नेपालगञ्ज, फागुन ५ गते । बर्दियाको बढैयाताललाई पर्यटकीयस्थलका रुपमा विस्तार गर्ने उद्देश्यले हाल धमाधम काम भइरहेको छ । यो ताललाई सरकारले पर्यटकीय गन्तत्वका रुपमा समेत सूचीकृत गरेको छ । मुलुकभरका २०० पर्यटकीय गन्तव्यमा यो ताल पनि पर्न सफल भएको छ ।
बढैयाताल गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयवासीले पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना अगाडि बढाएपछि अहिले बढैयातालको मुहार पनि फेरिँदै गएको छ । तालमा पिकनिक रिसोर्ट, तालसम्म पुग्ने बाटो, खानेपानी, बिजुली बत्ती, भ्युटावर निर्माण भइसकेका छ भने थप संरचना निर्माणको काम पनि योजनामा परेको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो ।
बढैयाताल बर्दियाको सबैभन्दा ठूलो तालका रुपमा छ । बाहै महिना तालमा पानी जम्मा भइरहने तालको मुख्य विशेषता हो । विभिन्न थरीका माछा, कमलको फूल, घाँसेमैदान, चराचुरुङ्गीको बासस्थानले ताललाई थप आकर्षक तथा रमणीय बनाएको छ । यसका साथै ताल क्षेत्रमा अरबियन सागरबाट चराहरू आउने भएकाले यसको आकर्षण अभैm बढेको छ । बढैयातालकै नामबाट गाउँपालिकाको नाम पनि बढैयाताल राखिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
केही वर्षअघि सम्म तालमा ठेक्कामा माछापालन हुँदै आएको थियो । माछापालनले गर्दा तालको विकास पछि पर्दै गएको थियो । गाउँपालिकामा जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि अहिले तालको विकासले फड्को मारेको देखेर स्थानीयवासी पनि खुशी भएको बढैयागाउँका स्थानीयवासी मेहिलाल थारू बताउनुहुन्छ ।
यो ताल गाउँपालिका–५ र ४ का बीचमा रहेको छ । ताल क्षेत्रमा थारू समुदायको बाक्लो बस्ती छ । थारू समुदायको पहिचानसँगै बढैयातालको इतिहास पनि जोडिएको छ । बढैयातालको विकाससँगै तालमा थारू सङ्ग्रहालय बनाउने योजनाले स्थानीयवासीको चासो झन् बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
यसैगरी, नेपालगञ्जको ऐतिहासिक रानीतलाउ अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षकको केन्द्र बन्दै गएको छ । डेढ दशकअघि सम्म जीर्ण अवस्थामा रहेको नेपालगञ्ज–८ स्थित प्रसिद्ध ऐतिहासिक रानी तलाउको नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्निर्माण गरेपछि नौका विहार गर्ने र रमणीय पार्कको अवलोकन गर्नेहरूको सङ्ख्या बढदै गएको छ ।
स्थानीय तह गठन भएपछि ऐतिहासिक रानीतलाउलाई पर्यटकीयरूपमा विकसित गर्दै लगिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । उहाँका अनुसार, उपमहानगरपालिकाको करिब रु २५ लाखको लागतमा पुनर्निर्माण गरेको पार्क अवलोकनका लागि पश्चिम नेपालका जिल्लाका साथै भारतीय सीमावर्ती क्षेत्रका नागरिक आउने गरेका छन् ।