logo
२०८१ मंसिर १० सोमवार

  दृश्य समाचार  



आन्तरिक पर्यटक तान्दै पाेखराका गुफा

पर्यटन |


आन्तरिक  पर्यटक तान्दै पाेखराका गुफा


तारा चापागाईं
पोखरा, फागुन २६ गते । प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखराको चर्चित महेन्द्र गुफा र चमेरे गुफामा पर्यटकको संख्या बढ्दै गएको छ । गत वर्षमा विदेशी पर्यटकको संख्या धेरै हुने गरेकोमा कोभिडपछि भने विदेशी भन्दा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

कोभिडपछि पुनः पोखरा घुम्न आएका अरनिको माध्यमिक विद्यालय मोरङका विद्यार्थी गुफामा रमाउँदै तस्विर लिइरहेका थिए । नामले चर्चित गुफा प्रत्यक्ष देख्न पाउँदा खुशी देखिने ३२ जनाको समूह मध्येका दिपेन तामाङ प्रकृतिको सुन्दरता देखेर दङ पर्नुभयो । ‘यस्तो सुन्दर रमणीय आश्चर्यजनक गुफा पहिलो पटक हेर्ने मौका मिलेको छ, साँच्चिकै सुन्दर छ, निकै खुशी पनि लागेको छ ।’ तामाङले प्रतिक्रिया दिनुभयो ।
गुफा अवलोकन गर्न आएका भरतपुर १२ टोल सुधार समितिका ४० जना महिलाहरु पनि उत्तिकै उत्साही देखिन्थे । नाच्दै, गाउँदै र रमाउँदै गरेका उनीहरुमा कोभिडको महामारीपछि घुम्न निस्कँदाको खुशी अनुहारमा छचल्किएको थियो । शुभद्रा जमरकटेल र पावर्ती कुँवरले बाग्लुङजिल्लाको कालिका दर्शनपछि गुफा हेर्न पोखरा आइपुगेको बताउनुभयो ।
धनगडी कैलालीबाट भगवती सामुदायिक वनको टिम पनि महेन्द्र गुफा नजिकै रहेको चमेरे गुफाभित्र छिरेर आश्चर्य मान्दै निस्केका थिए । टिमका संयोजक आशिष बराल भन्नुहुन्छ, ‘गुफा भित्र त ठिकै हो, निस्कने ठाउँ सानो र गा¥हो भएकाले केही साथी डराएर फर्कनुभयो, केही नडराइकन छिरेर आउनुभयो । पोखराको यी दुई गुफाको बारेमा सुनेकोमा अहिले प्रत्यक्ष रुपमा राम्ररी देख्न पाउँदा खुशी लागेको छ ।’
नवलपरासी प्रगतीनगरबाट पोखरा आफन्तकोमा आउनु भएकी सृजना भुसाललाई गुफा कस्तो होला भन्ने कौतुहलता थियो । सोचे भन्दा फरक र रमाइलो अनुभव सुनाउँदै चमेरे गुफा भित्र छिर्दा खासै डर नलागेको बताउनुहुन्छ । “भित्र छिर्दा म एक्लै थिए ,अन्यत्रबाट आउनु भएका टिमहरु देखेँ उहाँहरुको साथले डर लागेन । गुफाबाट निस्कने ठाउँ भने साघुँरो भएकाले मोटो मान्छेहरुलाई गा¥हो हुन सक्ने उहाँको अनुमान छ ।
महेन्द्र र चमेरे गुफाका सचिवालयको सदस्य सचिव शिशिर पौडेलले पुस र माघमा भन्दा फागुनबाट पर्यटकको संख्या वृद्धि भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नौ महिना गुफा बन्द रह्यो, यही महिनाबाट पर्यटकको आगमन बढेको छ । यसैगरी चमेरा गुफाका कर्मचारी राजु नेपालीले दिनमा तीनचार सयको संख्यामा पर्यटक आउने गरेको बताउनुहुन्छ ।

२१ करोड ३३ लाखको गुरुयोजना

गुरुयोजना अनुसार दुबै गुफामा विभिन्न संरचनासँगै अन्य कामका लागि २१ करोड ३३ लाख रुपियाँ लाग्ने भएको छ । महेन्द्र गुफा र चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईका अनुसार २०७६ असारको गुरुयोजना अनुसार म्युजियम, बालबालिका लागि मनोरञ्जन भवन सँगै स्केट हल, लाईटिङ, गेट, पंच पल्लभ बन, गार्डेन, फुटपाथ, ढुङ्गेधारा, फाउन्टेन, कार्यालय भवन, स्काई ब्रिजलगायतका संरचना निमार्ण गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?