logo
२०८१ मंसिर १० सोमवार



देम्बाडाँडा पुग्ने पदमार्ग निर्माण सम्पन्न

पर्यटन |


देम्बाडाँडा पुग्ने पदमार्ग निर्माण सम्पन्न



मनोज भट्टराई
ओखलढुङ्गा, जेठ २७ गते । नेपाल सरकाले घोषणा गरेको सय पर्यटकीय गन्तव्य सूचिमा परेका ओखलढुङ्गाका दुई पर्यटकीय स्थानमा पुर्वाधार निर्माणका काम धमाधम भइरहेका छन् । देशकै दोश्रो अग्लो ओखलढुङ्गाको पोकली झरना र देम्बाडाँडा पर्यटन पूर्वाधारका काम धमाधम भइरहेका छन् ।
पूर्ण बन्दाबन्दी (लकडाउन) को समयमा पनि लिखुको पोकली र खिजिदेम्बााके देम्बामा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा पनि विकास निर्माण र पर्यटकीय पूर्वाधार निर्माणको काम निरन्तर चलिरहेको छ ।

जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको देम्बामा जाने पदमार्ग निर्माण भएको छ । सङ्घीय सरकारको आर्थिक सहयोगमा जिल्लाको उत्तरी पश्चिमी गाउँपालिका खिजिदेम्बाले पदमार्ग निर्माण गरेको हो । खिजिफलाटेनजिकैको चुप्लु भञ्ज्याङबाट देम्बाडाँडासम्म जाने ७२३ मिटर बाटो सोलिङ गरिएको छ भने पदमार्गमा २ वटा प्रतीक्षालयसमेत निर्माण सम्पन्न गरिएको खिजिदेम्बा गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताउनुभयो ।

देम्बाडाँडा आसपासमा ढुङ्गा नपाइने हुँदा धेरैजसो ठाउँमा ढुङ्गा बोकेरै सोलिङ गरिएको उहाँको भनाइ छ । देम्बाडाँडाको चुचुरो आसपासमा भने चपरी बिछ्याइएको र अफ्ट्यारो ठाउँमा रेलिङसमेत राख्ने योजना बनाइरहेको रोकाको भनाइ छ ।

गाउँपालिकाले सङ्घीय सरकारबाट पाउने ५० लाख रुपियाँ बजेटमध्ये पहिलो किस्ता बापतको २५ लाख रुपियाँको काम गरेको हो । पदमार्ग निर्माणको काम यसअघि नै सकिनुपर्ने भएपनि लकडाउनका कारण काम प्रभावित भएको थियो । स्थानीय श्रमको सदुपयोग गरेर गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो । देम्बामा खानेपानीलगायत पूर्वाधारहरू भने तयारी गरी सकिएको गाउँपालिकाले जनाएको छ । खिजिदेम्बा गाउँपालिकामा रहेको तीन हजार ३५० मिटर अग्लो देम्बाडाँडा जिल्लाकै सबैभन्दा उच्च स्थानमा जाने पदमार्ग निर्माणसँगै गाउँपालिकालाई ओखलढुङ्गाका पूर्व संविधानसभा सदस्य बालकृष्ण ढुङ्गेलसहितको टोलीले एक सय गन्तव्यमध्येकाे पोकली झरना–चुली–देम्बाडाँडा–पिके सम्मको पदमार्ग निर्माणमा ध्यानाकर्षणसमेत गरेको छ ।

ओखलढुङ्गा लिखु गाँउपालिका–९, पोकलीमा रहेको नेपालको दोश्रो अग्लो र १०० पर्यटकीय गन्तव्य मध्येको एकमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण कार्यले तीव्रता पाएको पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्टले जानकारी दिनुभएको छ । भर्खरै करिब सात रोपनी जग्गा पर्यटन पूर्वाधार निर्माण गर्नका लागि खरिद सम्झौता भइसकेको छ । अब पार्क निर्माणका लागि करिब १० रोपनी जग्गाको खोजी भइरहेको विष्टले जानकारी दिनुभयो ।

आवश्यक स्वास्थ्य सर्तकताको उपायहरू अपनाएर पोकलीमा पूर्वाधार निर्माणको काम सञ्चालन भइरहेको छ । कामको अनुगमन वडा कार्यालय र गाँउपालिकाले गरिरहेको छ । पोकली झरना क्षेत्र पूर्वाधार निर्माणका लागि पर्यटन मन्त्रालयबाट ५० लाख रुपियाँ संसदीय क्षेत्र विकास कोषबाट ५० लाख रुपियाँ, प्रदेश सरकारबाट ५० लाख रुपियाँ र लिखु गाँउपालिकाबाट १० लाख रुपियाँ रकम विनियोजन भएको थियो ।
पर्यटक पदमार्ग, सार्वजनिक शौचालयलगायत पुर्ननिर्माणका कार्य भइरहेको र सम्पूर्ण निर्माणकार्य असार मसान्तसम्ममा सक्ने योजना रहेको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?