logo
२०८० चैत्र १६ शुक्रवार



वैशाखको दोस्रो साता मेलम्चीको पानी सुन्दरीजलमा

राष्ट्रिय |
मुख्य समाचार |


वैशाखको दोस्रो साता मेलम्चीको पानी सुन्दरीजलमा
तस्विर-फाइल


काठमाडौं, चैत ३० गते । काठमाडौं उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थल अम्बाथानमा रहेको १ नम्बर डाइभर्सन गेटबाट मेलम्चीको पानी पथान्तरण गरी ३८ नम्बरको गेट खोलेर सुन्दरीजलतर्फ पथान्तरण गर्नुभएको थियो ।

गत वर्ष पानी पथान्तरण गरिएको १२ दिनमा पानी आइपुगेको र यो वर्ष पनि दुई साताको हाराहारीमा आइपुग्ने अनुमान गरिएको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । सुरुङभित्र ग्यालथुम र सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर मात्रै पानी सुन्दरीजलमा झारिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एकएक दिन त्यहाँ सफा गरेर पनि दुई सातामा पानी सुन्दरीजल आइपुग्न सक्छ ।”

ग्यालथुम, सिन्धु र सुन्दरीजलमा सुरुङ सफा गरेर उतैको खोलामा झारिने र सुन्दरीजलमा सफा गरेर पानी बागमतीमा झारिने सूचना अधिकारी पन्तले बताउनुभयो । उहाँका अनुसार गत वर्षजस्तै नदीहरुमा पानी झार्दा पानीको बहाव केही बढ्नसक्छ । उहाँले भन्नुभयो, “हामीले सूचना प्रकाशित गरेर स्थानीयवासीलाई सर्तक बनाउनेछौँ ।” उहाँले सुरुङभित्र रहेका विभिन्न अडिटहरुबाट सुरुङको सफाइ बर्सेनि गर्नुपर्ने बताउनुभयो । गत वर्ष नै सञ्चालनमा आइसकेका सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा समस्या छैन ।

सरकारले गत वर्ष फानुनमा नै मेलम्चीको पानी काठमाडौंमा ल्याएर वितरण सुरु गरेको थियो । विसं २०७७ फागुन १० गते मेलम्चीबाट पानी पथान्तरण गरिएकामा फागुन २२ गते सुन्दरीजलमा पानी आइपुगेको थियो । सुरुमा दैनिक १७ करोड लिटरबाट सुरु गरेर दैनिक ५१ करोड लिटर पानी वितरण भइरहेको थियो । असार १ गते मेलम्चीमा आएको बाढीका कारण आयोजनामा पुगेको क्षतिका कारण झण्डै नौ महिनादेखि पानी काठमाडौं ल्याउन सकिएको थिएन ।

आयोजनाले पहुँच सडक निर्माण भएसँगै सुरुङमा गेट नं १, ९ र ३८ मा मर्मत गरेको थियो । वैकल्पिक प्रणालीमा नदीको पानी गेट नं १ बाट भित्र पठाइएको छ र ३८ ले नियन्त्रण गरेको छ । गेट नं ९ बाट पुनः खोलामा पठाइन्छ । गत महिनामा यी तीन गेटमा मर्मत र गेट नं १ देखि ९ सम्म २१० मिटर लम्बाइको सुरुङ सफाइ गरिएको थियो ।

मुख्य सुरुङसँग जोडिएको सहायक सुरुङका रुपमा रहेको अम्बाथान अडिटमा सफाइ गरिएको थियो । मेलम्ची नदीबाट सुरु भएको २९८ मिटर लामो सो अडिटबाट भित्र गएर मुख्य सुरुङमा जोडिन्छ । यो सुरुङमा बाढीका कारणले गिट्टी बालुवा र ढुङ्गा थुप्रिएकोमा यो सफा गरिएको हो ।

आयोजना निर्माणकै क्रममा कतिपय संरचनामा अहिले क्षति पुगेकाले अस्थायीरुपमा चलाउने योजना बनाइएको छ । गेट नं १ र ९ मा पहिले विद्युतीय प्रविधिबाट चल्ने उपकरण राखिएको थियो । पहिले गेट तल माथि गर्ने र बन्द तथा खोल्ने काम विद्युतीय प्रविधिमा हुने गरी संरचना बनाइएकामा अहिले अस्थायीरुपमा मानवले गर्नुपर्छ ।

आयोजना मर्मतअघि बढाइएसँगै स्थानीयवासीले खोला छेउमा रहेका बस्तीको सुरक्षामा पहिले ध्यान दिनुपर्ने माग गरेका छन् । बाढीका कारण गत वर्ष खोला छेउमा थुप्रिएको गेग्र्यान हटाउनुपर्छ भन्ने स्थानीयवासीले माग गरेका छन् । नदी नजिकै रहेका बस्तीका बासिन्दाले गेग्र्यानका कारण पुनः गत वर्षको नियति दोहोरिन सक्ने आशङ्का गरेका छन् ।

सडक र संरचना मर्मतको काम अहिले अस्थायीरुपमा मर्मत गरेपछि नै आयोजनाको सफाइको काम गरिएको हो । खानेपानी मन्त्रालय र एसियाली विकास बैंक (एडिबी) ले आयोजनामा पुगेको क्षति अध्ययन गरिरहेको छ । अरू कतिपय निकायले त्यहाँको वातावरण र भौगर्भिक अवस्थाका बारेमा अध्ययन गरिरहेको छ । पहिले अध्ययन प्रतिवेदन आएपछि नै स्थायी संरचना निर्माणमा जान सकिन्छ । यो आवको अत्यसम्ममा अध्ययन प्रतिवेदन आउनसक्ने उहाँको भनाइ थियो ।

दुई दशक पहिले सुरु भएको आयोजना निर्माण अन्तिम काम पुग्दा गत वर्ष असार १ मा आएको बाढीले क्षति पु¥याएको थियो । त्यसपछि वर्षाले आयोजनामा थप क्षति पुर्‍याएको थियो । आयोजनास्थलसम्म पुग्ने सडक नै भासिएकाले प्राविधिकसमेत आयोजनास्थल पुग्न सकेका थिएनन् । अस्थायीरुपमा सडक खुलाएपछि पुरिएको अवस्थामा रहेको संरचना खुलाएर पानी पथान्तरण गरिएको हो ।

आयोजनाअन्तर्गत समितिले आयोजनास्थलमा रहेका संरचना निर्माण र सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालयले सुन्दरीजलबाट उपभोक्ताको घरघरसम्म पानी पु¥याउने संरचनको निर्माण गरिसकेका छन् । मुख्य पाइप, वितरण पाइप र उपत्यकाका १० ठाउँमा ठूला ट्याङ्की निर्माण भएका छन् । निर्देशनालयले बनाएका संरचनाको प्रयोग गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले घरघरमा पानी पुर्‍याउने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?