इलाम, माघ १२ गते । कोरोनापछि पर्यटकीय क्षेत्र डाँवाडोल बन्यो । बन्दाबन्दीका कारण पर्यटकीय क्षेत्रमा पर्यटक पुग्न छाडे । पर्यटकको सत्कारका लागि खटिने पर्यटनकर्मी बेकामे बने । व्यापार चलाउन नसक्दा होटल घर बन्द हुने अवस्थामा पुगे । बन्दाबन्दीका कारण धेरै पर्यटनकर्मीको हातमुख जोड्ने माध्यम खोसियो । पर्यटकीय क्षेत्र उठ्न धेरै समय लाग्ने र लामो सङ्घर्ष गर्नुपर्ने चर्चा चल्योे । यसको विपरीत बन्दाबन्दीपछि स्थानीय पर्यटकको चहलपहल अत्यन्तै बढ्यो । स्थापित पर्यटकीय क्षेत्रमा मात्र नभई नयाँ क्षेत्रमा समेत पर्यटक ह्वात्तै बढे ।
चार महिना घरमै थुनिएका मानिसलाई बन्दाबन्दीपछि घुम्ने क्षेत्र आवश्यक पर्यो । त्यसैले आन्तरिक पर्यटकीय क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति देखिन थाल्यो । घर वरपरका सामान्य चर्चा हुने पर्यटकीय क्षेत्रमा पर्यटक रम्न पुगे । जिल्लाका सन्दकपुर, श्रीअन्तु, माईपोखरीलगायतका क्षेत्रमा त भीड नै लाग्यो तर गुमनाम पर्यटकीय क्षेत्रमा चहलपहल बढेपछि पर्यटनकर्मी र स्थानीय तह भौतिक निर्माण र व्यवस्थापनमा जुटेका छन् । हुन त पछिल्लो समय केही पर्यटकीयस्थल चलचित्र र म्युजिक भिडियोको सुटिङ क्षेत्र बनेर पनि चर्चामा आए । सुटिङ स्पट भन्दै सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती तस्वीर सङ्ग्रहित भए । यसैले धेरै पर्यटक सोही क्षेत्र पुगे । जिल्लामा नयाँ पहिचान बनाएका पर्यटकीय क्षेत्र दिदीबहिनी झरना, पानीटार, पाटेनागी, झण्डे डाँडा, गुफाथुम्की मुख्य हुन् ।
बन्दाबन्दीअघि सामान्य चर्चा कमाएका यी क्षेत्र पछिल्लो समय एकाएक चर्चामा पुगेका हुन् । इलाम नगरपालिकाको दिदीबहिनी झरना पछिल्लो समय अत्यन्तै बढी पर्यटक पुग्ने मुख्य गन्तव्य क्षेत्र हो । विशेषगरी शुक्रबार र शनिबार यस क्षेत्रमा पर्यटकको चहलपहल चल्छ । उस्तै झरना, एकै ठाउँमा भएकाले यी झरनालाई दिदीबहिनी झरना भनिएको हो । सदरमुकाम नजिकै रहेकाले पनि यहाँ पर्यटकको बाक्लो उपस्थिति रहने गरेको पर्यटनकर्मी सोम सुनुवारको भनाइ छ । सुगम सदरमुकाम नजिक र छोटो बाटो भएकाले पनि आन्तरिक पर्यटक पुग्ने गरेको सुनुवारको भनाइ छ ।
यस्तै सुटिङस्थलका रूपमा चर्चामा आएको पानीटारमा पनि पर्यटकको आइरो लाग्ने गरेको छ । ‘मिनी कन्याम’का रूपमा विकास भइरहेको पानीटारमा चर्चित म्युजिक भिडियो ‘तीन पाते’को सुटिङ क्षेत्र हो । आँखा नबिझाउञ्जेल हेरिरहुँ लाग्ने, केही अग्लो र केही होचो चियाबारीले जिल्लाभित्रका पर्यटकलाई बढी तानेको छ । म्युजिक भिडियोपछि ‘कृष्णलीला’ चलचित्र यो स्थानमा सुटिङ भयो । चलचित्रको सुटिङपश्चात् झनै पर्यटकको उपस्थिति बाक्लिएको स्थानीय पर्यटनकर्मीको भनाइ छ । चलचित्रका लागि यो ठाउँको दृश्य खिचियो तर सामाजिक सञ्जालमा देखिन थालेपछि चलचित्र नसकी नै सोही क्षेत्र चर्चा आएको हो । “हामीले चलचित्रबाट पर्यटकीय क्षेत्रको प्रवर्धन गर्न यहाँ (पानीटार) आएका थियौँ तर, सामाजिक सञ्जालमा आएपछि पर्यटकको लर्केताँत लाग्यो”, ‘कृष्णलीला’का निर्माता केवल तामाङले भन्नुभयो, “चलचित्र रिलिज हुनुअघि नै पानीटारमा पर्यटक पुग्न थाल्नुभयो । अब चलचित्रमा समेत देखिएपछि त झनै बढ्छन् ।”
