logo
२०८१ मंसिर १० सोमवार



पर्यटन पुनरूत्थानका लागि प्याकेज ल्याउन सुझाव

पर्यटन |


पर्यटन पुनरूत्थानका लागि प्याकेज ल्याउन सुझाव



गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १६ गते । नेपाल चेम्बर अफ कमर्सले कोभिड १९ को प्रकोपका कारण सबैभन्दा बढी प्रभावित पर्यटन, सेवा व्यवसाय, हवाई उड्डयनलगायत क्षेत्रको पुनरुत्थानका लागि विभिन्न सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसमक्ष सुझाव दिएको चेम्बरले जनाएको छ ।
चेम्बरले कोरोनाको प्रभाव कम भएपछि होटल तथा एयरलाइन्सलाई वित्तीय प्याकेजमार्फत उद्धार गरिनुपर्ने, ऋण, ऋणको ग्यारेन्टी, कर्पोरेट बोन्डमा सरकार वा राष्ट्र बैङ्कबाट टेवा दिनुपर्ने, कर छुट तथा एयरपोर्ट चार्जलगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्नुपर्ने सुझाएको छ ।
चेम्बरले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि वर्षको एकपटक अनिवार्य रूपमा भ्रमणमा निस्कन निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आमनागरिकलाई प्रोत्साहन प्याकेजसहित प्रेरित गर्नुपर्ने, आउँदो सेप्टेम्बर–अक्टोबरमा सुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न सहरबाट पर्यटक भित्र्याउनेतर्फ सरकारीस्तरमै पहल गरिनुपर्ने सुझाएको छ ।
त्यस्तै नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र चिनियाँ एयरलाइन्सहरूले चीनका विभिन्न सहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटक भित्र्याउनेतर्फ पहल गरिनुपर्ने, निजी क्षेत्रले पनि होटललगायत अन्य पर्यटकीय सुविधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्नेगरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गर्नुपर्ने चेम्बरले सुझाएको छ । भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाएर काम गर्न, मेडिकल टुरिजम, होमस्टे, एग्रो टुरिजम, कल्चरल टुरिजमलगायत विधागत पर्यटन प्रवद्र्धनका लागि ठोस कार्यक्रम ल्याउन सुझाएको छ ।
चेम्बरले पर्यटक चाप घटेका बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तीव्रता दिइनुपर्ने, राष्ट्रिय महŒवका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तीव्रता दिनुपर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौन्दर्र्यकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गको मर्मत सम्भारलगायतका कामलाई अगाडि बढाउन पनि सुझाएको छ । चेम्बरले अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकाले हवाई भाडा दर पनि घटाउन आग्रह गरेको छ । त्यस्तै हवाई यात्रुको डिपाचरअघि अनिवार्य रूपमा कोरोना परीक्षण गरिएको हुनुपर्ने, हाल सीमित पार्टपुर्जामा मात्र दिइँदै आएको मूल्य अभिवृद्धि कर छुट वायुयानका सम्पूर्ण पार्टपुर्जामा उपलब्ध हुनुपर्ने, हवाई बीमामा लगाइँदै आएको मूल्य अभिवृद्धि कर र अग्रिम कर छुट हुनुपर्ने र ग्राउन्डेड जहाजको बीमाको सम्पूर्ण व्यवस्था नेपाल पुनर्बीमा कम्पनीबाट सहुलियत दरमा हुनुपर्नेलगायतका सुझाव दिएको छ ।
चेम्बरले दिएको सुझावमा नेपाल आयल निगमले हाल माग्दै आएको नगद धरौटीको सट्टा बैङ्क ग्यारेन्टीको व्यवस्था गरी हाल लिएको नगद धरौटी फिर्ता गर्ने व्यवस्था हुनुपर्ने पनि रहेको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?