बनेपा समाचारदाता
बनेपा, पुस ५ गते । दुई वर्षसम्म कोरोना भाइरस सङ्क्रमणका कारण थलिएका काभ्रेका होटल तथा रिसोर्टमा पर्यटकको चहलपहल सुरु भएको छ । पछिल्लो समय कोरोना सङ्क्रमणको दर कम भएको र कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या बढेसँगै कोरोना सङ्क्रमणको दर कम भएका कारण काभ्रेमा रहेका होटल तथा रिसोर्टमा आउने पर्यटकको सङ्ख्या बढेको हो ।
क्षेत्रीय होटल सङ्घ काभ्रेका अध्यक्ष प्रेमकण्ठ माकजू श्रेष्ठले कोरोनाका कारण अघिल्ला दुई वर्ष जिल्लामा रहेका होटल सुनसान बनेकामा कोरोना सङ्क्रमण कम भएसँगै जिल्लामा रहेका होटलमा पर्यटकको चहलपहल बढेको बताउनुभयो । धुलिखेल लज एन्ड रिसोर्टका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले होटलमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको बताउनुभयो । उहाँले अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसका लागि होटल बुकिङ भइरहेको भन्दै नयाँ वर्ष र क्रिसमसलाई लक्षित गर्दै धुलिखेल लज एन्ड रिसोर्टले विभिन्न प्याकेजका कार्यक्रम ल्याएको बताउनुभयो ।
धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेलले पछिल्लो समय अवस्था सहज भएका कारण होटलमा पर्यटक आउने क्रम बढेको बताउनुभयो । “दुई वर्ष कोभिडले गर्दा होटल पूरै बन्द गर्नुपर्ने बाध्यता थियो । पछिल्लो समय कोभिडको त्रास कम भएसँगै होटलमा आउने पर्यटकको सङ्ख्या बढेको छ,” उहाँले थप्नुभयो ।
प्याकुरेलले अन्य दिनको तुलनामा विशेष गरी शुक्रबार र बिदाको दिनमा होटलमा आउनेको सङ्ख्या बढी रहेको बताउँदै कोरोनाका कारण विदेशी पर्यटकको आगमन नभएको बताउनुभयो । यसैगरी धुलिखेलस्थित हिमालय दृश्य होटलका सञ्चालक श्याम महतले गत वर्ष कोभिडका कारण होटल सुनसान भएकामा यस वर्ष भने चहलपहल बढेको बताउनुभयो ।