वनभोजस्थलका रूपमा विकास भइरहेको पानीटारमा छुट्टीमा झण्डै २०० पर्यटक एकै दिन पुग्ने गरेका छन् । यो क्षेत्रमा अझै पनि व्यवस्थित खाने र बस्ने ठाउँको अभाव छ । यसैले पर्यटक लामो समय रहन सक्दैनन् तर पर्यटकको चहलपहल बढ्न थालेपछि भौतिक संरचनाको निर्माणमा लागेको पर्यटनकर्मी पासाङ शेर्पा बताउनुहुन्छ ।
यस्तै पछिल्लो समय कहलिएको पर्यटकीय क्षेत्र हो इलाम नगरपालिकाको पाटेनागी । उच्च पहाडी क्षेत्रमा पर्ने यो क्षेत्र हिमाल हेर्न र स्थानीय परिकार चाख्न बढी पर्यटक पुग्ने गरेका छन् । पाटेनागीको केही तलसम्म कच्ची सडक पुर्याएपछि त झनै पर्यटकको चहलपहल बाक्लिएको छ । दैनिक यो ठाउँमा १५ देखि २० आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
स्थानीय तहले नचिनेका पर्यटकीय क्षेत्र
विशेषगरी स्थानीय तहको आँखा नपुग्दा धेरै पर्यटकीय क्षेत्र पछि परेको देखिन्छ । भौतिक निर्माण (बाटो, अवलोकन गर्ने स्तम्भ)को अभावमा अझै केही पर्यटकीय क्षेत्रमा पुग्न सकस छ । जिल्लाको सन्दकपुर गाउँपालिकामा पर्ने छिन्टापु, टोड्के झरनालगायतका सुन्दर पर्यटकीय क्षेत्र अझै पनि पर्यटकको प्रतीक्षामा छन् । टोड्के झरना जिल्लाकै अग्लो झरना हो तर झरनासम्म पुग्ने सडक अझै बनेको छैन । भिरालो जङ्गलको बाटो छिचोल्नै झरना पुग्न कष्टकर छ तर यसप्रति कसैको ध्यान गएको देखिँदैन ।
जिल्लाका योभन्दा साना झरना चर्चामा आए पनि टोड्के झरनामा ध्यान पुगेको छैन तर गाउँपालिकाका प्रवक्ता गिरिराज खनालले भने पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा पालिका लागिरहेको बताउनुभयो । उहाँका अनुसार निकट भविष्यमै यो स्थानमा सडक पुग्नेछ । “केही भवन यहाँ बनिएका छन् । आवश्यकतानुसार अन्य भवन बनाउँछौँ । अब यो क्षेत्र गुमनाम हुँदैन”, खनालले भन्नुभयो ।
यस्तै अर्को पर्यटकीय क्षेत्र छिन्टापु पनि हालसम्म गुमनाम छ । यो क्षेत्रमा पर्यटक होइन, स्थानीयवासी पनि पुग्न सकस छ । बाक्लो जङ्गलको कष्टकर बाटो हिँडेर जानुपर्ने भएकाले बाटो अल्मलिने समस्या ज्यादै धेरै हुन्छ । हालसम्म सडकसमेत नपुगेका कारण छिन्टापुमा छिटपुटबाहेक पर्यटक पुग्न सक्दैनन् । यो क्षेत्र विकासका लागि पनि गाउँपालिकाले योजना बनाएको प्रवक्ता खनालको भनाइ छ । छिन्टापुको नजिक रहेको सन्दकपुरमा पर्यटकको बाक्लो उपस्थिति हुन्छ । बिहान बेलुकै सन्दकपुरमा आन्तरिक मात्र नभई बाह्य पर्यटकको भने चहलपहल हुन्छ तर नजिकै रहेको यस्तै क्षेत्र छिन्टापु कसैको आँखामा पर्दैन । उच्च पहाडी तथा हिमाली क्षेत्रको समेत यस ठाउँबाट दृश्यावलोकन गर्न सकिन्छ । बहुमूल्य जडीबुटी पाइने क्षेत्रका रूपमा पनि छिन्टापु चर्चित छ । स्थानीय तहको आँखा पुगे चर्चित पर्यटकीय क्षेत्रका रूपमा प्रख्यात हुनसक्छ ।
छिन्टापुजस्तै पानीटारमा समेत स्थानीय तहको उपस्थिति नगन्य मात्रामा छ । निजी क्षेत्रको प्रोत्साहनले चर्चित भएको यो क्षेत्रमा स्थानीय तह (देउमाई नगरपालिका)को ध्यान नपुग्दा भौतिक संरचनाको निर्माण हुनसकेको छैन । यता नगरपालिकाले पनि पानीटारमा मात्र नभई पर्यटकीय क्षेत्रमा आफ्नो ध्यान नगएको स्वीकारेको छ । नगरका प्रवक्ता दावा तामाङले आफूहरू सडक निर्माणका काममा खटिएकाले पर्यटनमा ध्यान नगएको बताउनुभयो ।