logo
२०८१ मंसिर ९ आईतवार



बन्द हुने अवस्थामा वायुयान सङ्ग्रहालय

पर्यटन |


बन्द हुने अवस्थामा वायुयान सङ्ग्रहालय


धनगढी समाचारदाता

धनगढी, फागुन ८ गते । धनगढीमा सञ्चालित वायुयान सङ्ग्रहालय बन्द हुने अवस्थामा पुगेको छ । अपेक्षा गरिएअनुसार अवलोकनकर्ता नआउँदा आर्थिक समस्या भएपछि छ वर्ष अगाडि स्थापना भएको वायुयान सङ्ग्रहालय बन्द हुने अवस्थामा पुगेको हो । क्याप्टेन वेद उप्रेतीले २०७० सालमा सो सङ्ग्रहालयको स्थापना गर्नु भएको थियो । मासिक ३६ हजार रुपियाँ भाडा तिर्ने गरी लिजमा जग्गा लिएर सञ्चालन गरिएको वायुयान सङ्ग्रहालय सञ्चालनमा आर्थिक समस्या भोगिरहेको क्याप्टेन उप्रेतीले जनाउनुभयो ।
“अहिलेसम्म जेनतेन आफँैले पैसा खर्च गरेर चलाइरहेको छु”, उहाँले भन्नुभयो– “साझेदार निकाय नभेटिँदा बन्द गर्नुपर्ने अवस्था सिर्जना भइसकेको छ । ” स्थानीय सरकारले सङ्ग्रहालय सञ्चालनमा सहयोग गर्ने आफूले अपेक्षा गरेको उप्रेतीले गुनासो गर्नुभयो ।
ग्राउन्डेड भएको कस्मिक एयरको फोकर–१०० जहाजको बडी ल्याएर उहाँले वायुयान सङ्ग्रहालयको निर्माण गर्नुभएको थियो । धनगढीको हसनपुरमा करिब छ कट्ठा जग्गा लिजमा लिएर सो सङ्ग्रहालय निर्माण गरिएको थियो । जग्गाको लिज सम्झौता अवधि आगामी चैत मसान्तमा सकिन थालेको जनाइएको छ ।
धनगढी उपमहानगरपालिकाले जग्गा उपलब्ध गराइदिएमा सङ्ग्रहालय सञ्चालन गर्न सहज हुने उप्रेतीको भनाइ छ । “यो सञ्चालन गरेर मलाई फाइदा छैन, मैले व्यक्तिगत फाइदाको अपेक्षा पनि गरेको छैन”, उहाँले भन्नुभयो तर जग्गा नपाउँदा सबैभन्दा बढी समस्या भएको छ ।
धनगढीको पर्यटनमा टेवा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याइएको वायुयान सङ्ग्रहालयबाट भएको आम्दानीको रकम वेद उप्रेती ट्रस्टमा जम्मा गर्ने गरिएको छ । सो ट्रस्टको रकम क्यान्सर पीडितको उपचारमा सहयोग गरिन्छ । हालसम्म पाँच लाख रुपियाँ क्यान्सर पीडितहरूका लागि सहयोग गरेको उप्रेतीले जनाउनु भएको छ ।
वायुयान सङ्ग्रहालय स्थापना भएको सुरुवाती चरणमा दैनिक साढे तीन सयसम्म व्यक्तिले सङ्ग्रहालयको अवलोकन गर्ने गरेका थिए । हाल आएर अवलोकन गर्न आउनेको सङ्ख्या घटेको जनाइएको छ । ‘पहिले दैनिक तीन सयदेखि ३५० जनासम्म मान्छे हेर्नका लागि आउँथे’, स्थापना कालदेखि नै कार्यरत कालुसिंह चौधरीले भन्नुभयो– ‘अहिले दैनिक बढीमा ५०÷६० जनासम्म आउँछन् । ’
वायुयान सङ्ग्रहालयमा आठ जना कर्मचारी कार्यरत रहेको कर्मचारी ईश्वरी खत्रीले जानकारी दिनुभयो । कर्मचारी खर्चसहित जग्गा भाडा हालसम्म वायुयान सङ्ग्रहालयबाट भएको आम्दानीबाट नभई आफैँले व्यहोर्दै आएको सञ्चालक उप्रेतीले जानकारी दिनुभयो । उहाँले डेढ करोड रुपियाँ लगानी गरेर धनगढीमा वायुयान सङ्ग्रहालय स्थापना गर्नुभएको थियो । उप्रेतीले २०७४ देखि काठमाडौँको सिनामङ्गलमा पनि एभिएसन म्युजियम सञ्चालनमा ल्याउनु भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?