logo
२०८१ मंसिर १० सोमवार



पर्यटनमा सहुलियतपूर्ण ऋण आवश्यक

पर्यटन |


पर्यटनमा सहुलियतपूर्ण ऋण आवश्यक


रमेश पौडेल

पोखरा, साउन १ गते । नेपाल राष्ट्र बैङ्कले ल्याउन लागेको मौद्रिक नीतिमा सहुलियतसहितको पुनर्कर्जालाई प्राथमिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)का कारण थला परेको यहाँको पर्यटन क्षेत्र उकास्न मौद्रिक नीति उदार हुनुपर्नेमा पनि उनीहरूको जोड छ । बैङ्कले ५ प्रतिशत ब्याजदरमा पर्यटनमा अनिवार्य लगानी गर्ने गरी व्यवस्था मिलाउन राष्ट्र बैङ्कसँग अनुरोध गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष रहनुभएका पोखराका अग्रज व्यवसायी आनन्दराज मुल्मीले सरकारले अनुदान दिनसक्ने अवस्था नरहेकाले सहुलियतपूर्ण ऋणलाई नै नीतिमा सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले बैङ्कको ब्याज उच्च रहेकाले नेपालको उद्योगधन्दाको पुँजीको लागत वृद्धि हुँदा वस्तुको मूल्यसमेत वृद्धि हुन गएको बताउनुभयो ।
उहाँले मुद्रास्फीतिका लागि पनि पुनर्कर्जा र बैङ्कको ब्याजमा कमी आउनुपर्ने उल्लेख गर्दै ५ देखि ७ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने नीतिलाई राष्ट्र बैङ्कले सीमित गर्नुपर्ने बताउनुभयो ।
यस्तै अटो तथा पर्यटन व्यवसायी नारायण पौडेलले सरकारले अनुदान दिने सम्भावना नभएकाले बैङ्कको ब्याज नै कमी हुनेगरी नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले आवश्यक व्यवसायीलाई पुँजी निर्माणका लागि पुनर्कर्जाको व्यवस्था मौद्रिक नीतिले समेट्नुपर्ने बताउनुभयो ।
पश्चिमाञ्चल होटल सङ्घ (हान)का पूर्वअध्यक्ष भरतराज पराजुलीले बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिएर व्यवसाय सञ्चालन गरेका व्यवसायीले कर्जाको भुक्तानी तालिकालाई पुनर्ताजकीकरण गरी तीन वर्ष अवधि बढाइदिन जोड दिनुभयो ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं पोखराका अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले मजदुर तथा कर्मचारी टिकाइराख्न सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताउनुभयो । उहाँले राज्यबाट २५ प्रतिशत, निजी क्षेत्रबाट २५ प्रतिशत बेहोर्ने गरी बाँकी ५० प्रतिशत कर्मचारी तथा मजदुरबाटै तलब सुविधा छोड्ने गरी व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । उहाँले कोभिड–१९ बाट प्रभावित व्यवसायलाई बजेटमा छुट्याइएको एक खर्बको पुनर्कर्जा र ५० अर्ब रुपियाँको व्यवसाय सञ्चालन कोषको रकम अपुग भएको धारणासमेत राख्नुभयो । यसलाई पनि मौद्रिक नीतिले सरल तरिकाबाट सम्बोधन गरी सबै पर्यटन व्यवसायीलाई राहत दिन आग्रह गर्नुभयो ।
पुनर्कर्जाको सुविधा पर्यटन क्षेत्रको होटल, रेस्टुरेन्ट, ट्राभल, टे«किङ, साहसिक गतिविधि, पर्यटन सवारीलगायत अन्य पर्यटनसँग सम्बन्धित व्यवसायीलाई समेत सरल र सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलको माग छ ।
नाट्टा पोखराका अध्यक्ष सञ्जयकान्त सिग्देलले लकडाउनले ट्राभल तथा टे«किङ व्यवसाय ठप्प भएकाले सवारीसाधनमाथि लिइने गरेको अनावश्यक कर मिनाहा गरी ऋणको किस्ता र ब्याजको अवधि बढाउनुपर्ने बताउनुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?