logo
२०८१ मंसिर ११ मंगलवार



फस्टाँउदै ग्रामीण पर्यटन, कोभिडपछि आन्तरिक पर्यटन चलायमान

पर्यटन |


फस्टाँउदै ग्रामीण पर्यटन, कोभिडपछि आन्तरिक पर्यटन चलायमान


विवेक राई
भोजपुर, माग ७ गते । प्रकाश राईलाई यतिबेला पाहुनाको भीड थेग्न मुस्किल छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका २, छिनामखुका राईले ५ वर्षअघि करिब १५ लाखको लगानीमा जिल्लामै पहिलोपटक ‘गोठेसिं होमस्टे’ सञ्चालनमा ल्याउनुभएको हो । अग्लो स्थान, रमणीय वातावरण, स्वच्छ हावापानीसंगै अग्र्यानिक खानाबाट आगन्तुकहरुलाई सन्तुष्ट तथा नयाँ स्वाद दिन राईले होमस्टे सञ्चालनमा ल्याउनुभएको हो ।
आफ्नो ५७ रोपनी जमिनमा बनाएको होमस्टे सञ्चालनका लागि प्रदेश सरकार अन्र्तगत कृषि मन्त्रालयले आर्थिक वर्ष ०७६÷७७ मा २६ लाख ६२ हजार वजेट व्यबस्था गरेको थियो । उक्त बजेटले पाहुनाघर, माछापोखरी, सजावटका सामाग्री व्यवस्थापन गरिएको छ । होमस्टेमा अहिले दैनिक तीन सयको हाराहारीमा पर्यटक आउने उहाँले बताउनुभयो ।
कोभिड १९ का कारण ठप्प भएको पर्यटन करिब दुई महिनाअघिबाट पर्यटकको चहलपहल बढ्न थालेको राईले सुनाउनुभयो । पर्यटकको चहलपहलसँगै व्यवसाय पुनः तंँग्रिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लकडाउनले व्यावसाय चौपट नै भयो, अहिले पाहुनाहरु आउने क्रम बढेकाले व्यवसाय पहिलेकै तुलनामा चल्न थालेको छ’
कोरोनाले सुस्ताएको चहलपहल गत असोज ५ गतेबाट केहि खुकुलो बनेसँगै पर्यटकको पनि आवागमन बढेको थियो । पर्यटकीय स्थानहरुमा पर्यटकहरुको दिनहुँजसो भीड लाग्ने गरेको छ । फुर्सदिलो समयमा परिवार, साथिभाईसँग उत्सव मनाउन र मानसिक बोझ कम गर्न घुम्न आउने गरेको भोजपुर नगरपालिका ११, आम्तेकका पर्शुराम ओझाले सुनाउनुभयो । ‘लकडाउनमा बाहिर निस्कन पाइएन, मानसिक बोझले थलाएको महसुस हुन्थ्यो, माइन्ड फ्रेस गर्न, रमाइलो गर्नैका लागि पनि टेम्के घुम्न आयौँ’ उहाँले भन्नुभयो ।
एकसय पर्यटकीय गन्तव्यमा सुचिकृत टेम्केडाँडा मुन्दुम पदमार्गसँगै मध्यपहाडी लोकमार्गको पहुँच पनि भएकाले बाह्य पर्यटकको आवागमनमा समेत बृद्धि भएको छ । यतिबेला टेम्के चखेवा आसपासमा रहेका होटलहरुमा आन्तरिक पर्यटकको भरिभराउ छ ।
पर्यटन प्रवर्धनका लागि टेम्केमैयुङ गाउँपालिकाले होमस्टे व्यावसायका लागि बिजुली र सडक विस्तार गरेको छ । पर्यटन विकासका लागि गाउँपालिकाले वर्सेनि विभिन्न योजनाहरु ल्याएको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताउनुभयो ।
नजिकै पर्ने ३१ सय मिटर अग्लो टेम्केडाँडा, चखेवाभञ्ज्याङ, मलुवापोखरीसंगै मकालु, कञ्चनजंगा, ल्होत्से लगायत हिमश्रृंखलाहरुको सुन्दर दृश्यावलोकनले पर्यटकको आवागमन बढाईरहेको छ । पर्यटकहरु भित्रिने क्रम बढेसंगै होटल व्यावसायमा लगानी बढिरहेको छ । चखेवाभञ्ज्याङ नजिकै टेम्के बेसक्याम्पमा गेष्टहाउसहरु खुल्ने तयारीमा छ ।
स्थानीय पावीहाङ राईले उक्त स्थानमा ‘लिन्चेनबुङ रिसोर्ट एण्ड गेष्ट हाउस’ सञ्चालन गर्न लागेका हुन् । पछिल्लो समय नेपालीमा घुमफिर गर्ने संस्कारको विकास भएसँगै होटल व्यावसायीहरुलाई आम्दानीका लागि पर्यटन एकमात्र उत्तम विकल्प बन्न थालेको छ । यसका साथै पूर्वको पशुपति भनेर चिनिने खोटाङको हलेसी जाने मुख्य नाका भएकाले पनि बर्षेनी सयौँ धार्मिक पर्यटकको आउजाउ हुने गर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?