logo
२०८१ बैशाख १८ मंगलवार



पर्यटन प्रवद्र्धनमा ‘कन्जुस्याइँ’

पर्यटन |


पर्यटन प्रवद्र्धनमा ‘कन्जुस्याइँ’


ललित बसेल

सुर्खेत, चैत १८ गते । पर्यापर्यटनका लागि ‘भर्जिनल्यान्ड’ मानिने कर्णालीको पर्यटन प्रवद्र्धनमा सङ्घ र प्रदेश सरकारको बेवास्ता रहेको पाइएको छ । यहाँको पर्यटन क्षेत्रको व्यापक प्रचारप्रसार गरी पर्यटकको आगमन बढाउने काममा न सङ्घीय सरकार न प्रदेश सरकारले कुनै गतिविधि नै सञ्चालन गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार सुर्खेतमा प्रदेश तहमा पर्यटन विकास तथा प्रवद्र्धन एवं सङ्घसँगको सहकार्यसम्बन्धी कार्यक्रमको आयोजना गरी कर्णालीको पर्यटन प्रवद्र्धनमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) स्वयंले कर्णालीको पर्यटन प्रवद्र्धनमा सङ्घीय सरकारले चासो नदिएको आरोप लगाउनुभयो । उहाँले प्रदेश सरकारले पनि आवश्यकताअनुसार प्रचारप्रसारको काम गर्न नसकेको स्वीकार्दै सङ्घीय सरकारले पनि बेवास्ता गरेको टिप्पणी गर्नुभयो । कर्णालीमा अथाह पर्यटन रहेको भन्दै उहाँले यसको विशेष प्रवद्र्धनका लागि सङ्घीय सरकार बढी जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

कर्णालीमा हवाई यातायात भरपर्दो नभएको र सडकको अवस्था राम्रो नभएकाले पर्यटक आउन नसकेको उहाँको भनाइ छ । कर्णालीमा साहसिक र जलयात्राको निकै सम्भावना भए पनि यसको प्रचारप्रसार र प्रवद्र्धनका लागि कन्जुस्याइँ भइरहेको मन्त्री लामाले बताउनुभयो । एकातिर पर्यटकीय क्षेत्र भन्ने अर्कोतिर निषेधित क्षेत्र पनि घोषणा गर्ने भएकाले यसमा सङ्घीय सरकारले पहलकदमी चाल्नुपर्ने उहाँले जनाउनुभयो ।

कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण सचिव मोहनदेव जोशीले कर्णाली जस्तो छ त्यसैलाई प्रचारप्रसार गरेर आम्दानी गर्ने बताउनुभयो । उहाँले कर्णालीको पर्यटन प्रवद्र्धनका लागि पहुँच, प्रचार, प्रवद्र्धन, पूर्वाधार र पर्यावरणका माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले यहाँको पर्यटनको प्रचार गर्न प्रदेश सरकारले कर्णालीका गन्तव्य एप्सको विकास गर्न लागेकाले त्यसबाट सबैलाई जानकारी दिइने उल्लेख गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रकाश आचार्यले कोरोनाले नेपालको पर्यटन क्षेत्र धराशायी बनेको बताउँदै अब भने केही जुर्मुराउने तयारीमा रहेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार हुन नसक्दा, पूर्वाधारको विकास हुन नसक्दा, प्रविधिमैत्री बन्न नसक्दा पर्यटन प्रवद्र्धन हुन नसकेको उल्लेख गर्नुभयो ।

यस्तै पर्यटन विभागका निर्देशक मोहनबहादुर जीसीले कर्णाली प्रदेशमा पर्यटकीय गतिविधि न्यून रहेको बताउनुभयो भने मन्त्रालयका सहसचिव होमप्रसाद लुइटेलले कर्णालीको पर्यटन क्षेत्रको विकास लागि पूर्वाधार विकास अनिवार्य भएकाले यसमा सङ्घ, प्रदेश र स्थानीय सरकारले साझेदारी गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले कर्णालीको पहिचान नै पर्यटन भएकाले पूर्वाधार विकास, बजार प्रवद्र्धनको आवश्यकता रहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?