात्तीसारमा आउन नपाएको आरक्षका प्रमुख संरक्षण अधिकृत चौधरीले बताउनुभयो । वहाँले जंगली हात्ती आरक्षमा नआसो भनेर सोलार फेन्सी सहित धपाउनका लागि कोशी नदीको पूर्वी तटबन्धमा एक ट्याक्टर समेत राखिएको छ । ट्याक्टरको आबाजले जंगली हात्ती आरक्ष कार्यालय भन्दा टाढा भाग्छ ।


कोशी महोत्सवमा पर्यटक बढ्दैं


सुनसरीको कोशी गाउँपालिकाले आयोजना गरिएको ११ दिने कोशी पर्यटन महोत्सवमा आन्तरीक र भारतीय पर्यटकको संख्या बढ्दै गएको छ । महोत्सवको चार दिनमा ३० हजार बढीले अवलोकन सहित सहभागिता जनाएका छन् ।
माघ १९ गते आईतबार देखी सुरु भएको कोशी पर्यटन महोत्सवमा स्वदेशी तथा भारतीय पर्यटकको संख्या बढ्दै गएको आयोजकले जनाएको छ । कोशी पर्यटन महोत्सवको आवलोकन, हात्ती सफारी, बोटिंग, चरा अवलोकन, अर्ना र सांस्कृतिक नृत्य हेर्नका लागि नेपालीसगै छिमेकी राष्ट्र भारतबाट आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र कोशी टप्पु वन्यजन्तु आरक्षलाई अन्र्तराष्ट्रिय जगतमा चिनाउनका लागि महोत्सव सुरु गरिएको चार दिन भित्रै बिभिन्न ठाउँबाट हेर्ने आउन पर्यटकको संख्या वृद्धि भएको हुदाँ माघ २९ गते सम्म १ लाख भन्दा बढी पर्यटक आउने अनुमान गरिएको कोशीका अध्यक्ष अन्सारीले बताउनुभयो । महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको संख्या सोचे भन्दा बढी आगमन हुन थालेको बताउँनुहुदैं कोशीका अध्यक्ष अन्सारीले लक्ष्य भन्दा बढी पर्यटक भित्रयाउन महोत्सव सफल हुने दाबी गर्नुभयो ।

कोशी गाउँपालिकाले आयोजना गरेको कोशी महोत्सवमा अन्तरिक तथा बाह्य पर्यटकहरु ३० हजारको हराहारीमा आगमन भइसकेकोले आफूहरुमा थप बल प्राप्त भएको बताउँदै अध्यक्ष अन्सारीले सोचे भन्दा राम्रो र प्रभावकारी ढङ्गबाट सफल हुने बताउनुभयो । महोत्सव ७ दिन बाँकी रहेकाले सबैको सरसल्लाह र सुझावको अपेक्षा सहित कोशी पर्यटन महोत्सवलाई सफल बनाउन आ आफनो ठाउँबाट सहयोग गर्न समेत अपिल गर्नुभएको छ ।

कोशी पर्यटन महोत्सव सुरु भएको दिनदेखी नै पर्यटकको संख्यामा बृद्धि भएको र महोत्सवलाई ब्यवस्थित बनाएको हुदाँ कुनै किसिमको असुरक्षा महसुस नहुने भएकाले पर्यटकहरुलाई आगवनका लागि अनुरोध गर्नुभएको छ । अध्यक्ष अन्सारीका अनुसार विहीबार माघ २३ गते भारतको जम्मु कश्मिरबाट पनि ठूलो संख्यामा पर्यटकहरु आउने निश्चित भएकोले पाहुनाहरुलाई भब्य सत्कार र स्वागत गर्न आतुर रहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?