logo
२०८१ मंसिर १० सोमवार



ट्रेकिङ गाइडलाई विश्वभर मान्यता दिलाउने तयारी, थप तालिम दिइने

पर्यटन |


ट्रेकिङ गाइडलाई विश्वभर मान्यता दिलाउने तयारी, थप तालिम दिइने


छेटु शेर्पा
काठमाडौं, चैत २९ गते । सरकारले नेपाली ट्रेकिङ गाइडलाई विश्वभर मान्यता दिने गरी मापदण्ड बनाउने काम शुरु गरेको छ । ३५ दिन तालिम लिएर गाइड बनेकाहरुलाई ‘युनियन अफ इन्टरनेस्नल माउण्टेन लिडर एशोसिएशन’ (यूआईएमएलए)को पाठ्क्रमबाट थप ६ महिना तालिम लिएपश्चात विश्वभर मान्यता दिने गरी प्रमाणपत्र दिइने भएको हो ।

संस्कृति, पर्यटन तथानागरिक उडड्यन मन्त्रालय अन्तर्गत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले गाइडहरुलाई थप व्यवस्थापन गर्ने भएको छ । प्रतिष्ठानले हाल ट्रेकिङ गाइडका लागि ३५ दिनको तालिम दिँदै आएको छ । दुई वर्ष अघिदेखि तालिम उत्तीर्ण गरेकाहरुलाई पर्यटन विभागले ट्रेकिङ गाइड लाइसेन्स प्रदान गर्न शुरु गरेको हो । ३५ दिनको तालिमले मात्र गाइडको अनुभव नपुग्ने र विदेशीहरुको अपेक्षा अनुसारको उपलव्धि नहुने भएपछि थप ६ महिना तालिम दिएर गाइडलाई विश्वभर मान्यता दिने गरी उत्पादन गर्ने तयारी थालेको प्रतिष्ठानका प्रशासकीय प्रमुख उत्तमकुमार भटट्राईले बताउनुभयो ।

हाल ३५ दिन तालिम लिएर गाइड बनेकाहरुलाई तह १ र त्यसपछिको तालिमपश्चात बनेको गाइडको स्तर तह २ बनाउने समेत लक्ष्य राखेको उहाँले बताउनुभयो । यसमा‘युनियन अफ इन्टरनेस्नल माउण्टेन लिडर एसोसिएसन’ले तय गरेको पाठ्क्रम र थप नेपाल सरकारले तय गरेको पाठ्क्रम अध्ययन गर्न लगाइने उहाँले गोरखापत्रलाई बताउनुभयो ।
‘युनियन अफ इन्टरनेस्नल माउण्टेन लिडर एसोसिएसन’ (युआइएमएलए) को पाठ्यक्रम अनुसार तालिम दिएर विश्वव्यापी मान्यता पाउने गरी माउण्टेन लिडर बनाउन प्रतिष्ठानले कार्ययोजनाभित्र राखेर काम थालेको भटट्राईले जानकारी दिनुभयो । तह १ बाट ट्रेकिङ गाइड बनेकाले गुणस्तरीय काम र उपलब्धि कम हुने भएपछि गाइडको समेत गुणस्तरलाई बृद्धि गरेर विश्वभर मान्यता दिने बनाउन प्रतिष्ठान लागिपरेको जनाएको हो ।

पर्यटन ऐन २०३५ ले पथप्रर्दशक उल्लेख गरे पनि पर्यटन विभागले टुर, सिटी, ट्रेकिङ र पोर्टर गाइडको नामबाट चार वर्गमा इजाजत दिँदै आएको छ । विभागको तथ्याङ्कमा चार वटै गरी २४ हजार इजाजत प्राप्त गाइड छन् । ३५ दिनको तालिम औपचारिकता दिन सामान्य जानकारी मात्र दिने गरेकाले युनियन अफ इन्टरनेस्नल माउण्टेन लिडर एसोसिएसनले आफ्नो मापदण्डमा नपुगेको जनाएको छ । पदयात्राका क्रममा हिमाल गल्छी पास गर्ने, हिउँको अवस्थाबारे जानकारी, पदयात्राको व्यवस्थापन जस्ता पक्ष तालिम लिनु जरुरी हुने गाइडहरुको भनाइ छ । एसोसिएसनमा विश्वभरका २६ देश सदस्य छन् ।

हाल नेपाल माउन्टेन एकेडेमी र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले ट्रेकिङ गाइडलाई तालिम दिँदै आएको छ यो तालिममा उत्तीर्ण भएपछि मात्र पर्यटन विभागले ट्रेकिङ गाइड लाइसेन्स दिँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?