logo
२०८१ जेष्ठ ४ शुक्रवार



अन्नपूर्ण पदमार्गमा पर्यटक बढे

पर्यटन |


अन्नपूर्ण पदमार्गमा पर्यटक बढे


बेलिना थापा

लमजुङ, फागुन २९ गते । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक बढ्न थालेका छन् । यो पदमार्गमा गत वर्ष मार्च महिनामा १३७ पर्यटक भित्रिएकामा यस वर्ष मार्च महिनाको एक सातामै १३४ जना पर्यटक भित्रिएका छन् । गत सोमबार ३५ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङको धारापानी चेकपोस्टले जनाएको छ ।

चेकपोस्टका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङका अनुसार फागुन १७ गते आठ जना पर्यटक भित्रिएका थिए । फागुन १९ र २० गते २०/२० जना, फागुन २१ गते २५ जना पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा आएका थिए । जनवरीदेखि हालसम्म जर्मनीका ७० जना, फ्रान्सका ५६ जना, बेलायतको ४८ जना पर्यटकलगायत गरी ३४४ जना पर्यटक भित्रिएका गुरुङले बताउनुभयो । गत वर्षको जनवरीमा दुई जना विदेशी पर्यटक आएकामा यस वर्ष जनवरीमा मात्रै ४१ जना पर्यटक यो पदमार्गमा आए । यस वर्ष फेब्रुअरीमा १६९ जना पर्यटक भित्रिएका छन् जब कि गत वर्ष फेब्रुअरीमा २५ जना भित्रिएका थिए । गत वर्षको जनवरी र फेबु्रअरी ताका कोरोना महामारी बढिरहेको थियो ।

उहाँका अनुसार सन् २०२० को जनवरीमा भने २५५ जना पर्यटक भित्रिएका थिए । गत वर्षको जनवरी, फेब्रुअरी र मार्चको तुलनामा यस वर्षको सोही अवधिमा पर्यटक आगमन बढेको उहाँले बताउनुभयो । सन् २०२० मा सात महिना पर्यटक आगमन शून्य रहेको थियो । अन्य पाँच महिनामा मात्रै एक हजार ९७६ पर्यटक चक्रीय अन्नपूर्ण पदमार्गमा भित्रिएका थिए ।

सन् २०२१ मा दुुई हजार ३७३ पर्यटक पदमार्गमा भित्रिएका धारापानी चेकपोस्टले जनाएको छ । गत वर्ष अप्रिलमा ३६६, मे ४९, जुनमा एक, जुलाईमा एक, अगस्टमा तीन, सेप्टेम्बरमा ७६, अक्टुबरमा ८३८, नोभेम्बरमा ७२२, डिसेम्बरमा १५३ गरी दुई हजार ३७३ पर्यटक भित्रिएका थिए ।

मनाङ ङिस्याङ गाउँपालिका–१, पिसाङका छिरिङ गुरुङले सन् २०२० र २०२१ पर्यटन क्षेत्रको लागि सुखद नबनेको बताउनुभयो । अहिले कोरोना सङ्क्रमण जोखिम बढ्दै गएपछि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटक देखिन थालेको उहाँले बताउनुभयो ।

एक्याप मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार बिस्तारै पर्यटकीय सिजन सुरु भएको छ । कोरोना सङ्क्रमण जोखिम घट्दै गएपछि पर्यटक बढ्न थालेको उहाँले बताउनुभयो । चक्रीय अन्नपूर्ण पदमार्गमा मार्च, अप्रिल र मे साथै सेप्टेम्बर अक्टोबार र नोभेम्बर महिना पर्यटकका लागि सिजन मानिन्छ । यो महिनामा बढी पर्यटक आउने गर्छन् । चक्रीय अन्नपूर्ण पदमार्ग लमजुङको बेँसीसहरबाट सुरु भएर मनाङ हुँदै मुक्तिनाथ निस्किएर म्याग्दी हुँदै पोखरा पुगेर टुङ्गिन्छन् । पहिले पैदल यात्रा २१ दिन लाग्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?