चन्द्र पन्दाक
ताप्लेजुङ, पुस ६ गते । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँबामा रहेको फुङ्फुङ्गे झरनाको भ्रमण तथा अवलोकन गर्ने पर्यटक बढ्दै गएका छन् । सुन्दर झरनाको मनोरम दृश्य अवलोकन गर्न भ्रमणमा जाने आन्तरिक पर्यटक बढ्दै गएका हुन् ।
जिल्लाको एक प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको फुङ्फुङ्गे झरनाको भ्रमण गर्ने आन्तरिक पर्यटकको भीड बढ्दै गएको हो । सरकारले पर्यटकीय गन्तब्यमा सूचीकृत गरेसँगै फुङ्फुङ्गे झरनाको अवलोकन भ्रमण गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएका पाइएको छ । स्थानीयका अनुसार सुन्दर फुङ्फुङ्गे झरना नियाल्न तथा अवलोकन गर्नका लागि जिल्लाका विभिन्न क्षेत्रबाट बाक्लो सङ्ख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन् ।
पछिल्लो समय सदरमुकाम फुङ्लिङ लगायतका ठाउँबाट झरनाको अवलोकन गर्न पर्यटक पुग्न थालेका र पर्यटकको भीड नै लाग्ने गरेको स्थानीय विजयकुमार साँबाले जानकारी दिनुभयो । साँबाका अनुसार झरनाको भ्रमण गर्न दैनिक सयौंको सङ्ख्यामा पर्यटक पुग्न थालेका छन् । झरनाको अवलोकन गर्नलाई ताप्लेजुङबाहिर पाँचथर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा जिल्ला लगायतबाट समेत अन्तरिक पर्यटकहरु आउने गरेका उहाँले जानकारी दिनुभयो ।
सङ्घीय राजधानी काठमाडौं लगायत पश्चिम नेपालका जिल्लाहरुबाट समेत सीमित सङ्ख्यामा पर्यटक फुङ्फुङ्गे झरनाको अवलोकन गर्न पुग्ने गरेका स्थानीयले बताएका छन् । टाढाका पर्यटकमा ताप्लेजुङ भ्रमणमा आएका र जिल्लाभित्र हाइड्रोपावर लगायत विभिन्न आयोजनामा काम गर्नेहरु त्यहाँ पुग्ने गरेका बताइएको छ ।
पर्यटकीय गन्तव्य फुङ्फुङ्गे झरना आकर्षक मात्र नभई धार्मिक स्थलको रुपमा पनि महत्वपूर्ण स्थल भएकोले आन्तरिक पर्यटकको घुँइचो लाग्ने गरेको बताइएको छ । झरनाको फेदीमा किराँतेश्वर महादेवको मन्दिर रहेको र उक्त मन्दिरमा पूजापाठ गर्नेहरुका कारण पनि झरनामा पर्यटकको सङ्ख्या बाक्लिँदै गएको स्थानीय बताउँछन् ।
हालको सहज यातायात सुविधाले झरनाको अवलोकन तथा भ्रमणमा जाने पर्यटकको उपस्थिति बढ्दै गएको हो । सदरमुकाम फुङ्लिङदेखि एकदिन पूरै पैदल यात्रा गरेर पुग्न सकिने ठाउँमा अहिले यातायात सञ्चालनमा आएपछि करिव चार घण्टा गाडीमा यात्रा गरे झरना पुग्न सकिन्छ ।
हाल यातायात सुविधासँगै प्रचारप्रसारमा पनि बढावा हुन थालेपछि आन्तरिक पर्यटकको उपस्थिति बढ्दै गएको साँबाका वडाध्यक्ष भीमबहादुर लिम्बूले बताउनुभयो । सरकारद्वारा फुङ्फुङ्गे झरनालाई पर्यटकीय गन्तव्यमा सूचीकृत गरिएसँगै प्रचारप्रसार तथा पदमार्ग, विश्रामस्थल लगायतका पूर्वाधार निर्माणको कार्यसमेत शुरु भएको वडाध्यक्ष लिम्बूको भनाइ छ । पर्यटन प्रवर्द्धन गर्ने योजनासहित क्रियाकलाप गर्न थालिएकाले फुङ्फुङ्गेमा अब दिनदिनै पर्यटक बढ्दै जाने अपेक्षा राखिएको पनि उहाँले बताउनुभयो ।
फुङ्फुङ्गे झरनाको भ्रमणमा पुगेका आन्तरिक पर्यटक । तस्बिर ः चन्द्र पन्दाक ।