गोरखापत्र समाचारदाता
काठमाडौँ, असार २९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रभित्र राष्ट्रिय गौरवको आयोजनाका काम भइरहेकाले पशुपतिको हितलाई ध्यानमा राखेर मात्र काम गर्न निर्देशन दिनुभएको छ ।
मन्त्री भट्टराईले थालिएका कामहरू छिटो सम्पन्न गर्न जोड दिँदै भन्नुभयो, “कहिलेकाहीँ कोही बिचौलियाका स्वार्थमा पनि काम हुने गरेको गुनासो सुन्ने गरिएको छ । त्यस्तो काम जोकोहीले गरेको भए पनि राम्रो हुँदैन । जे गर्ने हो, त्यो पशुपतिको हितलाई ध्यानमा राखेर गर्नुहोला ।”
पशुपति क्षेत्र विकास कोषको आइतबार सम्पन्न समीक्षा बैठकमा मन्त्री भट्टराईले भन्नुभयो, “धार्मिक तथा सांस्कृतिक महŒवका स्थलमा निजी क्षेत्रको समेत लगानी हुने योजनामा धेरै संवेदनशील हुनुपर्छ ।” उहाँले यस वर्ष कोषको वार्षिक बजेट साउनको दोस्रो हप्ताभित्रै ल्याउनुपर्छ भन्नुहुँदै कोही अमूक बिचौलियाको हितमा नभई बृहत्तर पशुपति क्षेत्रको हितमा लाग्न कोषका पदाधिकारी तथा कर्मचारीलाई निर्देशन दिनुभयो ।
मन्त्री भट्टराईले गत पुस २६ मा तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे ४८ बुँदे निर्देशन दिनुभएको थियो । कोषको गोठाटारको जग्गा अतिक्रमणबारे आएका खबरप्रति उहाँले छिट्टै चार किल्ला निश्चित गरेर आफ्नो जग्गामा तारबार गर्न र कसैले कोषको जग्गामा संरचना बनाएको छ भने ती हटाउन निर्देशन दिनुभयो ।
बैठकमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पशुपति क्षेत्र विश्व सम्पदामा सूचीकृत भएकाले यो क्षेत्रमा नयाँ संचरना निर्माण गर्दा युनेस्कोको मापदण्डलाई आधार बनाउनुपर्ने बत(ाउनुभयो । बैठकमा कोषका सदस्यसचिव डा. प्रदीप ढकाल र कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बन्दाबन्दीको समयमा कोषले गरेका कामका बारेमा जानकारी गराउनुभयो ।