नवीन शिशिर विक
बागलुङ, फागुन २५ गते । नेपालको एक मात्र शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष स्थापना भएको करिब ३८ वर्ष भयो । स्थापना भएको करिव चार दशक भए पनि आरक्षमा हालसम्म कुनै पनि नेपाली सिकारी शिकारका लागि पुगेका छैनन् ।
शिकारको लागि अन्तर्राष्ट्रिय शिकारीको नेतृत्व गरेर शिकार आरक्ष पुग्ने गरे पनि शिकार गर्न हालसम्म शिकार अनुमति लिएर वैधानिक शिकार आजको दिनसम्म कुनै पनि नेपालीले नगरेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो । विदेशीले शिकार अनुमति पत्र र नेपालीले जिल्ला शिकार अनुज्ञापत्र लिनुपर्ने हुन्छ ।
२०३९ सालमा स्थापना भएको आरक्षमा विश्वका विभिन्न देशका शिकारी शिकारको लागि आउने गरे पनि हालसम्म नेपाली शिकारीको भने उपस्थिति शून्य छ । वन्यजन्तुको शिकार आर्थिक रुपमा पनि बढी खर्चिलो भएको हुँदा नेपाली शिकारीको प्राथमिकतामा नपरेको हुनसक्ने प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ ।
नेपालका शिकारहरु उत्कृष्ट शिकार गर्न सक्छन उहाँले भन्नुभयो– राजश्वको दर बढी हुनाले नेपाली शिकार भित्र्याउन गा्रहो भएको छ । एउटा झरल वा नाउर मार्नको लागि राजश्वको अतिरिक्त बढी आर्थिक बोझ पर्ने हुँदा नेपालीको क्षमताभन्दा बाहिर छ।
एउटा नाउरको शिकार गर्न करिब ७० देखि ८० लाख रुपियाँ खर्च लाग्छ । राजश्व, भरिया र सहयोगीहरुको लागि आवश्यक खर्च बढी हुने कँडेलको भनाइ छ ।
आरक्ष पश्चिम नेपालमा धौलागिरी हिमश्रृंखला भित्र बागलुङ, रुकुम र म्याग्दी गरी तीन जिल्लामा फैलिएको छ , जसको क्षेत्रफल एक हजार तीन सय २५ वर्ग किलोमिटर रहेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले हरेक बर्ष शिकारको लागि नाउर र झारलको सो कोटा छुट्टाउने गरेको छ ।
शिकारको लागि विशेष गरी अमेरिका, जर्मनी, स्पेन, नर्वे, क्यानडा, दक्षिण अमेरिका लगायतका मुलुकबाट शिकारी ढोरपाटन पुग्ने गरेका छन् । सबैजसो शिकारी हेलिकप्टर मार्फत नै ढोरपाटन पुग्ने गरेको संरक्षण अधिकृत कँडेलले बताउनुभयो ।
आरक्षको फागुने, वार्षे, सेङ, दोगाडी, घुस्तुङ र सुनदह ‘ब्लग’ गरी ६ ब्लगमा शिकार खेल्ने गरिएको छ । अत्यन्तै विकट क्षेत्रमा रहेका सुनदह ‘ब्लग’मा भने धेरै कम मात्रामा शिकारी पुग्ने गरेका छन् ।
चालु आर्थिक बर्षको पहिलो सिजल (असोज–कात्तिक) मा १२ जना विदेशी शिकारीले शिकार अनुमति लिएका थिए । अमेरिका र ब्रिटिस नागरिक ३ जनाले झारल एक, नाउर दुई वटा नमारेकाले जम्मा नौ जनाले मात्र शिकार गरेका थिए ।