logo
२०८१ बैशाख २४ सोमवार

  हप्तामा दुईदिन विदा बहस-३  



त्यसै त बिदा धेरै, झन थप्दा काम हुँदैन, प्याकेजले पर्यटन प्रवर्द्धन

पर्यटन |


त्यसै त बिदा धेरै, झन थप्दा काम हुँदैन, प्याकेजले पर्यटन प्रवर्द्धन


मुकुन्द गैरे
काठमाडौँ, असोज १५ गते । हप्तामा दुई दिन बिदा दिने विषयमा पक्ष र विपक्षमा मतहरू सार्वजनिक भएका छन् । यस्तो बिदा अन्तर्राष्ट्रिय प्रचलन अनुसार नै भएकाले नेपालमा पनि लागू गर्दा ठीक हुने एक पक्षको भनाइ रहेको छ भने अर्काे पक्षले दुई दिने बिदाको प्रस्ताव समयसान्दर्भिक नरहेको बताइएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना भाइरसका कारण सबै क्षेत्रमा असर गरेको बेला हप्तामा दुई दिने बिदाको विषय उठान गर्नु सान्दर्भिक हुँदैन, भन्नुभयो । दुई दिने बिदाको बारेमा महासंघले आधिकारिक धारणा नबनाएको बताउँदै उपाध्यक्ष गोल्छाले व्यक्तिगत रुपमा आफू यस विषयमा सहमत नभएको बताउनुहुन्छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ सरकारले अन्तरिक पर्यटन प्रर्वद्धनको लागि सातामा दुई दिने बिदा दिने कुरा प्रभावकारी नहुने बताउनुहुन्छ । देशमा त्यसै त धेरै बिदा भएको अवस्थामा बिदा बढाउँदा काम कारबाहीमा असर गर्ने उहाँको भनाइ छ ।

दुई दिन बिदाले घुम्न जाने समय समेत नपुग्ने भएकाले यसको विकल्पमा वर्षमा कम्तीमा एक हप्ताभन्दा बढी समय तोकेर बिदा दिए प्रभावकारी हुने अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । शुक्रबार सेवा लिन आउनेको काम उक्त दिन नसकिए तीन दिन त्यतिकै बस्नुपर्ने अवस्था रहने बताउनुहुन्छ ।

यसअघि पनि यो व्यवस्था गरिए पनि प्रभावकारी नभएका कारण हटाइएको अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । उक्त बिदा दिँदा पनि अन्य बिदा कटाएर बिदा दिनुपर्नेमा उहाँको जोड छ । यो दुई दिनको समयले काठमाडौँ नजिकका क्षेत्रमा घुम्नेबाहेक लामो दुरीमा जान समय अपुग हुने उहाँको तर्क छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन नेपालमा सार्वजनिक बिदा र पर्व बिदा त्यसै धेरै भएको अवस्थामा हप्तामा दुई दिन बिदा दिनुले सेवाग्राहीका लागि झन् सास्ती थप्ने बताउनुहुन्छ । अहिले पनि १० बजेदेखि ५ बजेसम्म सरकारी कार्यालयको काम गर्ने समय भए पनि व्यावहारिक रुपमा काम नहुने उहाँ बताउनुहुन्छ ।

धेरै कार्यालयमा अहिले पनि पूरा समयमा काम नभएको र सेवाग्राहीले सास्ती भोक्नु परेको अध्यक्ष महर्जन बताउनुहुन्छ । सातामा दिने बिदा तत्काललाई कोरोना छल्नको लागि ठीक भए पनि दीर्घकालीन रुपमा यो व्यवस्था नेपालको लागि राम्रो नभएको उहाँ बताउनुहुन्छ ।

निजामती कर्मचारीलाई थप बिदा दिएर ‘घुम्न जाउ’ भन्नु झन् सेवाग्राही मारमा पार्ने र कर्मचारीलाई छाडा छोड्ने जस्तो काम हुने उहाँको भनाइ छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने नै हो भने सबै कर्मचारीलाई होइन काममा असर नपर्ने गरी घुम्न जान्छु भन्ने कर्मचारीलाई प्रोत्साहनसहित बिदाको व्यवस्था गर्न सकिने महर्जन बताउनुहुन्छ ।

अन्य देशमा पनि यसैगरी घुम्न जानेका लागि बिदाको व्यवस्था गरेको उहाँको भनाइ छ । दुई दिने बिदाले आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग नपुग्ने उहाँ बताउनुहुन्छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष विमल ढकालका अनुसार यो प्रावधान कार्यान्वयन गर्ने हो भने साताको पाँच दिन कडाइका साथ काममा प्रयोग गर्नु पर्नेमा जोड दिनुहुन्छ ।

अन्तर्राष्ट्रिय प्रचलन अनुसार धेरै देशमा हप्तामा दुई दिन बिदा दिने व्यवस्था भएको बताउँदै पूर्वअध्यक्ष ढकाल यो बिदाले आन्तरिक पर्यटन प्रर्वद्धनमा सहयोग पुग्छ, भन्नुुहुन्छ । मानिस समय मिलेपछि घुम्न जाने भएकाले यो दुईदिने बिदा दिने प्रस्ताव राम्रो कुरा भएको उहाँ बताउनुहुन्छ ।

तर यता निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी त्यसै त धेरै बिदा भएको अवस्थामा बिदा थप गर्नु समय सान्दर्भिक नभएको बताउनुहुन्छ । पर्यटन क्षेत्रको प्रर्वद्धनको नाममा अरु क्षेत्रलाई असर गर्ने गरी थप बिदा कार्यान्वयन गर्न नहुने अध्यक्ष पुरी बताउनुहुन्छ ।

अहिलेको अवस्थालाई हेर्ने हो भने स्थानीय तह, प्रदेश सरकारले आ–आफ्नै तरिकाले बिदा दिइरहेको बेलामा संघीय सरकारले समेत बिदा बढाउने हो भने काम गर्ने समय नै नहुने अवस्था आउने उहाँको भनाइ छ । काम गर्ने समयमा घुम्नको लागि बिदा दिने कुरा देशको लागि फाइदा नपुग्ने अध्यक्ष पुरीको ठम्याइ छ । बिदा दिनेभन्दा सरकारले काम गर्ने वातावरण बनाएर प्रोत्साहन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
अहिले दिँदैआएको बिदा नै ठीक भएकाले यसलाई निरन्तरता दिन सरकारसमक्ष अध्यक्ष पुरीको अनुरोध छ ।

कुनै एक क्षेत्र उकास्न अर्को क्षेत्रलाई नोक्सान गर्न नहुनेमा उहाँको जोड छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह हप्तामा दुई दिन बिदा दिँदा काममा असर गर्ने बताउनुहुन्छ । त्यसै त कोरोनाको कारण देशको अर्थतन्त्र तहसनहस भएको बेला बिदा बढ्दा थप असर गर्ने उहाँ बताउनुहुन्छ । दुई दिन बिदा दिँदैमा आन्तरिक पर्यटन प्रर्वद्धन हुनेमा उहाँले आशङ्का व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप