गोकर्ण पौडेल
तुलसीपुर, पुस २२ गते । तुुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लीकोटमा साहसिक खेल जीपलाइन निर्माण गर्न थालिएको छ । नेपालका विभिन्न ठाउँमा जीपलाइन सञ्चालनमा ल्याएसंगै लुम्बिनी प्रदेशको दाङमा पहिलो पटक जीपलाइन सञ्चालनमा ल्याउन थालिएको निर्माण कम्पनीले जनाएको छ । छिल्लीकोट रिसोर्ट एण्ड थ्री स्टार कम्पनीले जीपलाइन बनाउन थालेको हो ।
कम्पनीका सञ्चालक शिव श्रेष्ठका अनुसार एक करोड दश लाखको लागतमा जीप लाइन बनाउन थालिएको हो । जीप लाइन निर्माण गर्नका लागि वन मन्त्रालयबाट पूर्व स्वीकृत ल्याउनुपर्ने भएकाले एक हप्ताभित्रै कानुनी प्रक्रिया पूरा भई निर्माणको काम शुरु गरिने उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९मा रहेको भूल्के सामुदायिक वनसँग जीप लाइन सञ्चालनका लागि दश वर्षे सम्झौता गरिएको छ ।
सम्झौताअनुसार कम्पनीले प्रति वर्ष प्रति हेक्टर ३५ सय कर तिनुपर्नेछ । निर्माण कम्पनीले भने जीप लाइन क्षेत्रमा दुई कठ्ठा जग्गामात्रै प्रयोग हुने बताएको छ । जीपलाइन कालिका मन्दिरबाट सुरु हुने र भूल्के सामुदायिक वनको चोरकाटे भेरी खोरमा ल्याण्डिङ हुने गरी निर्माण गर्न थालिएको छ । करिब १२ सय मिटरको दूरीमा रहनेछ । निर्माण कम्पनीले उक्त जीप लाइन नेपालकै सबैभन्दा लामो दूरीको दाबी गरेको छ ।
निर्माण शुरु गरेको तीन महिनाभित्रै सञ्चालनमा ल्याइने सञ्चालक श्रेष्ठले बताउनुभयो । चैते दशैमा त्यस क्षेत्रमा मेला लाग्ने भएकाले त्यो अघि नै जीपलाइन सञ्चालनमा ल्याइने बताइएको छ । जीपलाइनमा चढे बापत् स्थानीय मन्दिर व्यवस्थापन,विकासका लागि प्रति व्यक्ति एक सय छुट्याउने सम्झौता गरिएको छ । सञ्चालक शिव श्रेष्ठका अनुसार त्यहाँ कम्पनीले जीपलाइन निर्माणसंगै रिसोर्ट र मन्दिर क्षेत्रमा पार्क समेत निर्माणको लक्ष्य राखेको छ ।
स्थानीय परवीर पुनका अनुसार जीपलाइन निर्माण भएसँगै त्यहाँको पर्यटन आकर्षणमा थप टेवा पुग्ने बताउनुभयो ।उहाँले भन्नुभयो ‘छिल्लीकोटको ऐतिहासिक,धार्मिक,जैविक क्षेत्रको प्रसार प्रचारका साथै जीपलाइन सञ्चालनले पर्यकीय क्षेत्रकारुपमा विकास गर्नका लागि थप टेवा पु¥याउँनेछ’ । छिल्लीकोटमा पर्यटक आकर्षणका लागि लुम्बनी प्रदेश सरकारको सहयोगमा कालिका मालिका मन्दिरको जीर्णोद्वार,तुलसीपुर उपमहानगरपालिकाले भ्यू टावर निर्माण गरेको छ ।
त्यसैगरी, मल्लागिरी होमस्टे समेत सञ्चालनमा ल्याइएको छ । पर्यटकीय क्षेत्रसम्मका लागि बिजौरी ,हामिडे,स्यालापानी हुँदै छिल्लीकोट पुग्ने पर्यटकीय मार्ग कालोपत्रेको काम समेत अघि बढेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९का वडाध्यक्ष रामबहादुर योगीका अनुसार पटक पटक विवादित बन्दै आएको उक्त मार्ग कालोपत्रेको काम यस पटक भने शुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले पर्यटकीय मार्गकारुपमा प्रत्येक वर्ष उक्त सडक कालोपत्रेका लागि बजेट विनियोजन गर्दै आएको छ । यसवर्ष भित्रीस्यालापानीसम्म सडक कालोपत्रेको काम अघि बढेको बताइएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले स्यालापानीदेखि छिल्लीकोठ खानीगाउँसम्मका केबुलकार सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययनको काम समेत सम्पन्न गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार त्यस क्षेत्रमा वनजङ्गल पर्ने भएकाले वातावरणीय प्रभाव मूल्याङ्कनको काम र सञ्चालनका लागि नीजी क्षेत्रसंग समन्वय भइरहेको बताउनुभयो । हाल नेपालमा काठमाडौ, धरानको भेडेटार,पोखरामा सञ्चालनमा ल्याएको छ भने रुपन्देहीलगायतका क्षेत्रमा निर्माणको काम भइरहेको छ ।