logo
२०८२ असार २ सोमवार



तीनधारे झरनासहित पर्यटक तान्न धुलिखेलले ल्यायाे तीन प्याकेज

पर्यटन |


तीनधारे झरनासहित पर्यटक तान्न धुलिखेलले  ल्यायाे तीन प्याकेज


केदार तिमल्सिना
बनेपा, असोज २६ गते । झण्डै सात महिना कोरोना संक्रमणका कारण थलिएको काभ्रेको पर्यटन व्यवसायलाई पुनर्जीवित गर्न क्षेत्रीय होटल संघ (रेहान) काभ्रेले तीन वटा प्याकेज अघि ल्याएको छ । राजधानी काठमाडौँबाट ३० किलोमिटरको दुरीमा रहेको पर्यटकिय नगरी धुलिखेलमा रहेका होटलहरुले आन्तरिक पर्यटकलाई लक्षित गर्दै तीन वटा प्याकेज ल्याएको संघका अध्यक्ष प्रेमकण्ठ माकजु श्रेष्ठले जानकारी दिनुभयो । संघले दम्पतीलाई लक्षित गर्दै आईतबारबाट प्याकेज सार्वजनिक गरेको हो । संघका अध्यक्ष श्रेष्ठले नेपाल सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाई पर्यटकको सेवा गरिने बताउनुभयो ।


संघकी सचिव ज्योत्सना सैँजुले धुलिखेल फर ‘कल्चर एण्ड नेचर’, धुलिखेल फर ‘सुपर म्यान फिलिङ’ र धुलिखेल फर ‘तीनधारे झरना’ प्याकेज ल्याइएको बताउनुभयो । सैँजुले पहिलो प्याकेज धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ मा एक रात दुई दिन, दोस्रो प्याकेज ‘फिलिङ सुरपरम्यान’ मा दुई रात तीन दिन र तेस्रो ‘तीनधारे झरना’मा दुई रात तीन दिनको प्याकेज तयार गरिएको बताउनुभयो ।
पहिलो प्याकेज धुलिखेल फर ‘कल्चर एण्ड नेचर’ मा पर्यटकलाई आउने वित्तिकै वेलकम टि र सामान्य खाजाले स्वागत गरिनेछ । साँझ धुलिखेलको लखनडबलीमा लाखे नाच देखाइनेछ । भोलिपल्ट बिहान चिया वा कफी पिएर हाइकिङ गर्दै हजार सिँढी हुँदै धुलिखेलको देवीस्थानमा रहेको काली देवीको दर्शन तथा शान्ति बनमा रहेको बुद्ध मूर्तिको अवलोकनका साथै देवीस्थानबाट चारैतिरको मनोरम दृश्यावलोकन गर्न सकिनेछ । काली देवी र बुद्ध मूर्तिको अवलोकनपछि होटलमा फर्कि ब्रेकफास्ट गराइनेछ । दिउँसोको खानापछि होटल छोड्नुपर्नेछ ।

याे पनि पढ्नुहाेस्

  जाने हाेइन त हेर्न तीनधारे झरना (फोटो फिचर)

दोस्रो प्याकेज फिलिङ सुरपरम्यान’ मा वेलकम टि र सामान्य खाजाले स्वागत गरिनेछ । साँझ क्याम्प फायरसहित खानाको ब्यवस्था गरिनेछ । भोलिपल्ट बिहान चिया वा कफी पिएर हाइकिङ गर्दै हजार सिँढी हुँदै धुलिखेलको देवीस्थानमा रहेको काली देवीको दर्शन तथा शान्ति बनमा रहेको बुद्ध मूर्तिको अवलोकन गराइनेछ । होटलमा फर्केपछि होटलमा ब्रेकफास्ट खाएर साहसिक जिपलाइन खेलका लागि लगिनेछ । साहसिक खेल जिपलाइनको मज्जा लिएपछि होटलमा फर्केर खानाको ब्यवस्था गरिनेछ । सोही साँझ धुलिखेलको पुरानो बजारमा हुने लाखे नाच हेर्नका साथै नेवारी साँस्कृतिक झल्काने धुनको मनोरञ्जन लिएपछि रात्री खानाको ब्यवस्थापन गरिनेछ । भोलिपल्ट बिहानको ब्रेकफास्ट पछि पर्यटकले होटल छोड्नुपर्नेछ ।
तेस्रो प्याकेजमा ‘तीनधारे झरना’ मा पर्यटकलाई आउने वित्तिकै वेलकम टि र सामान्य खाजाले स्वागत गरिनेछ । साँझ धुलिखेलको लखनडबलीमा लाखे नाच देखाइ होटलमा खानाको ब्यवस्था गरिनेछ । भोलिपल्ट ब्रेकफास्ट खाजा खाएर तीनधारे झरनाको यात्राको लागि लगिनेछ । तीनधारे झरनामा नै लन्च प्याक लैजाने ब्यवस्था गरिएको तीनधारे झरनामा रमाएर लन्च प्याक खाँदा एक प्रकारको मिनी पिकनिकको आनन्द लिन सकिनेछ । झरनाको अवलोकन गरेर फर्केपछि उक्त रात होटलमा बास बस्ने र भोलीपल्ट बिहान ब्रेकफास्टपछि होटल छोड्नुपर्नेछ ।
संघले दम्पतीलाई लक्षित गर्दै रिसोर्ट एण्ड फुल सर्भिस होटल र बजेट एण्ड भ्यालु होटल गरी दुई खाले होटललाई लक्षित गर्दै प्याकेज घोषणा गरेको हो । संघले कल्चर एण्ड नेचर प्याकेजमा ४ हजार ५ सय देखि दश हजार, फिलिङ सुपरम्यान प्याकेजमा १० हजार ५ सयदेखि २० हजार रुपियाँ र तीनधारे झरना प्याकेजमा १२ हजारदेखि २२ हजार रुपियाँको प्याकेज सार्वजनिक गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?