logo
२०८१ मंसिर १० सोमवार



कोरोना संकट पछि नेपाल भारत पर्यटनलाई नयाँ गति दिइने

पर्यटन |


कोरोना संकट पछि नेपाल भारत पर्यटनलाई नयाँ गति दिइने


गोरखापत्र अनलाइन
काठमाडौ, वैशाख १९ गते । पर्यटन बोर्डले कोरोना संकट पछि नेपालको पर्यटन क्षेत्रलाई कसरी नयाँ गति दिने भन्ने विषयमा भारतका पर्यटनसँग सम्बिन्धित संघ–संस्थाका प्रमुसखहरुसँग अनलाइन छलफल गरेको छ ।

छलफलका क्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले वर्तमान सङ्कटका समयमा नेपालमा भएका पर्यटकलाई आफ्नो देश फर्किन गरिएको कामका बारेमा, नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि सर्भेक्षण गरिरहेको, नेपाल सरकारसँग पर्यटन उद्योगलाई राहत प्याकेजका लागि गरिरहेको पहल कदमी, नेपाली पर्यटन उद्योगलाई आगामी दिनमा आवश्यक हुने हाइजिन स्यानिटेशनको ब्यवस्था, भारतीय बजार लक्षित हिलस्टेशन र मझौला पहाडी भागमा नयाँ पर्यटकिय गन्तब्यको विकासका साथै ती स्थानहरुमा मनोरञ्जनका आयामका लागि बोर्डले गरिरहेको पहलहरुका बारेमा जानकारी गराउनुभयो ।

छलफल कोरोना पछिका दिनमा भारतीय पर्यटकहरुको नेपाल भ्रमणका लागि चाहिने आत्मविश्वासका लागि गरिनुपर्ने विविध अभियानका बारेमा बढी केन्द्रित थियो । सबै सहभागी भारतीय पर्यटनका शीर्ष ब्यक्तिहरुले सङ्कट पश्चात भारतीय पर्यटकहरु भ्रमणमा सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुने बताउँदै नेपालले गन्तब्यहरुमा यसको प्रबन्ध गर्न अनुरोध गरे । नेपालको यो सङ्कटमा हालसम्म शुन्य मृत्युको अवस्थाले आगामी दिनमा भारतीय बजारहरुमा छुट्टै स्थान बनाउने र नेपाल प्रतिको विश्वास अझ बढाउने सहभागीहरुले बताए ।

साथै छलफलका क्रममा नेपाली र भारतीय ट्राभल उद्योगले समन्वयमा काम गरी भारतीय पर्यटकलाई नयाँ आत्मविश्वास प्रदान गर्नुपर्ने आवश्यकता पनि आंैल्यायो ।
नेपाली आतिथ्यता र सत्कारलाई नेपाली पर्यटनको आधार भएको मनन गरी नेपालको नयाँ परिचय स्थापित गराउने कार्यलाई तिब्रता दिन पनि सहभागीहरुले विशेष अनुरोध गरे । बजारिकरण र प्रबद्र्धनका कार्यमा नेपाली र भारतीय समकक्षीहरुको संयुक्त प्रयास गराउन भारतीय पर्यटन संघ–संस्थाहरुले आफ्नो सदस्यहरुलाई सकृय गराउने विषय पनि छलफल भयो ।

नेपाल–भारत पर्यटन टास्कफोर्स समिति बनाउन नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले गर्नुभएको प्रस्तावलाई आगामी दिनका छलफलले टुङ्गाउने सहमति पनि भएको छ । बोर्डले आगामी दिनमा भारतीय समकक्षीहरुसँगको छलफललाई तिब्रता दिने र यस किसिमको गन्तब्य वेभिनार संयुक्त रुपमा आयोजना गर्दैजाने निर्णय पनि सो अवसरमा भएको थियो ।
सो छलफलमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले भारतीय पर्यटनका अगुवाहरु ज्योति मयल, अध्यक्ष, भारतीय ट्राभल एजेण्टस एसोसियन; पिपि खन्ना, अध्यक्ष, भारतीय आन्तरिक पर्यटन टुर अपरेटर एसोसिएसन; क्याप्टेन स्वदेश कुमार, अध्यक्ष भारतीय एड्भेन्चर टुर अपरेटर एसोसिएसन; प्रदीप लुल्ला, अध्यक्ष, भारतीय ट्राभल एजेण्टस फेडेरेसन र महेन्द्र भखारिया, निर्वतमान अध्यक्ष, भारतीय आउटबाउण्ड टुर अपरेटर्स एसोसिएसन सहभागी थिए ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?