छेटु शेर्पा
काठमाडौं, चैत १० गते । सरकारले पहिचान गरी आरोहणका लागि खुल्ला गरेका हिमालमध्ये अझै पनि ७५ वटा हिमालको आरोहण हुन नसकेको भन्दै यसको प्रवद्र्धन गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । प्रर्वद्धन नहुँदा धेरै हिमालको आरोहण हुन नसकेको भन्दै सरकारले पहल गर्नुपर्ने माग व्यवसायीहरुले गरेका छन् । तथ्याङ्क हेर्दा सगरमाथा, मनास्लु लगायतका केही हिमालमा मात्र आरोहीको भीड लाग्ने गरेको छ ।
पर्वतारोहण पर्यटन व्यवसायी वाङछु शेर्पाले भौगोलिक हिसावले हिमालको प्रवर्धन हुन नसक्दा पर्यटन क्षेत्रको थप प्रवर्धन हुन नसकेको बताउनुभयो । सुदूरपश्चिम र पश्चिम क्षेत्रमा रहेका हिमालहरुको प्रवर्धन हुन नसक्दा राज्यले वार्षिक लाखौं राजस्व गुमाउनु परेको भन्दै यसमा सरकारले पहल गर्नुपर्ने उहाँले माग गर्नुभयो । निजी क्षेत्रसँग सहकार्य गरेर भए पनि आरोहण हुन नसकेका हिमालको प्रवर्धन गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । यता, नेपाल प्रर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले आरोहण हुन नसकेका हिमालहरुको प्रवर्धनका लागि सरकारसँग माग गरेको र सरकारले अनुमति दिए संघले व्यवस्थापन गर्ने समेत बताउनुभयो ।
यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डनय मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरी प्रवर्धनका नयाँ योजना ल्याउने तयारीमा रहेको बताउनुभयो । यस वर्ष नेपाल पर्यटन बोर्डबाट च्योयु हिमाल आरोहणको बाटो निर्माणका लागि बजेट विनियोजन भइसकेको र आउने दिनमा क्रमशः प्रवर्धनात्मक योजना अघि बढाउने जाने लक्ष्य राखेको उहाँले बताउनुभयो । चाे यु हिमाल अठ हजार,२०१ मिटर अग्लो भए पनि हालसम्म नेपालतर्फको बाटो हुँदै आरोहण हुन सकेको छैन ।
सरकारले हाल ४१४ वटा हिमाल आरोहणका लागि वर्षैंदेखि खुल्ला गरे पनि ७५ वटा हिमाल भने अझै आरोहण हुन सकेको छैन । सरकारले पाँच हजार ८ सय मिटरभन्दा कम उचाइका भएकाले सलामी राजस्व नलाग्ने निर्णय गरेसँगै आरोहण खुल्ला गरेमध्ये ११ वटा हिमाल पाँच हजार आठ सय मिटरभन्दा होचा छन् । त्यसैले सरकारले ४०३ वटा हिमालबाट मात्र राजस्व संकलन गर्ने गरेको छ ।
दार्चुला र बझाङ हिमाल क्षेत्रमा रहेका छहजार ७५५ मिटर अग्लो नाङ्पा हिमाल हुम्लामा रहेको छहजार ६०० मिटर अग्लो चण्डी पहिचान गरिए पनि अझैँसम्म आरोहण हुन सकेको छैन । सन् २०१९ मा आरोहण नभएका चार वटा हिमालको आरोहण भएको पर्यटन विभाग जनाएको छ । अघिल्लो वर्ष आरोहण खुल्ला गरिएका मध्ये दुई सय ८८ वटा हिमाल मात्र आरोहण भएको पर्यटन विभागको तथ्याङ्क छ ।