logo
२०८१ मंसिर १० सोमवार



चरनको अभावमा सौराहाका हात्ती पाल्न समस्या

पर्यटन |


चरनको अभावमा सौराहाका हात्ती पाल्न समस्या


शालिग्राम नेपाल
चितवन, असार ३ गते । सौराहाका व्यक्तिगत स्वामित्वमा रहेका हात्ती सञ्चालक संस्थाले हात्तीलाई खुवाउन नसकेको भन्दै निकुञ्ज नजिकको जङ्गलमा चरनको लागि अनुमति माग गरेका छन् ।

युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडले चितवनको सौराहामा बुधबार पत्रकार सम्मेलन गरी हात्तीलाई खुवाउने खर्च नभएकाले निकुञ्जनजिकको जङ्गलमा चरनको लागि अनुमति दिन माग गरेका हुन् । सहकारीका अध्यक्ष ऋषिराम तिवारीले लकडाउनको कारण पर्यटक नआएकाले आम्दानी नभएपछि पैसा नभएपछि हात्ती पाल्न नसकेको जानकारी दिनुभयो ।

हात्ती सञ्चालकको अनुरोधमा लकडाउन सुरु भएपछि दुई महिना निकुञ्जको नजिक चरनको लागि दिए पनि अहिले रोक लगाएको बताउनुभयो । सहकारीमार्फत सौराहामा ७० व्यक्तिगत हात्ती रहेको अध्यक्ष तिवारीले जानकारी दिनुभयो । 'होटल बन्द छ, पर्यटक आउदैन । हात्ती पाल्नको लागि पराल, दाना सबै किनेर दिन सकिएको छैन' उहाले भन्नुभयो । राप्ती नदीको किनार निकुञ्जछेउमा हात्ती चरणको लागि अनुमति दिनुपर्ने माग राख्नुभएको छ ।

सहकारीका अध्यक्ष तिवारीका अनुसार एउटा हात्ती पाल्नको लागि मासिक ७० हजारदेखि एक लाख रुपियाँ खर्च हुन्छ । दुई जना माहुते, दुई ट्रयाक्टर टेलर पराल, दैनिक २५० लिटर पानी, दैनिक २० किलो धान, नुन, चनालगायत खर्च गरी करिब एक लाख रुपियाँ लाग्ने सहकारीले जनाएको छ ।

पर्यटक नआएर होटल बन्द भएपछि हात्ती पाल्नको लागि समस्या भएको उहाँको भनाइ छ । चितवनको सौराहाका होटल सञ्चालकहरूले सहकारीमार्फत हात्ती सफारीको लागि चलाउँदैआएका छन् । व्यक्तिगत रुपमा पालिएका हात्तीहरू निकुञ्ज छेउको बफरजङ्ग क्षेत्रमा वन्यजन्तु देखाउनको लागि पर्यटक घुमाउँदैआएका थिए । लकडाउनले होटल बन्द भएपछि चैत महिनादेखि नै हात्तीलाई बाँधेर पालेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सधैं निकुञ्ज क्षेत्रमा निजी हात्ती चरणको लागि दिन नमिल्ने बताउनुभयो । लकडाउन सुरु भएपछि मानवीयताको हिसाबले दुई महिना राप्ती नजिकको क्षेत्रमा चरन गर्न दिए पनि अब दिन नसक्ने भएर रोकेको जानकारी दिनुभयो । व्यवसाय गर्नको लागि पालेको हात्तीलाई आफैँले खर्च गरेर पाल्नुपर्ने प्रमुख संरक्षण अधिकृत रुपाखेतीको भनाइ छ । निकुञ्जभित्र चरनको लागि लैजाने हो भने नियम परिर्वतन गरेर आउनुपर्ने बताउनुभयो ।

हात्ती सहकारीका अध्यक्ष तिवारीले वफरजंग क्षेत्रमा हात्ती प्रवेश गराएबापत वार्षिक एक करोड रुपियाँ राजश्व बुझाउँदैआएको निजी हात्तीलाई समस्या पर्दा निकुञ्जले हेर्नुपर्ने बताउनुहुन्छ । क्षेत्रीय होटल सङ्घ, सौराहाका अध्यक्ष दीपक भट्टराइले हात्तीलाई बचाउन नसके चितवनको पर्यटकीय क्षेत्र विनाश हुने बताउनुभयो । सौराहा आएर हात्ती हेर्न र चढ्न नपाउने हो भने यहाँ पर्यटक नआउने भएकाले सङ्कटको बेला राज्यले हेर्नुपर्ने बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?