प्रेम अधिकारी
पशुपतिनगर(इलाम), पुष १० गते । इलाम सूर्योदय नगरपालिका–१० की युवन्तिका तामाङ सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । विभिन्न साहसिक खेल र बाइक राइडिङकी सौखिन २८ वर्षीया तामाङले वैशाख महिनामा सगरमाथा आरोहण गर्ने हुनुभएको हो ।
इलाइट हिमालय एक्सपीट ट्रेकमार्फत आरोहण अभ्यास गरिरहनुभएकी उहाँले केही समय अघि मात्र सगरमाथाको लोबुचे पिकसम्मको छ हजार ११९ मिटरको उचाइको आरोहण गरिसक्नु भएको छ । कृषि पेशामा आवद्ध प्रकाश तामाङ र मधु तामाङकी एक्ली छोरी युवन्तिका वाइक राइडिङमा हुनुहुन्छ ।
सगरमाथा आरोहण गर्दा ५० लाख खर्च हुने भएपछि उहाँ अहिले खर्च जुटाउने काममा लाग्नुभएको छ । स्थानीय सूर्योदय महिला संचको सक्रियतामा इलामका १० वटै स्थानीय तहसहित विभिन्न सामाजिक संघ संस्थामा सहयोग जुटाउने काम भैरहेको छ ।
इलामको सूर्योदय र इलाम नगरपालिकाले दुई/दुई लाख रुपियाँ सहयोग गर्ने भएका छन् । सूर्योदय नगरपालिकाले उहाको अवस्था हेरी थप सहयोग गर्ने नगर उपप्रमुख दुर्गादेबी भट्टराईले जानकारी दिनु भयो । तामाङ भन्नुहुन्छ ‘जिल्लाबाट पहिलो महिला आरोही बनेर सगरमाथाको शिखरमा पुगेर राष्ट्रिय झन्डा फहराउने अठोट लिएको छु ।’ उक्त कामका लागि अहिले सबैको सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो । ‘ सगरमाथा आरोहण गरेर यस क्षेत्रको पर्यटन प्रवर्धनमै काम गर्नेछु’ तामाङले भन्नुभयो ।
स्थानीय युवाले उहाँको लागि खर्च जुटाउने अभियान शुरु गरेका छन् । ५० लाखमा ३५ लाख अन्य क्षेत्रबाट उठाएर १५ लाख रुपियाँ आफैँ लगानी गर्ने योजना रहेको उहाको पारिवारिक स्रोतले जानकारी दिएको छ । सूर्योदय १० का युवा अभियान्ता युवराज प्रधानले जिल्लाबाटै पहिलो पटक सगरमाथा आरोहणको तयारी गरिरहनु भएकी तामाङलाई सबैले सहयोग गर्ने बताउनुभयो । उहा भन्नुहुन्छ ‘ तामाङले सगरमाथाको चुचुरो टेकेका दिन इलामको इज्जत बढ्ने छ ।’ तामाङ अबको केही दिनमै सगरमाथा चढ्नका लागि तीन महिने तालिममा जानु हुनेछ ।