logo
२०८१ बैशाख २४ सोमवार



पर्यटनमा लगानी गर्न आग्रह

पर्यटन |


पर्यटनमा लगानी गर्न आग्रह


धनगढी समाचारदाता

धनगढी, चैत २६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । धनगढीमा सुरु भएको ‘फारवेस्ट ट्राभल मार्ट–२०२२’को शुक्रबार उद्घाटन गर्नुहुँदै उहाँले सुदूरपश्चिम प्रदेशमा पर्यटनको ठूलो सम्भावना रहेकाले यसको उपयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

सुदूरपश्चिम कला, संस्कृतिमा धनी रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “हामीसँग अपि, सैपालजस्ता हिमाल छन् । विभिन्न जातिको थुप्रै कला, संस्कृति छन्, यी सबै सम्भावनाको एक्सप्लोर गर्नुहोस् । ” बझाङको उरै नाकाबाट मानसरोवर ९० किलोमिटर र दिल्लीदेखि मानसरोवर ७५० किलोमिटरको दूरीमा रहेकाले यस क्षेत्रमा भारतीय पर्यटक आकर्षण गर्न सकिने उहाँले बताउनुभयो ।

मन्त्री आलेले सुदूरपश्चिमको पर्यटनलाई अगाडि बढाउन धनगढी विमानस्थल क्षेत्रीयस्तरको विमानस्थलमा स्तरोन्नति भइरहेको र यसका लागि यो आर्थिक वर्ष एक अर्ब रुपियाँ बजेट विनियोजन भएको जानकारी दिनुभयो । विमानस्थलका लागि आगामी वर्ष १० अर्ब रुपियाँ बजेट व्यवस्था गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । पर्यटकीय सम्भावनाको उजागर गर्न, यसको बजारीकरण गर्न र पर्यटन विकासमा टेवा पु-याउन धनगढीमा तीनदिने मेला सञ्चालन गरिएको हो ।

नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा नाट्टा सुदूरपश्चिमले मार्ट आयोजना गरेको हो । खासगरी भारतीय टुर अपरेटरलाई सुदूरपश्चिमको पर्यटकीय स्थलको अवलोकन गराउने, यहाँको सम्भावनाबारे विस्तृत रूपमा जानकारी दिने उद्देश्यले मार्ट आयोजना गरिएको हो । मार्टमा भारतको दिल्ली, नैनीताल, देहरादुन, खटिमालगायत ठाउँका पर्यटन व्यवसायी, टुर अपरेटर, गाइड, सञ्चारकर्मीलाई आमन्त्रण गरएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?