logo
२०८१ मंसिर ११ मंगलवार



नयाँ वर्षमा कुरीका होटल भरिभराउ

पर्यटन |


नयाँ वर्षमा कुरीका होटल भरिभराउ



दोलखा समाचारदाता

चरीकोट, पुस १८ गते । बन्दाबन्दीको कारण लामो समयदेखि बन्द रहेका दोलखाको कालिञ्चोक कुरीका होटल वर्षकै पहिलोपटक भरिभराउ भएपछि होटल व्यवसायी खुसी भएका छन् ।
नयाँ वर्ष मनाउनका लागि काठमाडौँ, तराई तथा भारतबाट समेत कालिञ्चोक क्षेत्र पुगेकाले कुरीका होटलहरू भरिभराउ भएको हाइल्यान्ड होटलका सञ्चालक यम पाख्रिनले बताउनुभयो । उहाँका अनुसार कुरीमा रहेका सबै होटल एक हप्ताअघि देखि नै सबै बुकिङ भएका छन् । यस वर्ष पहिलोपटक होटलहरू पूर्ण क्षमतामा सञ्चालनमा
आएका छन् ।
नौ महिनादेखि बन्द रहेका मठमन्दिर एक महिनाअघि खुलेसँगै कालिञ्चोकमा रहेको केबुलकार शुक्रबार, शनिबार र बिदाका दिनमा पूर्ण क्षमतामा सञ्चालन हुन थालेको छ । गत असोज महिनापछि दोलखामा सबैभन्दा बढी पर्यटक काठमाडौँबाट आउने गरेका छन् ।
दोलखामा आउने पर्यटक मुख्य गरी भीमेश्वर मन्दिर, कालिञ्चोक र शैलुङमा आउने गरेका छन् । कालिञ्चोक र शैलुङमा यस वर्ष अहिलेसम्म हिउँ परेको छैन । हिउँ परेपछि हिउँ खेल्नकै लागि पनि पर्यटक आउने हुँदा हिउँको पर्खाइमा व्यवसायी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?