logo
२०८१ बैशाख २२ शनिवार



लयमा फर्कंदै सौराहाको पर्यटन

पर्यटन |


लयमा फर्कंदै सौराहाको पर्यटन


वसन्त पराजुली

सौराहा, चैत ५ गते । कोरोना महामारीले लामो समयदेखि प्रभावित सौराहाको पर्यटन व्यवसाय लयमा फर्कन थालेको छ । पछिल्लो समय विदेशी पर्यटक मात्रै हैन, आन्तरिक पर्यटक पनि सौराहा आउन थालेका छन् ।
क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरे सौराहाको व्यवसाय सामान्यतर्फ उन्मुख हुँदै गएको बताउनुभयो । “सौराहाको औसत अकुपेन्सी ४० प्रतिशतको हाराहारी हो । अहिले हामी त्यो औसत नजिक छौँ,” उहाँले भन्नुभयो । सौराहाका ११० वटा पर्यटकीय होटलमा दुई हजार पाँच सय श-या छन् । यीमध्ये अहिले हरेक दिन ३५ देखि ४० प्रतिशतको अकुपेन्सी रहेको बताइएको छ ।

क्षेत्रीय होटल सङ्घ, सौराहाका महासचिव गुणराज थपलियाले कोरोनाको कहरले थला परेका व्यवसायीलाई केही राहत मिलेको बताउनुभयो । “आन्तरिक पर्यटकले पनि व्यवसाय टिकाउन सकिन्छ भन्ने कुरा अहिले देखिएको छ । पछिल्लो समय विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले गर्ने तालिम गोष्ठीजस्ता कार्यक्रमले पनि सौराहाको व्यवसायमा सुधार हँुदै गएको हो,” उहाँले थप्नुभयो ।
थपलियाले पछिल्लो समय सौराहामा विदेशी पर्यटक पनि बढ्न थालेको जानकारी दिनुभयो । अहिले भारत र युरोपेली पर्यटक आउन थालेका छन् । “यसरी नै विदेशी पर्यटक आउने क्रम सुधार हुँदै जाने हो भने सौराहाको पर्यटनले पुरानै अवस्थामा आउनेछ,” उहाँले भन्नुभयो ।

 छुट र प्याकेज
सौराहाका रेस्टुराँमा पनि पर्यटकको आवागमन बाक्लै हुन थालेको छ । विशेषतः काठमाडौँ, पोखरालगायतका क्षेत्रबाट घुम्नकै लागि सौराहा आउने पर्यटक पनि भेटिन्छन् । सौराहाले आन्तरिक पर्यटक तान्न विशेष छुट र प्याकेज दिने गरेको छ । विशेष छुट र प्याकेज, सरकारले आफ्ना कर्मचारीलाई घुम्नकै लागि दिने सेवा सुविधा र कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउने विदेशी पर्यटकलाई क्वारेन्टाइनमा बस्न नपर्ने जस्ता सुविधाले सौराहामा पर्यटकको सङ्ख्यामा अहिले सुधार आएको हो ।

“सौराहामा पर्यटक भित्र्याउन सुरु–सुरुमा २० प्रतिशतसम्म छुटको प्याकेज घोषणा भएको थियो, कतिपय होटलले त अहिले पैसा तिर्दै पछि सुविधा लिँदै गर्ने अभियान (पे नाउ, गो लेटर) पनि थालेर पर्यटक भर्ने काम गरेका छन्,” महासचिव थपलियाले भन्नुभयो । सौराहाका कतिपय होटलले विगतमा दिएका छुट तथा अन्य प्याकेज अहिले पनि निरन्तर राखेका छन् । जङ्गल सफारी लज सौराहाले ‘पे नाउ, गो लेटर’ प्याकेजलाई निरन्तरता दिएको छ ।

यो अभियानमा चार हजार पाँच सय रुपियाँमा तीन रात चार दिन सौराहा घुमाउने सो प्याकेजअन्तर्गत अग्रिम भुक्तानी गरेर पर्यटक आफ्नो अनुकूल समयमा सौराहा घुम्न आउन पाउने व्यवस्था लजले गरेको हो । विगतमा सञ्चालन गरेको यो अभियानले करिब तीन सय पर्यटक सौराहा भित्र्याउन सफल भएको लजका सञ्चालक सुमन घिमिरेले जानकारी दिनुभयो । सौराहाका कतिपय होटलले पर्यटकलाई आर्कषण गर्न सञ्चालन गरेको विशेष छुट अभियान अहिले पनि जारी नै राखेका छन् ।

 जङ्गल सफारी
२०२९ सालमा स्थापना भई विश्व सम्पदा सूचीमा परेको चितवन राष्ट्रिय निकुञ्जका बाघ, गैँडाजस्ता दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी आकर्षण हुन् । ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस निकुञ्जमा रहेका ६६० चराचुरुङ्गी, बीसहजारी तालजस्ता रामसार क्षेत्रमा सूचीकृत तालतलैयाले यसको आकर्षण अझै बढाएको छ । हात्ती चडेर वन्यजन्तु (बाघ, गैँडाजस्ता जनावर) हेर्न आउने चितवनको पर्यटकको विशेषता हो । विशेष त हात्ती सफारी, जिप सफारी, जङ्गल सफारी (पैदल यात्रा) डुङ्गा सफारी निकुञ्जका विशेष आर्कषण हुन् । यो निकुञ्जभित्र र निकुञ्ज बाहिरका मध्यवर्ती क्षेत्रमा नियमित हुने गर्छ । पर्यटकको गतिविधि बिस्तारै सुधार हँुदै जान थालेपछि जङ्गल सफारी रोकिएपछि पर्यटकीय नगरी सौराहामा मात्रै थन्किएका ४० वटा जिप, २५ वटा डुङ्गा र एक सयभन्दा बढी हात्तीले पनि काम पाउन थालेका छन् ।

 कर्मचारी काममा फर्कंदै
सौराहामा होटल सञ्चालनमा आउन थालेसँगै घर बिदामा रहेका/पठाइएका कर्मचारी पनि काममा फर्कन थालेका छन् । “होटल कुर्ने कर्मचारी मात्रै राखेका थियाँै । अहिले होटल चल्न थालेपछि कर्मचारी पनि बोलाउन थालियो । बिदामा गएकामध्ये आधाभन्दा बढी कर्मचारी त काममा पनि फर्किसकेका छन्,” सौराहाका एक होटल व्यवसायीले भन्नुभयो । सौराहाका होटल र रेस्टुराँमा कार्यरत झन्डै पाँच हजार कर्मचारीमध्ये कोरोना महामारीपछि अधिकांशले होटलबाट बिदा पाएका थिए । ती कर्मचारी पनि काममा फर्कन थालेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?