गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १० गते । मलेसियाको राजधानी क्वालालम्पुरबाट काठमाडौँको लागि नियमित उडान पुन सञ्चालन हुने भएको छ । काठमाडौँको लागि चार एयरलाइन्सका १३ उडानको मिति तय भएको छ । पहिलो दिन मलिन्डो एयरलाइन्सले क्वालालम्पुरबाट काठमाडौँको लागि सेप्टेम्बर २,१६, ३० तारिकमा उडान गर्ने भएको छ ।
हिमालय एयरलाइनसले सेप्टेम्बर ४,११,१८, र २५ तारिकमा उडान गर्ने तय भएको छ । नेपाल एयरलाइन्सले २३, ३०,२१, २८ तारिकमा उडान गर्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ । यसै गरी मलेसियन एयरलाइनसले सेप्टेम्बर ९ र २३ तारिकमा उडान गर्नेछ ।
हवाई जहाजको टिकट काटेर बसेका वा उक्त उडानमार्फत नेपाल फर्कन चाहने व्यक्तिले हवाई सेवा कम्पनी वा आफूले टिकट लिएको ट्राभल एजेन्सीमा सम्पर्क गरी आफनो टिकटको व्यवस्था गर्न दूतावासले अनुरोध गरेको छ । कोभिड १९ को पीसीआर नेगेटिभ रिपाेर्ट भएका व्यक्तिहरूले मात्र यात्रा गर्न पाउनेछन् । उक्त रिपोर्ट ७१ घण्टा (३ दिन ) भित्रको हुनुपर्नेछ ।
कोभिट १९ को पीसीआर परीक्षणबाहेक अन्य परीक्षण मान्य नहुने बताइएको छ । यात्रा गर्नुपूर्व ccmc.gov.np मा उपलब्ध अनलाइन फाराम भरेर उक्त फाराम प्रिन्ट गरेर साथमा राख्न दूतावासको अनुरोध छ ।