कास्की समाचारदाता
कास्की, मङ्सिर २४ गते । लमजुङबाट सुरु हुने अन्नपूर्ण पदयात्रा अहिले मनाङको कङसारसम्म मोटरबाटो पुगेपछि यात्रा छोटिएको छ । अन्नपूर्ण राउन्ड पास गरिसकेपछि मुस्ताङको मुक्तिनाथ मन्दिरभन्दा माथि फेदीसम्म मोटरबाटो पुगिसकेको छ । करिब २१० किलोमिटर लामो यो पदयात्रा छोटिएर करिब ३० किलोमिटरमा झरिसकेको छ ।
यो पदयात्रामा हिँड्ने पर्यटकले जनही डेढदेखि दुई लाख रुपियाँ खर्च गर्थे । अहिले मोटरबाटोले यात्रा छोटिएपछि पर्यटकले पर्यटकले १५ देखि २० हजार रुपियाँमा नै यात्रा पूरा गर्ने गर्छन् ।
छोटो पदयात्रामा अन्तर्राष्ट्रिय क्षेत्रमै प्रसिद्ध घोरेपानी पुनहिल पदयात्रा पनि छोटिएको छ । यो पदयात्रामा पर्ने घान्दु्रक, लान्दु्रकसम्म मोटरबाटो सञ्चालन भएपछि पदयात्राको दूरी घटेको हो । पदयात्राका लागि अर्को प्रसिद्ध सिक्लेससम्म पनि अहिले गाडीमै यात्रा हुन्छ । अन्नपूर्ण सर्किट र घोरेपानी पुनहिल पदयात्रालाई मात्र होइन, नेपालका धेरै पदमार्गमा मोटरबाटोले असर गरेको छ ।
नेपालमा आउने पर्यटकमध्ये धेरै पर्यटक पदयात्राका लागि आउँछन् तर पछिल्लो समय पदयात्रा गर्ने मार्ग नै पछ्याउँदै मोटरबाटो खनिदिँदा पदयात्राको दूरी खुम्चिन पुगेको हो । नेपालमा विदेशी पर्यटकको बसाइ लम्ब्याउने भनिरहँदा विभिन्न पदमार्गमा पदयात्राका लागि आउने पर्यटकको बसाइ बढ्नुको सट्टा घट्ने गरेको छ ।
म्याग्दीको तातोपानी कुण्डमा व्यवसाय गर्नुभएका अमृत शेरचन मोटरबाटोका कारण व्यवसायमा ठूलो असर परेको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “जबदेखि मोटरबाटो खुल्यो विदेशी पर्यटक आउन छोडे । पहिला वर्षमा २५ देखि ३० हजार पर्यटक आउँथे । अहिले दुई हजारदेखि दुई हजार पाँच सयमा मात्र सीमित भएको छ । त्यही पनि कोभिडका कारण आउन छाडे । ” पदमार्गमा मोटरबाटोले गरेको असरले विदेशी पर्यटक नगण्य छन् । पहिला ९० प्रतिशत विदेशी र १० प्रतिशत नेपाली हुने गर्थे भने अहिले उल्टो अवस्था छ ।
मोटरबाटोले सडक धुलाम्मे भएकाले पर्यटक आउन नचाहेको शेरचन बताउनुहुन्छ । शेरचन मात्र नभई पदमार्ग क्षेत्रमा व्यवसाय गर्ने अन्य धेरै व्यवसायी विस्थापित भएका छन् ।
कोभिड–१९ का कारण यतिबेला नेपालमा पर्यटक आउने अवस्था नभए पनि आगामी दिनमा पदमार्ग जोगाउनका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल
(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ पोखराका अध्यक्ष सुशील पौडेलले बताउनुभयो । पदयात्रा र मोटरबाटो फरक हुनुपर्ने हो, उहाँले भन्नुभयो, “तर पदमार्गबाटै मोटरबाटो खन्ने गरिएकाले पदयात्रा छोटिएको छ । ”
अव्यवस्थित मोटरबाटोले पदमार्ग मासिएका छन् । नेपालका कतिपय पदयात्रा संसारमै लोकप्रियमध्येमा पर्छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध पदयात्रामध्येमा पर्छ अन्नपूर्ण सर्किट । योे मोटरबाटोको चपेटामा पर्न थालेको छ । २१ दिनसम्मको प्याकेजमा यात्रा गरिने यो रुट अहिले घटेर चारदेखि पाँच दिनमा पूरा गर्न सकिन्छ ।
