logo
२०८१ मंसिर १० सोमवार



पर्यटन पुनरूत्थान गर्न कार्यदल

पर्यटन |


पर्यटन पुनरूत्थान गर्न कार्यदल


गोरखापत्र समाचारदाता

काठमाडौँ, भदौ २४ गते । कोभिड–१९ सङ्क्रमणका कारण थलिएको पर्यटन क्षेत्रलाई पुनर्जीवन दिने उद्देश्यसहित नेपाल पर्यटन बोर्डले एक कार्यदल गठन गरेको छ । बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीको संरक्षकत्वमा गठित उक्त कार्यदलले अन्तर्राष्ट्रिय अभ्याससमेतको अध्ययन गरेर यस क्षेत्रको पुनरुत्थानका लागि नियमित सुझाव उपलब्ध गराउने छ ।
त्यस्तै सम्पूर्ण व्यवसायीलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माणमा पनि सहयोग गर्ने उद्देश्यले कार्यदल गठन गरिएको बोर्डले जनाएको छ ।
कार्यदलमा पाटा, एसकेएएलजस्ता पर्यटन क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घसंस्थालाई सल्लाहकारका रूपमा समावेश गरिएको छ । कार्यदलले तत्काल सुरक्षित रूपमा पर्यटन गतिविधि अध्ययन गर्नसक्ने सम्बन्धमा पनि अध्ययन गर्नेछ ।
त्यस्तै पर्यटन व्यवसायी तथा मजदुरलाई ल्याउन सकिने आर्थिक कार्यक्रमको विषय कार्यदलको अध्ययनको विषय हुनेछ ।
बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययन अनुसार चैत ११ देखि सुरु भएको बन्दाबन्दीको कारण पर्यटन तथा उड्डयन क्षेत्रले मासिक १० अर्ब रुपियाँ नोक्सानी बेहोर्नुपरेको तथ्याङ्क सार्वजनिक भएको थियो । साउनमा सेवा क्षेत्रसँग सम्बन्धित केही गतिविधि सञ्चालन भए पनि पर्यटन क्षेत्रलाई उल्लेख्य राहत भने हुन सकेन ।
त्यसयता भदौमा पूर्ण रूपमा निषेधाज्ञा जारी भए पनि पर्यटन तथा उड्डयन क्षेत्रले नोक्सानी बेहोर्नुपरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन तथा उड्डयन क्षेत्र र यससँग आश्रित करिब १० लाख व्यक्ति कोभिड सङ्क्रमणका कारण प्रभावित छन् ।

पर्यटनमा अस्टे«लियाले सघाउने
नेपालको पर्यटन विकासमा अस्ट्रेलियाको पूर्ण सहयोग रहने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर वडबीच भएको शिष्टाचार भेटवार्ता यस्तो प्रतिवद्धता
व्यक्त भएको हो ।
मन्त्रालयमा मङ्गलबार भएको विदाइ भेटमा मन्त्री भट्टराईले नेपाल र अस्ट्रेलियाको बीचमा हवाई सम्झौता भइसकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकोले निकट भविष्यमै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
मन्त्री भट्टराईले अस्ट्रेलियामा नेपालको पर्यटन प्रवर्धनमा सहयोगको अपेक्षा गर्नु भएको थियो । राजदूत वडले आफ्नो तीनवर्षे कार्यकाल सकेर स्वदेश फर्कनु अघि मन्त्री भट्टराईसँग भेट गर्नु भएको हो । सोही अवसरमा राजदूत वडले कोरोना भाइरस (कोभिड–१९) ले सिर्जना गरेको विकराल समस्याका बीच बन्दाबन्दीमा नेपालका विभिन्न जिल्लामा रहेका अष्ट्रेलियन नागरिकलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गर्नुभयो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?