चन्द्र पन्दाक
ताप्लेजुङ, भदौ १९ गते । ताप्लेजुङको पूर्वी सिदिङरवा गाउँपालिकास्थित तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर निर्माण गरिएको छ । तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सुविधाका लागि सिदिङरवा गाउँपालिकाले पर्यटक आवास घर निर्माण गरेको हो ।
पाँचथर र भारतको सिक्किमसँग सिमाना जोडिएको सिदिङरवा गाउँपालिका–१, कालीखोलामा रहेको तिम्बुङ पोखरी नेपालको एक सय पर्यटकीय गन्तव्यमा सूचीकृत क्षेत्र हो ।
पूर्वको गोसाइँकुण्डको नामले परिचित तिम्बुङ पोखरी चार हजार ४८० मिटरको उचाइमा रहेको छ । निकै नै सुन्दर तथा आकर्षक पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको आवास सुविधाका लागि सिदिङरवा गाउँपालिकाले ५५ लाख रुपियाँको लागतमा पर्यटक आवास घरनिर्माण गरेको हो ।
सिदिङरवा गाउँपालिकाका प्रवक्ता प्रकाश राईका अनुसार पर्यटन मन्त्रालयबाट विनियोजित ५० लाख रुपियाँ र गाउँपालिकाको पाँच लाखसमेत गरी कुल ५५ लाख रुपियाँ खर्च गरेर आवास घरसहितका संरचना निर्माण गरिएको छ । करिब तीन हजार ८०० मिटर उचाइ रहेको तिम्बुङ पोखरी क्षेत्रको नुनथला ठूलो भञ्ज्याङमा उक्त संरचना निर्माण गरिएको प्रवक्ता राईले जानकारी दिनुभयो । उहाँका अनुसार करिब ४५ जना अटाउन सक्ने क्षमताको पर्यटक आवास घर, भान्सा घर र शौचालय निर्माण गरिएको छ ।
हालसम्म तिम्बुङ पोखरीको भ्रमण गर्ने पर्यटकले आवासका रूपमा सो क्षेत्रमा रहेका चौँरी गोठहरूलाई सदुपयोग गर्ने गरेका थिए । कालीखोला र सादेवाको माथिल्लो बस्तीदेखि तिम्बुङ पोखरी पुगेर फर्कनलाई कम्तीमा तीन दिन लाग्ने हुँदा सो क्षेत्रमा रहेका सीमित चौँरी गोठमा सास्ती सहँदै बास बसेर पर्यटकले आफ्नो भ्रमण सकेर फर्कनुपर्ने अवस्था थियो । अब पर्यटक आवास घर बनेपछि भने बाह्य तथा आन्तरिक पर्यटकलाई सुविधा हुने सिदिङरवा गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङले बताउनुभयो ।
तिम्बुङ पोखरी क्षेत्रमा धार्मिक आस्थाका हिसाबले समेत हरेक वर्ष नागपञ्चमीको समयमा उल्लेख्य रूपमा आन्तरिक पर्यटक पोखरीको भ्रमण तथा दर्शन गर्न पुग्ने गरेका छनर । यो सँगै सुन्दर तथा मनमोहक दृश्य, जडीबुटी, चौँरीपालन, रेडपान्डालगायतको अध्ययन अवलोकन गर्न आन्तरिक र सीमित सङरख्यामा विदेशी पर्यटकले तिम्बुङ पोखरी क्षेत्रको भ्रमण गर्ने गरेको बताइएको छ ।