बेलिना थापा
लमजुङ, चैत ६ गते । चक्रीय अन्नपूर्ण पदमार्गमा भ्रमणमा आएका दुई विदेशी पर्यटक सम्पर्क विहीन भएका छन् । उनीहरुको साथमा एक नेपाली हुन सक्ने अनुमान गरिएको छ ।
मनाङको माथिल्लो क्षेत्र गएका दुई जना विदेशी पर्यटक र एक जना नेपाली सम्पर्कबीहिन भएको जानकारी नेदरल्यान्डको दुतावासले ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) लाई पठाएको पत्रमा उल्लेख छ ।
टानका मिडिया कोअर्डिनेटर सिमबीर घलेका अनुसार नेदरल्याण्ड दुतावासका सिनियर कन्सुलर अफिसर करी क्यूलेनायरले टानलाई लेखेको पत्रमा पासपोर्ट नं ‘एनपीआरडीके ६९०३’ का मेडेलिन भान डेर पर्क र ओल्गा स्प्रोन्केन हराइरहेको उल्लेख गरेका छन् । एकजना नेपाली भरिया भएपनि उनको नाम खुलाइएको छैन ।
पत्रमा उनीहरु जगत, थोराङ–ला पास हुँदै जोमसोम जान हिँडेको पत्रमा उल्लेख छ । उनीहरु अन्तिम पटक मार्च १६ तारिखमा ह्वाट्स एप र इन्स्टाग्राममार्फत सम्पर्कमा आएको र त्यसपछि सम्पर्कमा नआएको टानलाई लेखेको पत्रमा उल्लेख गरिएको छ । टानका मिडिया कोअर्डिनेटर घलेका अनुसार उनीहरु कुनैपनि ट्राभल एजेन्सीमार्फत नभई व्यक्तिगत रुपमा गएको बुझिएको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय मनाङका अनुसार नेदरल्याण्डका दुई नागरिक मनाङको भ्राकास्थित चेकपोष्टमा मार्च १४ तारिखमा आएको रेकर्ड छ । मार्च १५ तारिखमा मनाङ गाउँ बसेको र १६ तारिखका दिन थोराङ्लातर्फ गएको एक्यापले जनाएको छ । मार्च ९ तारिखका दिन पोखराको ड्यामसाइडस्थित पर्यटक प्रवेश शुल्क काउन्टरबाट पर्मिट लिएर चक्रीय अन्नपूर्ण पदमार्गमा उनीहरु गएको एक्याप केन्द्रिय कार्यालय पोखराका सूचना अधिकारी ऋषि बरालले बताउनुभयो । उहाँका अनुसार नेदरल्याण्डका नागरिक पासपोर्ट नम्वर ‘एनपीआरडीके ६९०३’ का २९ बर्षीया मारिया इ एम भान डर पर्क र पासपोर्ट नं. ‘एन युके ६ डीओ ७ बी ४’ का २८ बर्षीया ओल्गा मारिया स्प्रोनकनले मार्च ९ तारिखका दिन पर्मिट काटेका छन् ।
उनीहरुले मार्च ९ तारिखमा पोखराको ड्यामसाइडस्थित पर्यटन प्रवेश शुल्क काउण्टरबाट पर्मिट लिएका थिए । ‘मनाङको चेकपोष्टमा रेकर्ड भए अनुसार मार्च १६ तारिखमा मनाङबाट हिँडेको २ जना १८ तारिखमा मुक्तिनाथ आइपुग्नु पर्छ । १९ तारिखमा एक्यापको मुक्तिनाथ चेकपोष्टको सम्पर्कमा आउनुपर्छ’ उहाँले भन्नुभयो, ‘अहिले सम्म सम्पर्कमा आएका छैनन् । हामी खोजिरहेका छौं ।’
प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले पर्यटक हराएको अपुष्ट खबर आएको र खोजी थालिएको बताए । ‘चामेमै इन्टरनेट छैन । माथिल्लो क्षेत्रमा झन इन्टरनेट हुने कुरा भएन । मनाङ गाउँदेखि माथि मुस्ताङको मुक्तिनाथ नपुगेसम्म फोन पनि लाग्दैन’ उनले भने, ‘हामी बुझ्दैछौं ।’ मनाङदेखि पहिलो दिनको गन्तव्य याकखर्क, दोस्रो दिनको गन्तब्य थोराङफेदीदेखि तेस्रो दिनको गन्तब्य मुक्तिनाथ पुग्नु अगाडि कुनैपनि टेलिफोन, मोबाइल, इन्टरनेट सेवा छैन । सञ्चारका कुनै पनि माध्यम नहुँदा पर्यटक सम्पर्कमा आउन नसकेको एक्यापले जनाएको छ । गन्तब्यमा जाने क्रममा हिँउ परेर कतै होटलमा बसेको हुन सक्ने अनुमान गरिएको बरालले बताउनुभयो ।
मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले दुई जना पर्यटक सम्पर्कमा नआएको जानकारी आएको र खोजी भइरहेको बताउनुभयो ।