logo
२०८१ मंसिर १० सोमवार



स्मार्ट भिलेज घलेगाउँको होमस्टे खुले

पर्यटन |


स्मार्ट भिलेज घलेगाउँको होमस्टे खुले


बेलिना थापा
लमजुङ, असोज १५ गते । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका कारण लकडाउन भएपछि पर्यटक प्रवेशमा रोक लगाएको पर्यटकीय घलेगाउँको होमस्टे खुलेको छ ।
क्व्होलासोंथर गाउँपालिक-३ मा पर्ने स्मार्ट भिलेज घलेगाउँ आन्तरिक पर्यटकका लागि खुला गरिएको हो । लकडाउनका कारण सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटन व्यवसायीले पर्यटकलाई प्रवेश खुला गरेको जनाएको छ । पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष एवं क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार घलेगाउँमा यसैसाताबाट पर्यटकका लागि खुला गरिएको छ । गाउँमा पर्यटक आउन थालेका छन् । जिल्ला भित्रका र अन्य जिल्लाका पर्यटक पनि आउन थालेको अध्यक्ष घलेले बताउनुभयो । लकडाउनसँगै घरवास व्यवसाय सङ्कटमा परेकाले पर्यटन व्यवसायलाई खुला गरिने निर्णय भएको उहाँले बताउनुभयो ।
‘कोरोना सङ्क्रमणका कारण धेरै समय गाउँमा पर्यटक आएनन् । व्यवसायी फुर्सदिला भए । पर्यटकको स्वागत सत्कार र सेवा गर्न पाएनन् । आम्दानी आउने बाटो भएन’ उहाँले भन्नुभयो, ‘सधैँ बन्द गरेर हुँदैन भनेर खुलाएका छौँ । बिस्तारै पर्यटक आउने क्रम छ । स्वास्थ्य सतर्कता भने अपनाएका छौँ ।’ उहाँका अनुसार घलेगाउँ आउने पर्यटकले अनिवार्य मास्क लगाउनुपर्नेछ । स्थानीयले पनि मास्क अनिवार्य लगाउनुपर्नेछ । थर्मल गनमार्फत ज्वरो परीक्षण गरेर मात्र प्रवेश गराइने उहाँले बताउनुभयो ।
घलेगाउँ सञ्चालक समितिका अध्यक्ष गङ्गाबहादुर घलेका अनुसार गाउँमा आउने पर्यटकले अनिवार्य मास्क लगाएको हुनुपर्नेछ । गाउँ प्रवेशपछि थर्मन गर्नले ज्वरो नाप्ने गरिन्छ । स्यानीटाइजर प्रयोग गर्न लगाइएको छ । पर्यटक सम्पर्क कार्यालय अगाडि साबुन पानीले हात धुने व्यवस्था गरिएको छ । होमस्टे सञ्चालन भएका घरमा पनि साबुनपानीले हातधुने व्यवस्था, स्यानीटाइजरको व्यवस्था गरिने उहाँले बताउनुभयो । पर्यटन समितिका सचिव उमलबहादुर विकका अनुसार सुरक्षा सतर्कता अपनाएर मात्र पर्यटकलाई प्रवेश गराइने गरिएको छ । उहाँले भन्नुभयो–‘६ महिना बढी समय पर्यटन व्यवसायीले काम पाएन । आम्दानीको बाटो टुट्यो । सतर्क हुँदै सावधानीका साथ पर्यटकलाई आउन दिन थालेका छौँ ।’ उहाँका अनुसार एउटा कोठामा दुई जनालाई मात्र राख्ने व्यवस्था गरिएको छ । सकेसम्म खाना खाजा पनि कोठामै लगिने व्यवस्था गरिएको छ ।
पर्यटकीय घलेगाउँमा २०५६ सालबाट पर्यटन प्रवर्द्धनका कार्यक्रमसहित २०५७ बाट होमस्टे सञ्चालनमा ल्याइएको थियो । १२ घरबाट सुरु गरिएको होमस्टे अहिले ३४ घरमा सञ्चालन गरिएको छ । घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेशलगायत दर्जन हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ । घलेगाउँ आउने पाहुँनालाई गुरुङ संस्कृति घाँटु, सोरठी, कृष्णचरित्रलगायत पौराणिक नृत्य देखाउने गरिन्छ ।

गाउँमा नमुना चिया बगान, तिजे उत्तरकन्या मन्दिर छ । गाउँबाट हिमाल दृश्यावलोकन, सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन, गोर्खा आर्मी पार्क, सार्क भिलेज पर्यटन सङ्ग्रहालय, स्वर्गभूमि रङ्गशाला, क्व्होइँबो धीं पार्क हेर्न सकिन्छ ।
पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवर्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा घलेगाउँ परेको छ । गाउँमा आउने पर्यटकलाई लोकल खसी, भेडा, कुखुराको मासु खुवाउने गरिन्छ । माछाको सुकुटी, लोकल रक्सी, वनमा पाइने निउरो, कुरिलो, सिस्नो, बडमले, खोले, रायो सागको स्वाद लिन सकिन्छ । नेपाली, गुरुङ फिल्म तथा म्युजिक भिडियोका लागि घलेगाउँ रोजाइमा परेको छ । घलेगाउँ लमजुङको बेंसीसहरदेखि २४ किलोमिटको दूरीमा पर्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?