विष्णुप्रसाद पोखरेल
दमक, फागुन १४ गते । झापाको दमकमा गुलाफको फुलको बगैचा निर्माण भएको छ । साढे ४ वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि एकवर्ष भित्रमा पूरा गर्ने भन्दै दमक नगरपालिका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी र तत्कालिन नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले शिलान्यास गरेको ‘दमक रोज गार्डेन’ करिब ५ वर्षपछि उद्घाटन शनिबार उद्घाटन भएको छ ।
पञ्चायत रजत स्मारकसहित नगरपालिकाको स्वामित्वमा रहेको करिब ८ कठ्ठा जमिनको संरक्षणसहित रोज गार्डेनको योजना ल्याइएको र ढिलै भए पनि यो पुरा भएको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनुभयो । इतिहासको रुपमा रहेको पञ्चायत स्मारकको पनि संरक्षण गर्दै त्यसको वरिपरि पोखरी सहित १६ प्रकारका गुलाफको फुलको बगैँचा बनेको हो ।
१ नम्बर प्रदेशका प्रदेश सभा सदस्य अर्जुन राईले दमक रोज गार्डेनको उद्घाटन गर्दै पूर्वमा नै यस प्रकारको गुलाफको फुलको बगैँचा कहीँ पनि नरहेको आफूले सुनेको भन्दै आन्तरिक तथा बाह्य पर्यटकको आधार बन्नसक्ने बताउनुभयो । नगरपालिकाको स्वामित्वमा रहने यस बगँैचाको संरक्षण र हेरचाह चुनौती रहेको भन्दै यसमा ध्यान दिन पनि उहँले आग्रह गर्नुभएको छ ।
नेपाल र भारतका विभिन्न ठाँउमा रहेका फूलका बगैँचाहरुमा गएर विश्वमा फुल्ने सबै प्रकारका गुलाफका फूलका बिरुवाहरु ल्याएर यहाँ लगाइएको रोज गार्डेन निर्माण तथा सहयोग समिति अध्यक्ष कृष्णराज थापाले बताउनुभयो । सबै प्रकारका गुलाफका फूलका बिरुवा पाउन निक्कै मुश्किल रहेछ तर हामीले अथक प्रयासमा फुलका विरुवाहरु ल्याएर लगाएका छाँै, उहाँले भन्नुभयो ।
१७ सयभन्दा बढी गुलाफका फुलका बिरुवाहरु यहाँ लगाइएको र अहिले फुल्न थालेको पनि बताइएको छ । वडा नं. ७ का वडाध्यक्ष भीम पौड्यालका अनुसार जीर्ण रहेको पञ्चायत स्मारको जिर्णोद्वार गरेर ईतिहासको संरक्षण सहितको यो रोज गार्डेनको योजना ढिला भए पनि पुरा भएको जनाउनुभयो । धेरैले सबै प्रकारको गुलाफको फुल नदेख्नु भएको हुनसक्छ अब यहाँ आउदा देख्न सकिन्छ, उहाँले भन्नुभयो ।
बगँैचा निर्माणमा दमक नगरपालिका, प्रदेश सरकार, उपभोक्ता समिति लगायतको १ करोड ११ लाख रुपियाँभन्दा बढी खर्च भइसकेको रोज गार्डेन निर्माण तथा सहयोग समितिका सचिव टीकाराम खरेलले बताउनुभयो ।