टीकाराम उप्रेती
झापा, माघ १६ गते । थोरै लगानीमा चाँडो सहज रुपमा निर्माण गर्न सकिने भएपछि झापामा झोलुङ्गे पुलको आर्कषण बढ्दै गएको छ । पछिल्लो समय दुर्गम क्षेत्रलाई सुगम बनाउन प्रभावकारी बन्दै छन्, झोलुङ्गे पुल । हालसम्म जिल्लाका विभिन्न नदीमा गरी कुल २५ वटा पुल निर्माण सम्पन्न भएका छन् । सो सँगै १२ वटा निर्माणाधीन अवस्थामा रहेका गरी जम्मा ३७ वटा पुल निर्माण प्रकृयामा रहेका छन् ।
जिल्लामा संघीय सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्र्तगत ३० वटा पुल निर्माण भएका छन् । त्यस्तै प्रदेश सरकारमार्फत् ७ वटा पुल निर्माण गरिएको छ । झोलुङ्गे पुल निर्माण गर्दै आएको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख सिनियर डिभिजन इञ्जिनियर रमेशकुमार श्रेष्ठका अनुसार जिल्लामा २५ वटा पुल निर्माण सम्पन्न भएका छन् । यो आर्थिक वर्षभित्रमा नै बाँकी पुलको निर्माण कार्यसमेत सम्पन्न गर्ने लक्ष्य रहेको इञ्जिनियर श्रेष्ठले बताउनुभयो । जिल्लामा ३७ वटा पुलको कुल १९ करोड ८७ लाख रुपैयाँ बजेट लागत रहेको जनाइएको छ ।
विभिन्न नदीमा पुल तर्न सहज नभएका कारण नै धेरैले ज्यान गुमाएका थिए भने जोखिम मोलेर नै नदी वारपार गर्नु पर्ने बाध्यता रहेको थियो । नदीमा पुल नभएका कारण नै जोखिम मोलेर तर्ने क्रममा झापाको कमल गाउँपालिका १ का लखन टुडु करिव १० वर्षभन्दा बढी भयो बेपत्ता भएको । गौरादह बजारमा किनमेल गरेर घर फर्कंदै गर्दा किस्ने खोलामा आएको बाढीले बगाएर बेपत्ता हुनुभएको थियो । यो घटनाका प्रत्यक्षदर्शी स्थानीय सुुरेन्द्र भण्डारीका अनुसार बर्षादको समय थियो । घर फर्कंदै गर्दा नदीमा आएको बाढीले बगाएर लगेको देखियो, तत्काल सबै लागेर खोजी गरियो, फेला पार्न सकिएन । उहाँ अहिलेसम्म नत फर्केर नै आउनु भयो, नत कतै शव नै फेला प¥यो ।
यही समस्यालाई मध्यनजर गर्दै प्रदेश १ सरकारको लगानीमा वेलीब्रिज निर्माण भएपछि यो क्षेत्रका मानिसको दशा टरेर गएको छ । बाँसको पुल समेत हाल्न सकिएको थिएन । घरका करिव एक किलोमिटरमात्र पश्चिममा रहेको गौरादह बजार आवतजावत गर्न नदीमा पुल नभएका कारण करिव ५ किलोभन्दा बढी क्षेत्र दक्षिण सोलमारि घुमेर जानु पर्ने बाध्यता रहेको थियो ।
कमल गाउँपालिका क्षेत्रका मानिसको बजार भर्ने र विद्यालय र औषधी उपचार गर्न समेत किस्ने खोला तरेर गौरादह बजार धाउनु पर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ । यो समस्यालाई सहज बनाउन र दुर्गम क्षेत्रबाट सुगम क्षेत्रलाई जोड्ने सजिलो माध्यम भएको छ, झोलुङ्गे पुल । यहाँ जस्तै पछिल्लो समय झापामा झोलुङ्गे पुल प्रभावकारी बन्दै गएको छ ।
मोटरसाइकल टेम्पो सिटी रिक्सा समेत आवतजावत गर्न सक्ने भएपछि यो पुलले आपतकालिन सुबिधा पुग्ने गरेको प्रभावित क्षेत्रका सर्वसाधारणको अनुभव छ । तत्काल पक्की पुल सडक पूर्वाधार निर्माण ठुुलो बजेट आवश्यक पर्ने हुन्छ । झोलुङ्गे पुल निर्माण गर्न सहज सानो बजेटले समेत हुने भएपछि तराईका जिल्लामा समेत यसको माग अत्याधिक रुपमा बढ्न थालेको छ ।
प्राधानमन्त्री केपी शर्मा ओलीले चुनावताका केही वर्षभित्रमा नै काठ र बाँसका पुल विस्थापित गरिने घोषणा गरिएसँगै जिल्लामा झोलुङ्गे पुल निर्माण तीब्रता पाएको छ । तत्काल पक्की पुल निर्माण गर्न नसकिने स्थानमा आवश्यकता अनुसार सस्पेन्डड ब्रिज, सस्पेन्सन ब्रिज र स्टिल गरी तीन प्रकारका झोलुङ्गे पुल निर्माण गरिएको छ ।