logo
२०८२ जेष्ठ २६ आईतवार



तिम्बुङ पोखरीमा बढ्न थाले पर्यटक

पर्यटन |


तिम्बुङ पोखरीमा बढ्न थाले पर्यटक
पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा पुगेका आन्तरिक पर्यटक । तस्बिर -चन्द्र पन्दाक



चन्द्र पन्दाक
ताप्लेजुङ, पुस १ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित पर्यटकीयस्थल तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । सिदिङ्वा गाउँपालिका–१ कालिखोलामा रहेको तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा जाने पर्यटकको सङ्ख्या यसवर्षदेखि बढ्दै गएको हो ।
ताप्लेजुङ र पाँचथरको सीमावर्ती क्षेत्र तथा छिमेकी देश भारतको सिक्किमसँग सीमा नजिक रहेको तिम्बुङ पोखरीमा विगतका वर्षको तुलनामा पर्यटकहरु बढ्दै गएका छन् । पछिल्लो समय प्रचारप्रसारको पहुँच वृद्धि हुनुको साथै पदमार्ग स्तरोन्नतिलगायतका पूर्वाधार निर्माण गर्न थालिएकाले तिम्बुङ पोखरी भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्दै गएका हुन् ।
समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइ रहेको तिम्बुङ पोखरीलाई धार्मिक दृष्टिकोणले समेत महत्वपूर्ण मानिन्छ । धार्मिक महत्व बोकेको तिम्बुङ पोखरीको दर्शन गर्ने तीर्थयात्री र यस क्षेत्रको अवलोकन भ्रमणमा जाने पर्यटकको सङ्ख्या क्रमशः वृद्धि हुँदै गएका हुन् । पूर्वको गोसाइँकुण्डले परिचित तिम्बुङ पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत गरिसकेको छ ।
दुई वर्षअघि तिम्बुङ पोखरीलाई पर्यटकीय गन्तव्यमा सूचीकृत गरिएसँगै यस क्षेत्रको विकासका लागि पदमार्ग पूर्वाधार निर्माण गर्नाले पर्यटकको आगमन बढ्न थालेको सादेवाका स्थानीय कैलाश राई बताउनुहुन्छ । सिदिङ्वा गाउँपालिकाका प्रवक्तासमेत रहनुभएका राईका अनुसार विगतको तुलनामा पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढ्दै गएका छन् ।
पछिल्लो समय स्थानीय तहसहित प्रदेश तथा सङ्घीय सरकारको पर्यटन लक्षित योजनामार्फत तिम्बुङ पोखरीको पदमार्ग स्तरोन्नति गरिँदै आएको छ । ठाउँठाउँमा विश्रामस्थल, तिम्बुङ पोखरी क्षेत्रमा पर्यटक घर (टुरिस्ट हाउस)जस्ता पूर्वाधार निर्माणले पर्यटन यात्रा सहज भएको र भ्रमणमा जाने पर्यटकको सङ्ख्या बढ्न थालेको सिदिङ्वा गाउँपालिकाका उपाध्यक्ष जीवनकुमार ताम्लिङको भनाइ छ । ताम्लिङका अनुसार सौन्दर्यीकरणलगायतको कार्यले पनि तिम्बुङ पोखरी क्षेत्रको भ्रमणका लागि पर्यटकलाई आकर्षित गराएको छ ।
तिम्बुङ पोखरीको भ्रमण गर्ने पर्यटकले हालसम्म आवासका रुपमा त्यहाँ रहेका चौंरी गोठहरुलाई सदुपयोग गर्ने गरेका थिए । त्यस्तै, अप्ठ्यारो पदमार्गका कारण कालिखोला र सादेवाको माथिल्लो बस्तीदेखि तिम्बुङ पोखरी पुगेर फर्कनलाई तीनदेखि चार दिनसम्म लाग्ने सो क्षेत्रमा पूर्वाधारहरु निर्माण गरिएकाले अहिले बाह्य तथा आन्तरिक पर्यटकलाई सहजसँगै सुविधा पनि भएको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले बताउनुभयो ।
गाउँपालिकाका प्रवक्ता राईका अनुसार पूर्वी नेपालका अधिकांश जिल्लाबाट पर्यटक तिम्बुङ पोखरी भ्रमण जाने गरेका छन् । उहाँले सङ्घीय राजधानी काठमाडौं, पश्चिम नेपालको पोखरा लगायतका ठाउँबाट यसवर्ष तिम्बुङ पोखरी क्षेत्रको भ्रमणमा पर्यटक आएका बताउनुभयो । त्यस्तै भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट उल्लेख्य रुपमा पर्यटक आएका उहाँले जानकारी दिनुभयो ।
निक्कै नै सुन्दर तथा आकर्षक पर्यटकीय गन्तव्य तिम्बुङ पोखरीमा धार्मिक आस्था राख्नेले हरेक वर्ष नाग पञ्चमीको समयमा दर्शन तथा भ्रमण गर्ने गरेका छन् । बाँकी सुन्दर तथा मनमोहक दृष्य, जडीबुटी, चौंरीपालन, भेडापालन, रेडपान्डा लगायतको अध्ययन अवलोकन गर्नलाई आन्तरिक र विदेशी पर्यटकले तिम्बुङ पोखरी क्षेत्रको भ्रमण गर्ने गरेको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?