logo
२०८१ मंसिर ८ शनिवार



हिउँदमा आरोहीको सङ्ख्यामा वृद्धि, ५१० जनाले २३ हिमाल आरोहण गर्ने

पर्यटन |


हिउँदमा आरोहीको सङ्ख्यामा वृद्धि, ५१० जनाले २३ हिमाल आरोहण गर्ने


काठमाडौं, कात्तिक ९ गते । कोरोना महामारीका बीचमा पनि हिउँद मौसममा पर्वतारोहीको विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पर्यटन विभागको तथ्याङकअनुसार ६४ आरोहणदलबाट २३ वटा हिमाल आरोहणका लागि ४१८ पुरुष र ९२ जना महिला गरी ५१० जना आरोहीले अनुमति लिएका छन् ।

यीमध्ये सबैभन्दा धेरै मनास्लु हिमालका लागि १९३ जनाले आरोहण अनुमति लिएको र त्यसपछि १०७ जनाले आमादब्लम हिमाल आरोहणका लागि अनुमति लिएका छन् । हिमलुङ हिमाल आरोहणका लागि ४९, धौलागिरी आरोहणका लागि ४० जना छन् । यस वर्ष चाङदी हिमाल, अमोतसाङ हिमालमा एक एक जना र थापापिक र तेङकाङपोजे हिमाल आरोहणका लागि दुई दुई जनाले आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले बताउनुभयो । आरोहण अनुमतिबाट मात्रै तीन करोड ५० लाख छ हजार १४७ रुपियाँ राजस्व सङ्कलन गरेको जिसीले जानकारी दिनुभयो ।

कोरोना महामारीकै बीच गत बैशाखमा हालसम्मकै सबैभन्दा धेरै ४३ वटा आरोहणदलबाट ४०८ जना आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । गत वर्षाको मौसममा ८५ वटा आरोहणदलबाट ७१६ जना आरोहीले १६ वटा हिमाल आरोहण गर्न अनुमति लिएका थिए । त्यसबाट ७१ करोड ४८ लाख ५३ हजार ५२९ रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

पर्यटन विभागका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण पदयात्रामा आउने पर्यटकको सङ्ख्या दुई वर्षदेखि शून्य भए पनि पर्वतारोहणमा आउने पर्यटकको सङ्ख्यामा भने कमी आएको छैन । सङ्क्रमणमा कमी आएसँगै पदयात्रामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको अध्यागमन विभागको तथ्याङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?