केदार तिमल्सिना
बनेपा, वैशाख ६ गते । सिरु घाँस पनि नउम्रिने सुख्खा डाँडामा हरियाली पार्क बनेपछि काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर–१० जोगिटारका स्थानीयबासी हर्षित बनेका छन् । पानी नभएको र सुख्खा जमिनमा वडा कार्यालयले जोगिटार हरित पार्क निर्माण गरेपछि स्थानीयबासी खुसी भएका हुन् ।
दुई लाख ५० हजार रुपियाँ बजेटबाट चौतारो निर्माणबाट सुरु गरेको स्थानमा हरियाली पार्क निर्माण भएको हो । ‘दुई लाख ५० हजार रुपियाँबाट चौतारो बनाउने कामबाट सुरु गरिएको स्थानमा विभिन्न सङ्घसंस्था र व्यक्तिहरुको सहयोगमा जोगिटार हरित पार्क निर्माण गरेका हौँ’, वडा अध्यक्ष विष्णुमणी नेपालले बताउनुभयो ।
उहाँले सवारी साधनमा हिँड्ने यात्रुहरुले फोहोर फाल्ने स्थानको रुपमा रहेको उक्त स्थानमा धुलिखेलमा रहेको शान्ति जन आदर्श नामक गैह्र सरकारी संस्थाको सहयोगमा सार्वजनिक शौचालय निर्माण गरिएको बताउनुभयो । ‘हामीले पितृहरुको सम्झनामा एक घर, एक देव कार्य र पितृ कार्यमा चाहिने पाँच विरुवा लगाउने अभियानसमेत सञ्चालन गरेर पार्क तथा आसपासको क्षेत्रमा हरियाली कायम राख्न सफल भयौँ’ उहाँले थप्नुभयो ।
वडा अध्यक्ष नेपालले डिभिजन वन कार्यालय काभ्रेसँग समन्वय गरेर पार्कको गुरु योजना निर्माण गरिएको बताउनुभयो । उहाँले पार्क निर्माणको वन कार्यालयले दश लाख, साडेड नेपालमार्फत् काठमाडौँ विश्वविद्यालयका प्राडा उद्धव प्याकुरेलले एक लाख, एनआईसी एसिया बैँकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत एक लाख, पाँच लाख रुपियाँ, चन्दा सङ्कलन गरिएको बताउनुभयो । उहाँले पार्क निर्माणको लागि हालसम्म १८ लाख २१ हजार रुपियाँ खर्च भएको बताउनुभयो । ‘हामीले पार्क निर्माण सुरु गर्दा यस्तो सुख्खा ठाउँमा पनि पार्क बन्छ र ? भन्ने धेरैको जिज्ञासा थियो, हामीले पार्क बनाउने अठोटलाई कायमै राखेर कामहरु अघि बढायौँ, गाउँमा नै आकर्षक पार्क तयार भयो’ वडा अध्यक्ष नेपालले थप्नुभयो । उहाँले गुरु योजनामा भएको सबै काम गर्नको लागि तीन भन्दा बढी रकम लाग्ने बताउनुभयो ।
‘सुख्खा डाडाँमा आकर्षक पार्क बनेपछि गाउँको आकर्षण नै अर्को भएको छ’ स्थानीय महेश्वर नेपालले भन्नुभयो–‘सुख्खा डाडाँमा के पार्क बन्छ होला र ? भन्ने धेरैको धारणा थियो, गत वर्षको कोरोनाको बन्दाबन्दीको समयमा युवा मिलेर हरेक गतिविधिमा सहभागी भएर सुन्दर पार्क बनाउन सफल भयौँ’ उहाँले थप्नुभयो । उहाँले सुख्खा डाँडामा हरियाली पार्क बनेपछि ग¥यो भने के काम गर्न सकिन्न र ? भन्ने कुराको प्रमाणित भएको बताउनुभयो । पार्कलाई आकर्षक बनाउन वन कार्यालय तथा विभिन्न सङ्घसंस्थाहरुबाट सहयोगमा विरुवा लगाइएको छ । वडा अध्यक्ष नेपालले गाउँलाई सुन्दर र आकषर््ाक बनाउन हिंगुवापाटी–दोलालघाट सडकको दाँयाबाँया आँप, कागती, लिच्चीको विरुवा समेत लगाइएको बताउनुभयो । उहाँले गत वर्षको बन्दाबन्दीको समयमा दैनिक ५० जना युवाले दुई महिनासम्म पार्क निर्माणमा सहभागिता जनाएको बताउनुभयो । उहाँले पार्कमा विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेर बालबालिका खेल्ने संरचना निर्माण गरेको बताउनुभयो ।
गाउँमा नै सुन्दर पार्क निर्माण भएपछि स्थानीय जेष्ठ नागरिकलाई समय कटाउने, आराम गर्ने, बालबालिकाहरुलाई विभिन्न खेलहरु खेल्ने र बालबालिकाको सिक्ने थलोको रुपमा विकास भएको वडा अध्यक्ष नेपालले बताउनुभयो । उहाँले पार्क निर्माण भएपछि काभ्रेका विभिन्न स्थान, सिन्धुपाल्चोक, रामेछापलगायतका स्थानहरुबाट मानिसहरु घुम्न आएको बताउनुभयो । उहाँले वडाले आगामी दिनमा पार्क नजिकै मिनी बन्जीजम्प, पिकनिक स्पट, इन्द्रावती नदीमा हल्देछापसम्म ¥याफ्टिङ, इन्द्रावती नदीमा प्राकृतिक स्विमिङ पुल र माछापालनको काम अघि बढाउने बताउनुभयो । पार्क १० रोपनी क्षेत्रफलमा फैलिएको छ । पार्कभित्र निःशुल्क वाइफाइ, पिउने पानी बालबालिकाहरुको लागि विभिन्न मनोरञ्जनात्मक खेलहरु, भ्यू टावरलगायतका सुविधाहरु रहेका छन् ।