logo
२०८१ मंसिर ७ शुक्रवार



कन्याममा प्याराग्लाइडिङ

पर्यटन |


कन्याममा प्याराग्लाइडिङ


प्रेम अधिकारी

पशुपतिनगर (इलाम), पुस १० गते । इलामको कन्याममा प्याराग्लाइडिङ उडाउन सुरु गरिएको छ । स्वदेशी पर्यटकको रोजाइमा परेको कन्यामको शहीद पार्कबाट पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ उडाउन सुरु गरिएको हो ।

पोखराबाट दुई जना दक्ष पाइलट झिकाएर कन्याम भ्यु प्याराग्लाइडिङ कम्पनीले सेवा सुरु गरेको हो । बाह्रै महिना पर्यटकको भीड हुने कन्याममा कम्पनीले दैनिक दुई प्याराग्लाइडिङबाट सेवा दिन थालेको छ ।
कन्यामको शहीद पार्कबाट उडान गरी १७ मिनेटमा कन्यामको चिया बगान घुमाएर सिद्धिखोला बेँसीमा प्याराग्लाइडिङ अवतरण गराउने व्यवस्था गरिएको व्यवस्थापक ज्ञानबहादुर प्रधानले जानकारी दिनुभयो । व्यवस्थापक ज्ञानबहादुर प्रधानले भन्नुभयो, “कन्याम आउने पर्यटकका लागि हामीले नयाँ आयाम थप गरेका हौँ । ”

प्रधानका अनुसार कन्यामबाट दुईवटा प्याराग्लाइडिङले दैनिक तीन/तीन पटकका दरले छवटा उडान गरिरहेका छन् । पर्यटकको चाप हेरी प्याराग्लाइडिङको सङ्ख्या थप गर्ने उहाँले जानकारी दिनुभयो । प्याराग्लाइडिङ सञ्चालन गरिएको उडान गर्ने र अवतरण गर्ने स्थानको थप व्यवस्थापन गर्ने काम भइरहेको छ ।

पोखराबाट आउनुभएका पाइलट सुनिल थापा र महेन्द्रबहादुर भट्टराईले प्याराग्लाइडिङको उडान गर्दै आउनुभएको छ । पाइलट थापाले नयाँ ठाउँ भएकाले कन्यामबाट प्याराग्लाइडिङको उडान परीक्षणकै क्रममा रहेको बताउनुभयो । उहाँले कन्यामको मौसम दिनमा धेरै पटक बदली भइरहने र हावाको चाप परिवर्तन भइरहने भएकाले प्याराग्लाइडिङ सञ्चालनका लागि उपयुक्त स्थानको पहिचान गर्न अझ केही दिन लाग्ने जानकारी दिनुभयो । एक हजार ६७० मिटर उचाइमा रहेको कन्यामबाट उडान गरेको प्याराग्लाइडिङ दुई मिटरमाथिसम्म लैजाने गरिएको छ ।

व्यवस्थापन पक्षले एक पटक प्याराग्लाइडिङ गर्दा प्रतिएक जना पर्यटकबाट पाँच हजार ५०० रुपियाँ दिने दररेट निर्धारण गरेको छ । प्रधानले पर्यटकको सुरक्षालाई ध्यानमा राखी प्याराग्लाइडिङ गर्ने पर्यटकको समेत बीमाको व्यवस्था गरिएको जानकारी दिनुभयो । कम्पनीले पर्यटन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणबाट इजाजत लिएर उडान सुरु गरेको जनाएको छ ।

उक्त क्षेत्रका प्रदेश सांसद तथा पर्यटन क्षेत्रका जानकार काजीमान कागतेले प्रदेश १ सरकारले पर्यटकीय नगरी घोषणा गरेको सूर्योदय नगरपालिकाको कन्याममा प्याराग्लाइडिङ सञ्चालन भएपछि यहाँ आउने पर्यटकलाई थप आकर्षित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब कन्याम, अन्तुजस्ता पर्यटकीय स्थललाई सरकारले ‘नाइट टुरिजम’ क्षेत्रका रूपमा विकास गर्नुपर्छ । ” स्थानीय पर्यटन व्यवसायीले कन्यामबाट प्याराग्लाइडिङ सञ्चालन हुँदा यहाँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?