logo
२०८१ बैशाख १५ शनिवार



सगरमाथा आरोहणलाई अहिलेसम्मकै धेरै अनुमति

आधा अर्ब उठ्यो रोयल्टी

पर्यटन |


सगरमाथा आरोहणलाई अहिलेसम्मकै धेरै अनुमति


विश्वास रेग्मी

काठमाडौँ, वैशाख १२ गते । कोरोना सङ्क्रमणको दोस्रो लहरको सन्त्रास फैलिरहँदा नेपालको पर्वतारोहणले भने नयाँ इतिहास रचेको छ । सङ्क्रमणकै अवस्थाबीच वसन्तयाममा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अनुमति लिनेको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हुन पुगेको छ ।
आरोहण अनुमति उपलब्ध गराउने पर्यटन विभागका अनुसार शुक्रबारसम्म ३९४ जनाले यस्तो अनुमति लिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि सन् २०१९ मा ३८२ जनाले सगरमाथा आरोहणका लागि अनुमति पाएका थिए ।
सगरमाथा शिखरमा लामबद्ध आरोहीको तस्बिरले त्यतिबेला विश्वभर नै चर्चा पाएको थियो । सन् २०२० को वसन्तयाममा भने कोरोना सङ्क्रमणको कारण देखाउँदै आरोहण अनुमति स्थगित गरिएको थियो ।
विभागका अनुसार यस वर्ष आरोहण अनुमति लिनेमध्ये ३०३ जना पुरुष, ९० जना महिला र एक जना अन्य समूहका व्यक्ति रहेका छन् । कुल ४२ वटा आरोहण दललाई विभागले अनुमति दिएको जनाएको छ ।
सगरमाथा आरोहणको अनुमति दिएबापत विभागले ४७ करोड ७७ लाख रुपियाँ रोयल्टी प्राप्त गरेको छ । यो पनि अहिलेसम्मकै सर्वाधिक हो । सगरमाथा आरोहणकै लागि यतिबेला आरोहीसहित गाइड, भान्सेसहित करिब ९५० जना सगरमाथा आधार शिविरमा उपस्थित छन् । चीनले आफ्नोतर्फबाट यस वर्ष सगरमाथा आरोहण अनुमति नदिएका कारण नेपालतर्फबाट आरोहण गर्र्नेको सङ्ख्या बढेको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ्छिरिङ शेर्पाले बताउनुभयो । “तिब्बतबाट यस वर्ष आरोहण नहुँदा त्यसको फाइदा नेपाललाई भएको हो,” उहाँले भन्नुभयो ।
नेपालतर्फबाट सगरमाथा आरोहण आरोहीका लागि विशेष आकर्षण हुने गर्छ । सगरमाथा आरोहणकै लागि आउने पर्वतारोहीले लामो समयको बिदा लिएर आउने भएकाले कोरोना सङ्क्रमणको अवस्थामा पनि आरोहण सम्भव भएको
उहाँको भनाइ छ । यसले भविष्यमा पनि सुरक्षा सतर्कता अपनाएर पर्वतारोहणलाई निरन्तरता दिनसक्ने वातावरण तयार भएको उहाँले बताउनुभयो ।
विभागले शुक्रबारसम्म सगरमाथासहित १६ वटा हिमाल आरोहणका लागि ६८९ जनालाई अनुमति प्रदान गरेको छ । सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालका लागि १०६ जनालाई अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।
त्यसपछि अन्नपूर्ण हिमालका लागि ४४ जना, धौलागिरि हिमालका लागि ३३ जना, आमादब्लम हिमालका लागि २७ जना, न्हुुप्त्से हिमालका लागि २३ जनालाई अनुमति प्रदान गरिएको विभागले जानकारी दिएको छ । यसबाहेक विभागले मनास्लु, तेङ्काङ्गपोछे, वरुण त्से, हिमलुङ, मकालु, मुस्ताङ, पुमोरी, सरिबुङ, तिलिचो र टुकुचे हिमालका लागि पनि अनुमति जारी गरेको छ ।

उपस्थिति अनिवार्य
यसैबीच विभागले आरोहण अनुमति प्रदान गरिएका विभिन्न हिमालमा खटाइएका सम्पर्क अधिकृतलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । एक सूचना जारी गर्दै विभागले पर्वतारोही दलसँग खटिएका सम्पर्क अधिकृत यथाशीघ्र सम्बन्धित क्षेत्रमा गई जिम्मेवारी निर्वाह गर्न निर्देशन गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?