कोकिला भण्डारी
धनकुटा, श्रावण ३१ गते । ओझेलमा रहेको मावरक रानीताल पुर्वाधार विकाससँगै केही महिनाअघि मात्र विदेशी पर्यटकहरूको आगमन बढ्न थालेको थियो । यतिबेला भने कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण रानीताफ ओझेलमा परेको छ ।
चौबिसे गाउँपालिका वडा नम्बर ६ राजारानीस्थित पर्यटन विकास सहकारी संस्थामार्फत् सञ्चालनमा आएको ओझेलमा रहेको मावरक रानीताल भेडेटार-राजारानी हुँदै रवि-राँके सडक विस्तार भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको थियो ।
भेडेटारबाट करिब दुई घण्टामा पुग्न सकिने एक नम्बर प्रदेशकै पर्यटकीय क्षेत्रको सम्भावना बोकेको रानीताल अत्यन्तै सुन्दर र आर्कषक रहेकाले पर्यटकहरूको मन लोभ्याउन सफल भएको छ ।
निजी जग्गामा ताल रहेकाले उक्त तालको विगतका दिनहरूमा विकास हुन सकिरहेको थिएन । भखर्रै मात्र भौतिक पूर्वाधारको विकाससँगै रानीतालमा चहलपहल बढ्न थालेको थियो ।
प्रदेश नम्बर १ कै गहनाका रुपमा विकास हुँदै गरेको रानीताल कोरोना भाइरस सङ्क्रमणका कारण लकडाउन हुँदा पर्यटकीय क्षेत्रमा ठूलो घाटा पुगेको सङ्घीय सांसद राजेन्द्रकुमार राईको भनाइ छ ।
लिम्बु भाषाको मावरक शब्द भनेको नेपाली भाषामा रानीताल र पारक भनेको राजाताल भनेको हुँदा यस ताललाई राजारानी ताल भन्ने गरिएको किंवदन्ती रहेको पाइन्छ । यस क्षेत्रमा परापूर्वकालमा राजा र रानीहरू आएर बस्ने, घुम्ने गरेकाले यो ताल राजारानीतालको नामले चिनिएको हो ।