आठ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गर्नुभएका फ्रान्सका नागरिक मौरिज हर्गोजको नाममा स्थापना भएको पदमार्ग सञ्चालनका लागि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज टे«ल’ सञ्चालनको तयारी गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका, नेपाल पर्यटन बोर्ड र टानका प्रतिनिधिलगायतको २५ जनाको टिम स्थलगत अध्ययन गरी शनिबार फर्किएको हो ।
पर्यटन बोर्डका सदस्य विप्लव पौडेल २१ दिनको पदमार्ग १० दिनमा झर्नु दुःखद भएको बताउनुहुन्छ । बाटो निर्माणले पर्यटकको बसाइ घटाएको उहाँको दाबी छ । हिमालका सुन्दर दृश्य डाँडाकाँडा हेर्न चाहनेलाई धुलोधुवाँ प्रदूषणले उत्तिकै असर गरेको छ जसका कारण पदमार्ग हुँदै हिमाल डाँडाकाँडा हेर्दै जाने सोचका साथ नेपाल आएका पर्यटक पनि गन्तव्य नपुगी फर्कन्छन् । बल्लतल्ल जाने पनि अरूलाई नजाने सिफारिस गर्छन् ।
पोखराको लेकसाइडमा ‘थ्रि सिस्टर ट्रेकिङ एजेन्सी’ सञ्चालन तथा पर्यटन व्यवसायी लक्की क्षेत्रीले पदमार्गमा मोटरबाटो निर्माण भएपछि धेरै स्थानीय महिला व्यवसायीले व्यवसाय छोडेर विस्थापित भएको गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, “पदयात्री सानासाना गाउँ हुँदै जान्थे । धेरै मोटरबाटो बनिसक्दा ठूला होटललाई फाइदा भए पनि त्यहाँ पसल, होटल रेस्टुरेन्ट थाप्ने र गर्जो टार्ने साना व्यवसायी महिला विस्थापित भएका छन् । ”
मोटरबाटो बनेपछि वैकल्पिक पदमार्गको व्यवस्था पनि गर्नसकेमा धेरै राम्रो हुने उहाँको सुझाव छ । पहिलाको तुलनामा अहिले पदमार्गमा कम पर्यटक आउने गरेका कारण व्यवसाय पनि राम्रोसँग सञ्चालन गर्न नसकेको म्याग्दीको शिखामा होटल व्यवसाय गर्नुभएकी सोफी पुनले बताउनुभयो ।
म्याग्दी अन्नपूर्ण गाउँपालिका–४ का अध्यक्ष डमबहादुर पुन अन्नपूर्ण–५, खोप्राङमा अहिले एउटा मात्र होटल रहेको र त्यहाँ कम्तीमा पनि १५ वटा होटल सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “पदमार्ग छोटिँदा व्यवसायी त विस्थापित भए नै पर्यटकको सङ्ख्या पनि घट््यो । केही आइहाले पनि खान बस्न होटलको समस्या छ । ”
अध्यक्ष पुनले पोखराबाट आएका टानलगायत पर्यटनसँग आबद्ध संस्थाका २५ जना प्रतिनिधिको टोलीसँग अन्नपूर्ण नर्थ बेसक्याम्प नयाँ पदमार्ग खोल्ने तयारीका लागि सो स्थानमा पुगेको जानकारी गराउनुभयो । उहाँले अब बन्न लागेको उक्त पदमार्गमा जान तीन दिन र फर्कन दुई दिन गरी पाँच दिन लाग्नेछ ।
नयाँ पदमार्ग पहिल्याउन सकिन्छ : पर्यटन बोर्ड
पुराना पदमार्ग नाशिँदै गए पनि विकल्पमा नयाँ पदमार्ग पहिल्याउन सकिने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख काशी भण्डारी बताउनुहुन्छ । उहाँले मोटरबाटो खुलेपछि मुक्तिनाथमा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको बताउनुभयो । बाटोको असुविधा भोग्ने गरेका स्थानीयवासी बाटो निर्माणपछि खुसी रहेको उहाँको भनाइ छ ।
उहाँले पुरानो पदमार्ग विस्थापित भयो भनेर चिन्तित नभई नयाँ पदमार्गको खोजी गरिनुपर्ने भण्डारी बताउनुहुन्छ । उहाँले अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने ‘मौरिज हर्गोज टे«ल’ सञ्चालनको तयारी भइरहेको बताउँदै टुरिजम बोर्ड यस्तो अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।