logo
२०८१ मंसिर १० सोमवार



सोलुखुम्बुमा दुई पर्यटकीय स्थलको छनोट

पर्यटन |


सोलुखुम्बुमा दुई पर्यटकीय स्थलको छनोट


सोलुखुम्बु समाचारदाता

सोलुखुम्बु, फागुन १७ गते । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्नका लागि सोलुखुम्बुमा दुईवटा आकर्षक पर्यटकीय गन्तव्य छनोट गरिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको आकर्षक पर्यटकीय स्थल पत्तालेमा पार्क निर्माण र थुलुङ दूधकोशी गाउँपालिकाको सुकेपोखरी क्षेत्रलाई गन्तव्य सूचीमा समावेश गरेर आवश्यक बजेट लागत साझेदारीका आधारमा व्यवस्था गरिएको हो ।
सोलुदूधकुण्ड नगरपालिकाको सिफारिसमा मन्त्रालयको चार करोड ५५ लाख रुपियाँ र नगरपालिकाको दुई करोड ४५ लाख रुपियाँको लागत साझेदारीमा पर्यटकीय पार्क निर्माण हुने मेयर नाम्गेलजाङबु शेर्पाले जानकारी दिनुभयो । हाल पनि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा रहेको पत्तालेमा अझ व्यवस्थित गर्नका लागि पार्क निर्माण गर्न नगरपालिकाले सिफारिस गरेको थियो ।
पार्कमा वृक्षरोपण, बगैँचा, शौचालयलगायतका संरचना निर्माण हुने मेयर शेर्पाले बताउनुभयो । सगरमाथालगायतका दर्जनौँ हिमश्रृङ्खला अवलोकन गर्ने स्थानका रूपमा रहेको पत्तालेमा आवश्यक भौतिक पूर्वाधारको विकास गरी पर्यटनलाई प्रवद्र्धन गर्न लागेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै थुलुङ दूधकोसी गाउँपालिका–५, जुबुमा रहेको सुकेपोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले आवश्यक भौतिक संरचना निर्माण गर्न मन्त्रालयले दुई करोड ८० लाख रुपियाँ र गाउँपालिकाले एक करोड २० लाख रुपियाँ लागत साझेदारी गर्ने गरी बजेट पेस गरेको मन्त्रालयले जनाएको छ ।
जिल्लाको ऐतिहासिक, पुरातात्विक एवं रमणीय स्थल सुकेपोखरीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने भएपछि ओझेलमा परेको सुकेपोखरीको मुहार फेरिने र त्यस क्षेत्रका नागरिकहरूको जीवनस्तर उकास्न टेवा पुग्ने भएकाले खुसी ल्याएको स्थानीयले बताएका छन् ।
थुलुङ दूधकोसी गाउँपालिकाको ४, ५ र ९ नम्बर वडाको मुख्य क्षेत्रमा पर्ने सुकेपोखरीमा स्वदेशी तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष असीम राईले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?