logo
२०८१ मंसिर १० सोमवार



कर्णालीमा ४२ पर्यटन पदमार्ग

पर्यटन |


कर्णालीमा ४२ पर्यटन पदमार्ग


सुर्खेत समाचारदाता
सुर्खेत, फागुन २७ गते । कर्णाली प्रदेशलाई पदमार्गबाट चिनाउनका लागि कर्णालीमा ४२ वटा पर्यटन पदमार्ग निर्माण गर्न लागिएको छ । पर्यटन क्षेत्रको संरक्षण, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कर्णालीमा पदमार्ग निर्माण गर्न लागिएको हो ।

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पर्यटन पदमार्गका लागि यस आर्थिक वर्षमा ११ करोड ४० लाख रूपियाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी पदमार्ग हुम्लामा नौवटा निर्माण हुने छ । यस्तै डोल्पामा सात, सुर्खेतमा तीन, जाजरकोटमा तीन, सल्यानमा तीन, जुम्लामा ६ वटा पदमार्ग निर्माण हुनेछन् । कालीकोट तीन, दैलेख एक र मुगुमा सातवटा पर्यटन पदमार्ग निर्माण हुँदैछन् । पर्यटकीय पदमार्गका लागि एक पदमार्गमा ५० देखि १५ लाख रूपियाँसम्म रकम विनियोजन गरिएको छ ।

सुर्खेत सदरमुकाम वीरेन्द्रनगर ४ देखि वीरेन्द्रनगर १४ को गढी जोड्ने पदमार्गका लागि करिव ८० लाख बजेट छुट्याइएको छ । नयाँ सदरमुकामबाट पुरानो सदरमुकाम जोड्ने करिव चार किमी पदमार्गको निर्माण गर्नका लागि कर्णाली प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री यामलाल कँडेलले विशेष जोड दिनुभएको छ । स्वास्थ्यका साथै पर्यटकीय हिसावले उक्त पदमार्ग उपयुक्त भएको भन्दै उहाँले जतिसक्यो छिटो काम गर्न आग्रह गर्नुभएको छ ।

यस्तै रारादेखि तिहारबगर–चिताइगाउँ–डोल्पुगाउँ–शेगुम्बा हुँदै शे–फोक्सुण्डो तालसम्म, पदमार्ग रारादेखि चंखेली हुँदै सर्केगाड–सिमीकोट–लिमी उपत्यका हुँदै हिल्सासम्मको पर्यटकीय पदमार्गको सम्भाव्यता अध्ययन हुनेछ । यसलाई कर्णाली हिमालयन पदमार्गसमेत भनिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत प्रकाश बस्नेतले प्रदेश नम्बर ५ को पूर्वी रुकुमस्थित सिस्ने हुँदै कर्णाली प्रदेशको रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसीकोट–रिम्नाबगर–जलजला–जाजरकोट–चन्दननाथ हुँदै रारासम्मको पर्यटकीय पदमार्गको अध्ययन गरिने बताउनुभयो । उहाँका अनुसार यसलाई गुरिल्ला पदमार्ग नामाकरण गरिएको छ । यसले मुगुमा भएको रारा ताललाई विशेष प्राथमिकतामा राखेको छ ।

पदमार्गमा आवश्यक विश्रामस्थल, सुरक्षा संकेत, पुल साँघुलगायतका आवश्यक सुविधा तथा पूर्वाधारको निर्माण गरिनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन शाखाका अधिकृत अञ्जु चौधरीले पैदल मार्गमा भूक्ष्य तथा पहिरो नियन्त्रण, पदमार्ग अवरुद्ध पार्ने झाडी, बुट्यान, काँडा, ढुंगा, चट्टान बाटोबाट पन्छाउने कार्य गरिने बताउनुभयो ।

उहाँका अनुसार उकाली ओरालीमा ढुंगा छाप्ने, ससाना खोल्सीमा फड्के वा ससाना कलभर्ट निर्माण गरिनेछ । पर्यटन पदमार्गको ठाउँठाउँमा स्वच्छ खानेपानी र शौचालयलगायतको व्यवस्थापनि गरिनेछ । यो पदमार्ग जुम्ला, डोल्पा, दैलेख, सुर्खेत र रुकुम पश्चिममा गरिनेछ । जसका लागि एक करोड रूपैयाँ विनियोजन भएको छ ।

पहिचान भएका वा सम्भाव्यता पर्यटकीय गन्तव्यको पहिचान गरी त्यस्ता गन्तव्यमा आवश्यक पदमार्ग निर्माण, स्तरोन्नति, सेवा विस्तारलगायतका कार्य गरी पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । यसले पर्यटकीय गतिविधि अभिवृद्धि गरी जनताको जीवनस्तरमा सुधार ल्याउने अपेक्षा गरिएको छ । पदमार्ग निर्माण हुँदा ओझेलमा परेका पर्यटकीय क्षेत्रसम्म पर्यटक पुग्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?