सरोज ढुङ्गेल
काठमाडौं,पुस ११ गते । देशकै दोस्रो अग्लो पोकली झरनालाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरिनुपर्नेमा जोड दिइएको छ ।ओखलढुंगा लिखु गाँउपालिकामा रहेको पोकली झरना १३१ मिटर अग्लो छ । नेपाल सरकारले उक्त झरनालाई उत्कृष्ट एकसय गन्तव्यभित्र राखेर पर्यटन प्रवर्द्धन गरिरहेको छ ।
शनिबार पोकली झरना सेवा समाजले निर्माण गरेको पोकली झरना सम्बन्धी ‘बृत्तचित्र’ को उद्घाटन कार्यक्रममा विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसाथ पूर्वाधार विकास र प्रचार प्रसार गर्नुपर्ने बताइयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पोकली झरनालाई आन्तरिक तथा बाह्य पर्यटक आगमन केन्द्रको रुपमा विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले केन्द्र,प्रदेश र स्थानीय तहको समन्वयमा झरनालाई प्रचार गरिनुपर्नेमा जोड दिदै आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तब्यको रुपमा रहेको पोकली झरना र आसपासको क्षेत्रलाई विश्वबजारसम्म प्रवर्धन गर्न सबैखाले अभियान सञ्चालन गरिनुपर्ने बताउनुभयो ।
उहाँले पोकली झरना उत्कृष्ठ पर्यटकीय गन्तब्य रहेको भन्दै ओखलढुङ्गा अनुपम प्राकृतिक सुन्दरताको केन्द्रविन्दु भएकाले देशी विदेशीको रोजाइमा पर्ने गरेको बताउनुभयो । सचिव कोइरालाले सरकारले महत्वपूर्ण झरनाको रुपमा स्वीकारेको भन्दै अब त्यसको प्रवर्द्धनमा गुरुयोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
पोकली झरना सेवा समाजका अध्यक्ष मिलन विष्टले पोकली झरना विश्वस्तरमा चिनिएको भन्दै त्यसलाई प्रवर्धन गर्न आवस्यक रहेको बताउनुभयो । उहाँले सगरमाथाको गन्तव्यस्थल ओखलढुंगा रहेको भन्दै यसलाई व्यापक प्रचार गराउनुपर्ने बताउनुभयो । उहाँले झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरी विश्वभर प्रवर्धन गर्ने उद्देश्यले बृत्तचित्र निर्माण गरिएको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले प्राकृतिक सुन्दरता, जातीय सांस्कृतिक विविधतायुक्त पकली झरना र आसपासको क्षेत्रलाई पर्यटकीय गन्तब्यको रुपमा विकास गरी प्रचार प्रसारका निम्ति बोर्डले सक्दो सहयोग गर्ने बचन दिनुभयो ।
वृत्तचित्रमा पोकली झरनाको सौन्दर्यता, प्राकृतिक तथा जैविक विविधता, स्थानीय, जातजाती, जनजीवन, संस्कृति, रहनसहन आदि विषयवस्तुलाई समेटिएको छ ।
सरकारले पोकली झरनालाई एक सय गन्तव्यको सूचीमा राखेर प्रवद्र्धन गरिरहेको छ । देशकै दोस्रो अग्लो पकली झरनाको विकासका लागि गतवर्ष संघीय सरकारले रु २५ लाख, प्रदेश सरकारबाट रु ५० लाख र गाउँपालिकाबाट रु १० लाख बजेट विनियोजन गरिएको थियो । उक्त रकम पर्यटकीय पूर्वाधारमा खर्चिएको छ ।
पर्यटकीय पूर्वाधार निर्माणमा खर्च गर्नेगरी पोकलीको विस्तुत गुरुयोजना तयार गरिनेछ । महासचिव शम्भु बरालले झरना क्षेत्रमा ‘फन पार्क’, सिँढी निर्माण तथा त्यस क्षेत्रमा २५ वटा घरबास कार्यक्रम ‘होमस्टे’ बसपार्क निर्माणलगायत ऐतिहासिक सम्पदाको संरक्षणका लागि आवश्यक पूर्वाधार निर्माणका लागि विस्तृत अध्ययन भइरहेको समाजका जानकारी दिनुभयो ।
समुद्री सतहदेखि करीब दुई हजार २०० मिटर उचाइको सो झरना १३१ मिटर उचाइको छ । कर्णाली प्रदेशको कालिकोटस्थित १४८ मिटर उचाइको पचाल झरना नेपालको पहिलो उचाइको र पोकली दोस्रो झरना हो । काठमाडौँबाट १७४ किलोमिटर दुरीमा रहेको पोकली झरनासम्म यातायातको पहुँच छ । काठमाडाँैबाट सिन्धुलीको खुर्कोट, रामेछापको मन्थली हुँदै झरनास्थल पुग्न सकिन्छ ।