कोकिला ढकाल
इलाम, फागुन ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इलामका चारवटा पालिकामा पर्यटनसम्बन्धी आयोजना सञ्चालनका लागि स्थानहरु छनोट गरेको छ ।
मन्त्रालयले दुई सय गन्तव्य आयोजना सूचीमा इलामका देउमाई नगरपालिकास्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क, चुलाचुली गाउँपालिकाको शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र, माई नगरपालिकाको माई पर्यापर्यटन सिटी विकास परियोजना र सन्दकपुर गाउँपालिकाको माईपोखरी÷जोरपोखरी एकीकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजना सार्वजनिक गरेको छ ।
देउमाईस्थित आयोजनाका लागि ५० लाख रुपियाँ लागत साझेदारी र मन्त्रालयको ९४ लाख रुपियाँ लागत गरी एक करोड ४४ लाख रुपियाँ अनुमान गरिएको छ । चुलाचुली गाउँपालिकास्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र निर्माणका लागि एक करोड ५० लाख लागत साझेदारीमा मन्त्रालयको तीन करोड ५० लाख रुपियाँ गरी पाँच करोडको योजना अनुमान गरिएको छ । माई नगरपालिकाको माई पर्यापर्यटन सिटी विकास परियोजनाका लागि दुई करोड ४५ लाख रुपियाँको लागत साझेदारीमा मन्त्रालयको चार करोड ५५ लाख रुपियाँ लागत गरी सात करोड रुपियाँको योजना सार्वजनिक गरिएको छ ।
यस्तै सन्दकपुर गाउँपालिकाको माईपोखरी÷जोरपोखरी एकीकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजनामा एक करोड ५० लाख रुपियाँको लागत साझेदारीमा मन्त्रालयको तीन करोड ५० लाख रुपियाँ गरी पाँच करोड रुपियाँको योजना मन्त्रालयले सार्वजनिक गरेको छ ।
मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका ०७७ अनुसार लागत साझेदारीमा यी योजना सार्वजनिक गरिएको जनाएको छ । मन्त्रालयले माघ २९ गतेको निर्णयअनुसार देशभरका दुई सय पर्यटकीय गन्तव्य सूची तय गरेको हो ।
यसअघि गत वर्ष नै सरकारको सय गन्तव्य सूचीमा परेको सूर्योदय नगरपालिकाको कन्याम–अन्तु–फिक्कल सर्किटको काम अहिले धमाधम भइरहेको छ ।