चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ८ गते । ताप्लेजङस्थित विश्वको तेस्रो आग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । कोभिड–१९ महामारीका कारण करिब दुई वर्ष सुनसान बनेको कञ्चनजङ्घा क्षेत्रमा अहिले भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।
पर्यटकीय मौसम शुरु भएसँगै बाह्य तथा आन्तरिक पर्यटकहरु कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा आउन थालेका हुन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार असोजको दोस्रो सातापछि कञ्चनजङ्घामा पर्यटक आउन थालेका हुन् । हाल दिनदिनै कञ्चनजङ्घा भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको शेर्पाले बताउनुभयो ।
गत शनिबार सेभेन समिट ट्रेक्स प्रालिमार्फत गएका एक ताइवानका नागरिकसहित पाँच जना आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्स प्रालिका प्रवन्धक थानेश्वर गुरागाईंका अनुसार चारजना नेपाली दोलखाका निमाग्याल्जेन शेर्पा, पासाङ्रिन्जे शेर्पा, सोलुखुम्बुका ग्लाल्जे शेर्पा र दाकिपा शेर्पा तथा ताइवानका सेङ को अथले अहिलेका शरद ऋतुमा कञ्चनजङ्घाको सफल आरोहण गर्नुभएको छ ।
यसरी कञ्चनजङ्घा आरोहणको योजनामा आउने पर्यटकहरु कोही सफल हुन्छन् भने कोही असफल हुने गरेका छन् । कोभिड महामारीका कारण अहिलेकै मौसमबाट कञ्चनजङ्घामा पर्यटकको आगमन शुरु भएको र कोही टोली आरोहण योजनामा गएका छन् भने कोही टोली आधारशिविर भ्रमण गरेर फर्कने योजनामा गएका बताइएको छ । परिषद् कार्यालय पर्यटन सहायक शेर्पाका अनुसार अघिल्लो साता १६ जनाको टोली कञ्चनजङ्घाको भ्रमणमा गएका छन् ।
त्यस्तै गएको साताको मङ्गलबार २८ जनाको टोली कञ्चनजङ्घा भ्रमणमा गएका छन् । शुक्रबार मात्र २५ जनाको टोली घुन्साबाट कञ्चनजङ्घा क्षेत्रतर्फ लागेका पनि उहाँले जानकारी दिनुभयो । बताउनुभयो । अमेरिका, फ्रान्स लगायत विभिन्न देशका विदेशीसहित नेपाली पर्यटकको टोली कञ्चनजङ्घा भ्रमणमा गएका छन् ।
गएको साता चार दिनसम्मको अविरल वर्षाले कञ्चनजङ्घा भ्रमणमा गएका पर्यटकलाई केही समस्या भए पनि मौसम खुलपछि पुनः भ्रमणलाई निरन्तरता दिएका बताइएको छ । कञ्चनजङ्घासहित सोही क्षेत्रमा रहेको फक्ताङ्लुङ (कुम्भकर्ण–७७१० मिटर) हिमाल आरोहणमा पनि दुईजना अमेरिकीसहित आरोही टोली गएको पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिनुभयो ।
यता पर्यटकको आगमन वृद्धि हुन थालेपछि कञ्चनजङ्घा पदमार्गअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा र फले क्षेत्रमा अहिले निक्कै चहलपहल बढेको छ । कञ्चनजङ्घा हिमाल प्रवेशद्वारको रुपमा रहेको घुन्सामा पर्यटकको उपस्थितिले चहलपहल बढेको स्थानीय पेर्मा शेर्पाले बताउनुभयो । पर्यटकको आगमन ठप्प भएपछि दुई वर्षसम्म सुनसान बनेको घुन्साका होटलहरुमा अहिले खचाखच हुन थालेका शेर्पाको भनाइ छ ।
यता ताप्लेजुङ र संखुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटकको टोली पनि ताप्लेजुङ हुँदै आउन थालेकाले ओलाङ्चुङगोलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । ओलाङ्चुङगोलाका स्थानीय होटल व्यवसायी याङ्माक नुपु शेर्पाका अनुसार मकालु भ्रमणमा आएका विदेशीसहितको टोली त्यसतर्फ लागेका छन् । यहाँको ओलाङ्चुङगोला हुँदै पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) को पूर्वी शुरुवात विन्दू भएकाले जिल्लामा पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो ।